शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
कृषि

३६ रुपैयाँको केरा उपभोक्तामाझ पुग्दा २००, कसले खान्छ बिचको नाफा ?

सोमबार, ०७ पुस २०८२, ०७ : ०२
सोमबार, ०७ पुस २०८२

सारांश

  • जाडोमा केराको माग घट्ने भए पनि यस वर्ष मूल्य बढेको छ, जसको कारण भारतीय केराको आयातमा कडाइ हो।
  • सरकारको आयात कडाइले किसानलाई राहत दिएको छ, तर उपभोक्ताले महँगो मूल्य तिर्नुपरेको छ, र बजार अनुगमनको अभाव छ।
  • नेपाल केरामा आत्मनिर्भर बन्ने सम्भावना देखिएको छ, तर बजार संयन्त्र र मूल्य नियन्त्रणमा सरकारको ध्यान आवश्यक छ।
00:00 / NaN:NaN
Audio By AI

 

काठमाडौँ । विगतका वर्षहरूमा जाडो मौसम सुरु भएपछि केराको माग घट्ने र मूल्य पनि सस्तो हुने गर्थ्यो । तर यस वर्ष भने त्यस्तो छैन । जाडो बढ्दै जाँदा बजारमा केराको मूल्य घट्नुको साटो अस्वाभाविक रूपमा वृद्धि भएको छ । 

सरकारले भारतीय केराको आयातमा गरेको कडाइका कारण स्वदेशी किसानहरूले उचित मूल्य पाउन थालेका छन्, जसका कारण उनीहरूले राहत पाएका छन्, तर बजार अनुगमनको अभावमा उपभोक्ताहरू बिचौलियाको मारमा पनि परेका छन् ।

अहिले उपभोक्ताले बजारमा केरा खरिद गर्दा चर्को मूल्य तिर्नु परिरहेको छ । काठमाडौँका विभिन्न फलफूल पसलहरूमा केराको मूल्य प्रतिदर्जन २०० देखि २७० रुपैयाँसम्म छ । 

कालीमाटी तरकारी बजार विकास समितिले सार्वजनिक गरेको थोक मूल्य तथ्याङ्क अनुसार २०८१ पुस ६ गते केराको मूल्य प्रतिदर्जन औसत १६० रुपैयाँ रहेकोमा २०८२ पुस ६ गते आइपुग्दा यो १९० रुपैयाँ पुगेको छ । 

यो एक वर्षको अवधिमा मात्रै केराको मूल्यमा १८.७५ प्रतिशतले वृद्धि भएको देखिन्छ । दुई वर्ष अघिको तुलनामा हेर्ने हो भने यो वृद्धि अझै डरलाग्दो छ । २०८० पुस ६ गतेको औसत मूल्यको तुलनामा अहिले ४०.७४ प्रतिशतले मूल्य बढेको छ । 

जाडो महिनामा केराको खपत कम हुने समयमा पनि यसरी मूल्य बढ्नुले बजारमा आपूर्तिको सन्तुलन र मूल्य निर्धारणमा समस्या रहेको सङ्केत गर्छ । 

चालु आर्थिक वर्ष २०८२/८३ को साउन १ गते केराको मूल्य प्रतिदर्जन औसत १३१.२५ रुपैयाँ थियो, अहिले भने १९० रुपैयाँ पुगेको छ । भदौको अन्तिमतिर र कात्तिकको सुरुका दिनहरूमा मूल्य घटेर १२० भन्दा तल (करिब ११५ सम्म) पुगेको देखिन्छ । सबैभन्दा धेरै असोज ४ गते बढेको देखिन्छ । त्यसदिन केराको मूल्य २४० रुपैयाँ दर्जन औसत मूल्य रहेको थियो । 

K

स्रोतः कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति 

  • ‘पानामा’ रोगको त्रासले आयात कडाइ

सरकारले भारतीय केरा आयातमा गरेको कडाइ मूल्य वृद्धिको एउटा कारण देखिएको छ । नेपाल प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी प्रकाश पौडेलका अनुसार केरामा लाग्ने घातक ‘पानामा टीआर–४’ भाइरसको जोखिम बढेपछि सरकारले आयातमा कडा कदम चालेको हो ।

२०८१ भदौ १२ गते भारतबाट नै केराका बोटबिरुवा आयातमा रोक लगाएको सरकारले २०८२ असोज २ गतेदेखि भारतीय केरा डन्डीसहित ल्याउन प्रतिबन्ध लगाएको छ । 

अहिले इन्डियाको जुनसुकै बगानबाट अन्धाधुन्ध केरा ल्याउन पाइँदैन । जुन बगानमा यो रोग छैन भन्ने आधिकारिक प्रमाण हुन्छ, त्यहाँबाट मात्र केरा ल्याउन पाउने नियम कडाइका साथ लागु गरिएको छ, यसले गर्दा बजारमा भारतीय केराको उपस्थिति न्यून भएको छ र स्वदेशी उत्पादनले ठाउँ पाएको छ ।

  • किसानका लागि मलहम तर उपभोक्तालाई भार

सरकारको पछिल्लो कदमले नेपाली किसानलाई ठुलो राहत दिएको नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्त बताउँछन् । 

यस वर्षको दसैँ र तिहारमा भारतीय केराको अनियन्त्रित आयातका कारण किसानको करोडौँ मूल्यको केरा बोटमै पाकेर नष्ट भएको थियो । पन्त भन्छन्, ‘त्यतिबेला किसानले एक कोसो केराको एक रुपैयाँ पनि पाउन सकेनन्, तर अहिले आयातमा कडाइ गरेपछि नेपाली केराले बजार पाउन थालेको छ ।’

विगतमा जाडो सिजनमा मूल्य नपाइने भए पनि यसपालि किसानले बोटमै प्रतिदर्जन ३६ रुपैयाँसम्म मूल्य पाइरहेका छन् । दसैँमा लगानी पनि उठाउन नसकेका किसानका लागि अहिलेको मूल्यले थोरै भए पनि मलमको काम गरेको पन्तको बुझाइ छ ।

किसानले उचित मूल्य पाउनु सकारात्मक भए पनि बजारको अवस्था भने निराशाजनक छ । किसानले बोटमा ३६ रुपैयाँ प्रतिदर्जन पाउने केरा उपभोक्ताको भान्छासम्म पुग्दा भने १७० देखि २०० रुपैयाँसम्म पुग्छ । 

अध्यक्ष पन्त अहिले केरा प्रतिकोसा ३ रुपैयाँ (३६ रुपैयाँ दर्जन) ले बिक्री गरिरहेको बताएका छन्, तर बजारमा महँगो हुनुको कारण नियमन र अभाव र बिचौलिया बढ्नु रहेको उनको तर्क छ । 

  • आत्मनिर्भर

नेपालमा हाल करिब १२ हजार ५ सय हेक्टर क्षेत्रफलमा केरा खेती भइरहेको छ, अर्थात् वार्षिक साढे ६ देखि ७ लाख मेट्रिक टनसम्म उत्पादन हुने गर्छ । सरकारले अहिलेको आयात नीतिलाई निरन्तरता दिने र किसानलाई प्रोत्साहन गर्ने हो भने आगामी २ देखि ३ वर्षभित्र नेपाल केरामा पूर्ण रूपमा आत्मनिर्भर हुन सक्ने सम्भावना देखिन्छ ।

हाल वार्षिक अर्बौँ रुपैयाँ केरा आयातका नाममा बाहिरिने गरेको छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदा त्यो पैसा नेपालमै रोकिने र रोजगारीका अवसर सिर्जना हुने निश्चित छ । यद्यपि, किसान र उपभोक्ता दुवैलाई न्याय हुने गरी बजार संयन्त्र र मूल्य नियन्त्रणमा सरकारले ध्यान दिनु जरुरी देखिएको छ ।

चालु वर्ष ०८२/८३ को चार महिनामा ७४ करोड ६९ लाख ५१ हजार रुपैयाँ बराबरको १८ हजार ९९३ टन केरा भारतबाट आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । 

यस्तै वार्षिक रूपमा २ अर्ब भन्दा बढी मूल्यको केरा आयात भएको विभागको तथ्याङ्कले देखाउँछ ।

आर्थिक वर्ष ०८१/८२ मा २ अर्ब ३० करोड २२ लाख १ हजार रुपैयाँको ५६ हजार ७६२ .३५ टन केरा भारतबाट आयात भएको थियो । आर्थिक वर्ष २ अर्ब ६५  करोड ८ लाख ३४ हजार रुपैयाँको ६३ हजार ७१४.२७ टन  केरा भारतबाट आयात भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप