शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एमाले छाडेका गोकर्ण भन्छन् – सुदूरपश्चिममा रास्वपालाई पहिलो बनाउँछु

आइतबार, १३ पुस २०८२, २० : २८
आइतबार, १३ पुस २०८२

सारांश

  • एमाले उपमहासचिव लेखराज भट्टका भाइ गोकर्ण भट्ट राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।
  • भट्टले रास्वपामा प्रवेश गरेपछि सुदूरपश्चिममा पार्टी विस्तार गर्ने र आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने लक्ष्य राखेका छन्।
  • भट्टले पार्टी प्रवेश गर्दा कुनै पद वा टिकटको लोभ नगरेको र पार्टीको आन्तरिक विधि अनुसार उम्मेदवार बन्ने बताएका छन्।

धनगढी । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टका सहोदर भाइ गोकर्ण भट्ट आफ्नो ४६ वर्षे लामो राजनीतिक यात्रामा छन् । हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा उनी प्रवेश गरे ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्यबाट गत कात्तिक १४ गते राजीनामा दिएका भट्टले पुस ६ गते औपचारिक रूपमा रास्वपाको 'घन्टी' बोकेका हुन् । रास्वपा प्रवेशसँगै सुदूरपश्चिमको राजनीतिमा नयाँ तरंग ल्याएका भट्टले तत्काल पद वा टिकटको लोभमा पार्टी परिवर्तन नगरेको स्पष्ट पारेका छन् । उनले सुदूरपश्चिममा रास्वपाको संगठन विस्तार गर्दै आगामी निर्वाचनमा प्रदेशकै पहिलो पार्टी बनाउने उद्घोष गरेका छन् । 

रास्वपा प्रवेशलगत्तै कैलाली क्षेत्र नं ४ को आगामी चुनावमा उम्मेदवार बन्ने चर्चा चले पनि भट्टले यसलाई पार्टीको आन्तरिक विधिमा छोडिदिएका छन् । ‘मैले चुनाव लड्ने भनेर पार्टी प्रवेश गरेको होइन र कुनै सर्त पनि राखेको छैन,’ भट्टले भने, ‘रास्वपाभित्र उम्मेदवार बन्न आन्तरिक मतदान (प्राइमरी) हुन्छ । जसले बढी मत ल्याउँछ, उही उम्मेदवार बन्छ । मैले टिकटका लागि बार्गेनिङ गरेको छैन, तर मेरो क्षमता र योग्यता पार्टीले बुझ्नेछ,’ उनले रातोपाटीलाई भने । 

आफू ४६ वर्षदेखि कम्युनिस्ट आन्दोलन र राजनीतिमा सक्रिय रहेको बताउँदै उनले सांसद बन्ने क्षमता आफूसँग रहेको तर अहिले नै व्यक्तिगत आकांक्षा भने नराखेको खुलाए । एमालेका नेता तथा आफ्नै दाइ लेखराज भट्टसँग चुनावी प्रतिस्पर्धा हुने चर्चाबारे गोकर्णले यसलाई 'स्वाभाविक हल्ला'को संज्ञा दिए । 

‘मैले एमाले छोडेपछि मान्छेहरूले यस्तो अनुमान लगाउनु स्वाभाविक हो,’ उनले भने, ‘मेरो राजनीतिक पृष्ठभूमि आफ्नै छ । म कसैको भाइ भएकै कारण मात्र चिनिएको होइन । यदि पार्टीले जिम्मेवारी दियो र परिस्थिति बन्यो भने म पछि हट्दिनँ, तर कसैलाई हराउनकै लागि मात्र म उम्मेदवार बन्ने होइन,’ उनले भने । 

लामो समय पुराना राजनीतिक दलमा बिताएका भट्टले पुराना दलहरूप्रति जनताको चरम निराशा देखेर नै रास्वपा रोजेको बताएका छन् । ‘एमाले परित्याग गर्दा म स्वतन्त्र नागरिक भएर बस्छु भन्ने सोचेको थिएँ,’ उनले भने, ‘तर समाजका समस्याहरू र जनताको निराशा देख्दा एउटा स्वतन्त्र व्यक्तिले मात्र केही गर्न नसक्ने महसुस भयो । अहिले देशमा आशाको केन्द्र भनेको रास्वपा नै हो । रवि लामिछानेको नेतृत्व र निर्णय क्षमताले देशलाई निकास दिन्छ भन्ने विश्वासले म यहाँ आएको हुँ ।’ 

सुदूरपश्चिममा रास्वपाको सांगठनिक संरचना कमजोर रहेको स्विकार्दै भट्टले जनलहर भने व्यापक रहेको दाबी गरे । ‘अहिले हामीसँग सबै वडामा कमिटी छैनन्, तर जनता आफैं फोन गरेर पार्टीमा जोडिन खोजिरहेका छन्,’ भट्टले भने, ‘हामी भ्याइरहेका छैनौँ । अबको मेरो मिसन भनेकै गाउँ–गाउँ पुगेर संगठन बनाउने हो । आउँदो २०८४ को निर्वाचनमा सुदूरपश्चिमबाट रास्वपालाई पहिलो पार्टी बनाएर देखाइदिन्छौँ ।’ 

अहिले पार्टीले आफूलाई कुनै ठोस जिम्मेवारी नदिए पनि आफू साधारण सदस्यकै रूपमा काम गर्न तयार रहेको उनले बताए । बालेन शाह र रास्वपाबिचको पछिल्लो सहकार्यले पनि जनतामा थप उत्साह थपेको उनको बुझाइ छ । 

गोकर्ण भट्ट माओवादी केन्द्र हुँदै एमालेमा सक्रिय भएका नेता हुन् । उनी २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा कैलालीको गोदावरी नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार बनेका थिए तर दुवै पटक पराजित भए । पछिल्लो समय एमालेभित्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी परित्याग गरेका थिए । 

‘म हतारमा छैन, धैर्य गर्छु । पार्टीले एक दिन मेरो मूल्यांकन गरेर जिम्मेवारी दिनेछ । अहिलेको आवश्यकता पद होइन, संगठन र परिवर्तन हो,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप