शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

मुलुक निर्वाचनतर्फ अघि बढ्यो : सञ्चारमन्त्री खरेल

आइतबार, १३ पुस २०८२, १३ : १३
आइतबार, १३ पुस २०८२

सारांश

  • मन्त्री जगदीश खरेलले मुलुक निर्वाचनतर्फ अघि बढेको बताएका छन्।
  • उनले राजनीतिक दलहरू निर्वाचनको तयारीमा जुटेको र समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउँदै गरेको जानकारी दिए।
  • मन्त्री खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत मुलुक विकास र समृद्धिको गन्तव्यमा अघि बढ्ने बताए।

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मुलुक निर्वाचनतर्फ अघि बढेको बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाे आयोजना र नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको समन्वयमा आइतबार कास्कीको पोखरामा आयोजित ‘आमसञ्चारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा’ सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमको उद्घाटन गर्दै उनले शनिबार प्रधानमन्त्रीसँग भएको प्रमुख तीन दलका शीर्ष नेताहरूबिचको छलफलमा निर्वाचनमा जाने सहमति भएको बताए ।

‘पछिल्लो हप्ता सरकारले राजनीतिक दल,जेनजी प्रतिनिधि र सरोकार भएका पक्षहरूसँग सघन छलफल गरेको छ, मुख्य राजनीतिक दलका कार्यालय र शीर्ष नेताका निवासमै पुगेर सरकारले वार्ता गरेको छ’,मन्त्री खरेलले भने-‘सबै राजनीतिक दलहरू निर्वाचनको तयारीमा होमिएका छन्, समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउँदैछन्, मुलुक निर्वाचनमा अगाडि बढिसकेको छ ।’ 

उनले नयाँ दलहरूबिच भएको एकता र सहकार्यले पनि निर्वाचनको माहौल सिर्जना गरेको बताए । मन्त्री खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत मुलुक विकास र समृद्धिको गन्तव्यमा अघि बढ्ने बताए । ‘नयाँ पुस्ताले उठाएको माग बमोजिम निर्वाचनपछि बन्ने सरकारले मुलुकलाई अगाडि बढाउनेछ, जेनजी आन्दोलनको मर्म र भावना अनुसार सुशासन कायम हुनेछ, भ्रष्टाचार अन्त्य हुनेछ ।’ 

मन्त्री खरेलले निर्वाचनमा भाग लिन सबै राजनीतिक दलहरूलाई आग्रह गरे । ‘राजनीतिक दललगायत सबै सरोकार भएका पक्षहरूलाई निर्वाचनको वातावरण निर्माणमा योगदान गर्न आग्रह गर्न चाहन्छु’, उनले भने । फरक प्रसङ्गमा मन्त्री खरेलले नेपाली मिडियाको डिजिटल रूपान्तरण आवश्यक रहेको बताए ।

मन्त्री खरेलले मिडियाको विषयवस्तु बलियो हुनुपर्ने, प्रस्तुतिमा सिर्जनात्मक, प्रविधिमैत्रीका साथै समाचारको सहज पहुँच हुनुपर्ने आवश्यकतामा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप