आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् विश्वकपका फ्लप-११ ?

आइतबार, ३१ असार २०७५, १५ : ३२
आइतबार, ३१ असार २०७५

विश्वकप समाप्त भएसँगै प्रतियोगितामा प्रतिस्पर्धा गर्ने उत्कृष्ट–११ खेलाडीको सूची सार्वजनिक हुनेछ । जसलाई फिफा–११ पनि भनिन्छ । फाइनलमा प्रतिस्पर्धा गर्ने दुई टोली क्रोएसिया र फ्रान्सका खेलाडीहरु पनि यसमा सहभागी हुने निश्चित छ । 

तर अहिले हामीले चर्चा गर्न लागेका छौँ, विश्वकपका ११ फ्लप खेलाडीको । यसलाइ फ्लप–११ भन्दा पनि हुन्छ । यो सुची फुटबल सम्बन्धी चर्चित म्यागेजिन फोरफोरटुले तयार पारेको हो । 

गोलकिर डेभिड डि गेया (स्पेन)


स्पेनका यी गोलकिपर प्रिमियर लिगका फ्यानहरुको रोजाईमा पर्छन् । तर विश्वकपमा उनको प्रदर्शन निकै खराब रह्यो । स्पेन र पोर्चुगलले ३–३ गोलको बराबरी खेलेको खेलमा रोनाल्डोले गरेको दोस्रो गोल उनकै गल्तीले सम्भव भएको थियो । 

अन्तिम १६ को खेलमा उनले रसियाबिरुद्ध टाइब्रेकरमा कुनै पनि गोल जोगाउन सकेनन् । 

राईटब्याक, जोसहुवा किमिच (जर्मनी) 


बायर्न म्युनिखबाट खेल्ने यी खेलाडीको चर्चा प्रतियोगिताअघि धेरै भयो । तर प्रतियोगितामा उनी निस्प्रभावी देखिए । पहिलो खेलमा जर्मनी मेक्सिकोसँग १–० ले पराजित हुँदा उनी गोलरक्षा गर्न नभएर गोल गर्न उद्दत देखिन्थें । स्वीडेन र दक्षिण कोरिया विरुद्ध उनले केही सुधारिएको खेल देखाएका थिए । तर, त्यसको अर्थ रहेन, दक्षिण कोरिया विरुद्ध २–० ले पराजित भएपछि जर्मनी पहिलो चरणबाटै घर फर्कियो । उनले न राम्रो आक्रमण गर्न सके,  न त डिफेन्स नै । 

सेन्टरब्याक जेरार्ड पिके (स्पेन) 


यी हाइप्रोफाइल डिफेन्डर पनि अर्थहीन रहे । स्पेन र पोर्चुगलले ३–३ गोलको बराबरी खेल्दा रोनाल्डोको उत्कृष्ट खेलको तारिफ धेरै भयो । जसका कारण पिकेको खराब प्रदर्शन छायाँमा पर्यो । इरानविरुद्ध उत्कष्ट राम्रो खेले । तर अन्तिम खेलमा मोरक्को विरुद्ध झन्डै रातो कार्ड खाएनन् । अन्तिम–१६ मा उनले ह्यान्डबल गरेपछि रुसले पेनाल्टी पायो । टाइब्रेकरमा रुस विजयी भएपछि स्पेन घर फर्कियो । 

सेन्टरब्याक जेरोम बोयटाङ (जर्मनी)


मेक्सिको विरुद्धको हारपछि बोयटाङको धेरै आलोचना भयो । साथसाथै उनका डिफेन्स पार्टनर म्याट्स हमल्स पनि । यस प्रतियोगितामा जर्मनी कमजोर हुनुको कारण स्टार डिफेन्डरहरु चल्न नसक्नु नै हो । 

लेफ्टब्याक राफायल गुरेइरो (पोर्चुगल) 


दुई वर्षअघि पोर्चुगलले युरोकप जित्दा यी खेलाडी निकै छाएका थिए । आफ्नो रक्षापंक्तीकै बलमा पोर्चुगलले त्यतिबेला उपाधि जितेको थियो । यसपटक अन्तिम १६ मा उनी चुके र पोर्चुगल बाहिरियो । उक्त खेलमा उनको पोस्ट नजिक आएका बेला सुआरेजको क्रसलाई सदुपयोग गर्दै काभानीले उत्कृष्ट गोल गरे । 

मिडफिल्ड सामी खाडिरा (जर्मनी) 


सन् २०१० को विश्वकपबाटै जर्मन टोलीमा स्थापित भएका यी मिडफिल्डर यसपटक निकै कमजोर देखिए । मेक्सिको विरुद्ध निस्प्रभावी देखिएका यी खेलाडीलाई प्रशिक्षकले स्विडेन विरुद्ध देखाएनन् । उनले अन्तिम खेलमा दक्षिण कोरिया विरुद्ध मौका पाए । तर प्रमाणित गर्न सकेनन् । लाग्छ, ३१ वर्षका यी खेलाडीको अन्तर्राष्ट्रिय करियर क्रमश छोटिनेछ । एकपछि अर्को चोट व्यहोरेका कारण पनि उनको फर्म खस्किएको हुनसक्ने अनुमान गरिएको छ । 

मिडफिल्ड जाभियर मास्चेरानो (अर्जेन्टिना) 


यो मास्चिरानोका लागि विश्वकपमा अन्तिम अवसर थियो र उनी चुके । ३४ वर्षका मास्चेरानो अहिले चीनबाट खेल्छन् । आशा के गरिएको थियो भने गत संस्करणको विश्वकपजस्तै उनी यसपटक पनि छाउनेछन् । अपेक्षा पूरा भएन । क्रोयशियाको उत्कृष्ट प्रदर्शनका अघि उनी फिक्का देखिए र अर्जेन्टिना ३–० ले पराजित भयो । नाइजेरिया विरुद्धको खेलमा रगत आएपनि उनले मैदानमै भिड्न चाहे । तर, बल पाउँदा र नपाउँदा पनि राम्रो खेल्न सकेनन् ।  चारवटा विश्वकप खेलेका मास्चिरानो कुनै उपाधि जित्न नसकी अन्तर्राष्ट्रिय करियर टुंग्याउन बाध्य बने । 

मिडफिल्ड पोइर्ट जिलिन्स्की (पोल्यान्ड) 


पोल्यान्डका लागि यो विश्वकप बिर्सनलायक रह्यो । सुरुका दुई खेल गुमाएपछि अन्तिम खेलअघि नै पोल्यान्ड प्रतियोगिताबाट बाहिरिएको थियो । यद्यपी, अन्तिम खेल भने जित्यो । जिलिन्स्कीको प्रदर्शन सोचेजस्तो भएन । इटालियन क्लब नेपोलीबाट खेल्ने यी प्लेमेकरलाई प्रशिक्षकले धेरै भरोसा गरेका थिए । 

फरवार्ड थोमस मुलर (जर्मनी) 


सन २०१० र सन् २०१४ को विश्वकपमा गरेर कुल १० गोल गरेका थोमस मुलरले यसपटक कुनै गोल गर्न सकेनन् । जर्मनी पहिलो चरणबाटै बाहिरियो । मेक्सिको र स्विडेन विरुद्धको खेलमा उनले गोलका लागि अवसर सिर्जना गरे, न गोल गनै गरे । त्यसैले दक्षिण कोरिया विरुद्धको खेलमा उनलाई सुरुमा मौका दिइएन । अन्त्यमा मैदान प्रवेश गरेपनि केही गर्न सकेनन् । सन् २०१० का गोल्डेन बुट विजेता खेलाडीका विषयमा योभन्दा बढी के भन्नुपर्ला र ?

फरवार्ड रोबर्ट लेवान्डोवोस्की (पोल्यान्ड)


बार्यन म्युनिखका यी स्टार स्ट्राइकर पनि निस्प्रभावी देखिए । उनले कुनै गोल गर्न सकेनन् । समुह चरणका खेलमा २ सय ७० मिनेटसम्म मैदानमा बिताएपनि विपक्षी विरुद्ध कहिल्यै डरलाग्दो आक्रमण गरेनन् । उनले केवल ३ पटक पोस्ट चार्ज गर्न पाए । त्यो पनि निकै फितलो थियो । 

फरवार्ड उस्माने डेम्बेले 


फ्रान्सले प्रतियोगिताको फाइनल खेल्दैछ । तर अहिलेसम्म डेम्बेले निस्प्रभावी देखिएका छन् । उनीभन्दा १८ महिनाले कान्छा कालियन एमबाप्पे प्रतियोगितामा मज्जाले छाएका छन् । एमबाप्पेले ३ गोल गरिसके । तर, डेम्बेले चल्न सकेनन् । अस्टे«लिया विरुद्धको खेलमा एमबाप्पे, एन्टोनियो ग्रिजम्यान र डेम्बेलेको जोडी अग्रपंक्तीमा जम्न सकेन । त्यसैले बार्सीलोनाका यी फरवार्डलाई पेरु विरुद्धको खेलमा बेन्चमै राखियो । डेनमार्कविरुद्ध उनले आफ्नो प्रतिभा देखाउन अवसर पाएका थए । तर सदुपयोग गर्न सकेनन् । गत सिजन ह्यामस्ट्रिङको चोटले सताएका कारण बार्सिलोनाको बेन्चमै बसेका डेम्बेले सायद त्यसैको असर स्वरुप निप्रभावी भएका हुनसक्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप