शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

सेनेगलको सानदार जित: इराकमाथि ५–० को गोल वर्षा, अघिल्लो चरणको सम्भावना जीवित

शनिबार, १३ असार २०८३, ०३ : ०२
शनिबार, १३ असार २०८३

सारांश

  • सेनेगलले फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'आई' को अन्तिम खेलमा इराकलाई ५-० गोलले पराजित गरेको छ ।
  • खेलको सुरुमै अग्रता लिएको सेनेगलले इराकका खेलाडी रातो कार्ड खाँदै बाहिरिएपछि थप गोल गरेको थियो ।
  • यो जितसँगै सेनेगल उत्कृष्ट तेस्रो टोली बन्दै अघिल्लो चरणमा पुग्ने सम्भावना जीवित राखेको छ ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को आफ्नो अन्तिम खेलमा सेनेगलले इराकमाथि ५–० को फराकिलो जित दर्ता गरेको छ । शनिबार सम्पन्न एकपक्षीय खेलमा जित निकाल्दै सेनेगलले समूह चरणको सुखद अन्त्य गरेको छ ।

खेलको चौथो मिनेटमै हबिब डियाराको गोलबाट सेनेगलले सुरुवाती अग्रता लिएको थियो । खेलको १३औँ मिनेटमा इराकका डिफेन्डर रेबिन सुलाकाले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि इराक १० खेलाडीमा सीमित भएको थियो । यसको फाइदा उठाउँदै सेनेगलले दोस्रो हाफमा गोलको वर्षा गर्‍यो । सेनेगलका लागि ५६औँ मिनेटमा इस्माइला सार, ५९औँ र ७१औँ मिनेटमा पापे गुए तथा ८२ औँ मिनेटमा इलमान न्डियाइले गोल गर्दै टोलीलाई ५–० को सानदार जित दिलाए ।

यो जितपछि ३ खेलबाट ३ अंक जोडेको सेनेगल समूह ‘आई’ को तेस्रो स्थानमा रहेको छ । समूहका शीर्ष दुई टोली फ्रान्स (९ अंक) र नर्वे (६ अंक) सिधै नकआउट चरणमा प्रवेश गरिसकेका छन् । सेनेगलको हकमा भने अब अन्य समूहका तेस्रो स्थानमा रहने टोलीहरूको नतिजा कुर्नुपर्नेछ । यदि सेनेगल ‘उत्कृष्ट तेस्रो’ टोलीभित्र पर्न सफल भएमा अघिल्लो चरण (राउन्ड अफ ३२) मा पुग्ने सम्भावना अझै जीवित छ । उता इराक भने तीनै खेलमा हार बेहोर्दै अंकविहीन रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।

यसै समूहको अर्को खेलमा नर्वेलाई ४–१ ले पराजित गर्दै फ्रान्स शतप्रतिशत जितका साथ समूह विजेता बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप