चुनावको पक्षमा देउवा र प्रचण्डको स्पष्ट धारणा, ओलीले भने– 'सुरक्षाको ग्यारेन्टी चाहियो'
सारांश
- मन्त्री खरेलले तीन दलका शीर्ष नेताहरूसँग चुनावबारे छलफल गरे।
- कांग्रेस सभापति देउवाले चुनावका लागि पूर्ण तयारी रहेको बताएका छन्, र सुरक्षाको वातावरण बनाउन आग्रह गरे।
- नेकपा एमाले अध्यक्ष ओलीले चुनावमा भाग लिन सुरक्षाको प्रत्याभूति हुनुपर्ने सर्त राखे।
काठमाडौँ । सरकारको प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूसँग चुनावबारे छलफल गरेका छन्।
खरेलले शुक्रबार कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' सँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्। भेटपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री खरेलले तीनै दलका नेताहरू निर्वाचनको मूल मर्ममा एकमत रहेको प्रतिक्रिया दिए ।
खरेलले कांग्रेस सभापति देउवा निर्वाचनका लागि पूर्ण रूपमा तयार रहेको आफूले पाएको जिकिर गरे । देउवाले कांग्रेसको प्राथमिकता संसद पुनःस्थापना नभई निर्वाचन नै भएको स्पष्ट पारेको मन्त्री खरेलले जानकारी दिए। 'सभापतिज्यूले स्पष्ट रूपमा भन्नुभएको छ कि कांग्रेसको प्राथमिकता चुनाव हो,' खरेलले भने, 'उहाँले निर्वाचन समयमै सम्पन्न गर्न सरकारलाई आग्रह गर्दै सुरक्षाको वातावरण बनाउन पनि सुझाव दिनुभएको छ।'
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले पनि अहिलेको अवस्थामा निर्वाचनको विकल्प नभएको बताएको खरेलले बताए । प्रचण्डले जसरी पनि फागुन २१ मै निर्वाचन हुनुपर्नेमा जोड दिएको उनको भनाइ छ। उनले निर्वाचन सफल पार्न आफ्नो दलको तर्फबाट सरकारलाई पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेको मन्त्री खरेलले जानकारी दिए।
ओलीको सर्त : भयरहित वातावरण
भेटका क्रममा ओलीले एमाले जनमतको कदर गर्ने लोकतान्त्रिक पार्टी भएकाले चुनावबाट भाग्ने कुरा नआउने बताएका थिए । तर त्यसका लागि सुरक्षाको ग्यारेन्टी हुनुपर्ने ओलीको भनाइ रहेको खरेलले बताए। 'अध्यक्ष ओलीले निर्भयताका साथ भोट हाल्ने र दलहरूले भाग लिने वातावरण सरकारले बनाउनुपर्ने सर्त राख्नुभएको छ,' मन्त्री खरेलले भने, 'उहाँले अझै पनि सुरक्षाको प्रत्याभूति भइसकेको छ कि छैन भन्दै चासो व्यक्त गर्नुभयो।'
मन्त्री खरेलले सरकार सुरक्षाको वातावरण बनाउन र निर्धारित मितिमै निष्पक्ष चुनाव गराउन प्रतिबद्ध रहेको दोहोर्याए। उनले शीर्ष नेताहरूसँगको भेटले आफूलाई थप उत्साहित बनाएको बताउँदै फागुन २१ मा चुनाव हुने कुरामा ढुक्क रहन आग्रह गरे।
सरकारले निर्वाचन आयोग र सुरक्षा निकायसँग समन्वय गरेर तयारी तीव्र पारेको उनको भनाइ छ। खरेल चुनावकै वातावरण बनाउने पहलस्वरुप तीन दलका नेतालाई भेट्न शुक्रबार घरमै पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
-
काठमाडौँसहित देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
आठ हजार मेट्रिकटन मल बिक्री
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण