बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
राजनीति

कार्यतालिकाअनुसार आज हुनुपर्थ्यो कांग्रेसको वडा अधिवेशन तर सकिएन सदस्यताको लफडा

बुधबार, १६ पुस २०८२, १३ : ५२
बुधबार, १६ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको थियो, तर वडा अधिवेशन हुन सकेन।
  • क्रियाशील सदस्यता वितरण र नवीकरणको काम नसकिएकाले महाधिवेशन अनिश्चित बनेको छ, र अब निर्वाचनमा केन्द्रित हुने योजना छ।
  • पार्टी प्रवक्ताका अनुसार, महाधिवेशनको कार्यतालिका ‘रकेट’ गतिमा ल्याइएको थियो, तर क्रियाशील सदस्यताका कारण प्रक्रिया अघि बढ्न सकेन।

काठमाडौं । नेपाली कांग्रेसको मंसिर १५ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस २६ देखि २८ गतेसम्म १५ औँ महाधिवेशन गर्नेगरी कार्यतालिका सर्वसम्मत पारित गरेको थियो । त्यो तालिका अनुसार पुस १६ गते (आज) देशभरका वडामा कांग्रेसको वडा अधिवेशन हुनुपर्ने थियो ।

तर, अहिलेसम्म क्रियाशील सदस्यता वितरण र नवीकरणको काम नसकिएकाले अधिवेशन हुन सकेन ।

कांग्रेसले महामन्त्री गगन थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश स्नेही रसाइली सदस्य रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति बनाएको थियो । त्यो समितिले सदस्यता वितरण र नवीकरणमा रहेको विवाद समाधान गर्न नसकेपछि निर्धारित कार्यतालिकानुसार बुधबार वडा अधिवेशन हुन नसकेको हो ।

सदस्यता व्यवस्थापन समितिका सदस्य चौधरीले क्रियाशील सदस्यताको काम नसकिएको जानकारी दिए । ‘क्रियाशील सदस्यता नवीकरणको काम लगभग सकिएको छ । छुटपुट मात्रै छ,’ चौधरीले रातोपाटीसँग भने, ‘वितरणको काम त बाँकी नै छ । जिल्ला जिल्लामा पठाएका फारम भरेर आउने क्रम जारी छ ।’

समितिका अर्का सदस्य रसाइलीले केही दिन अघि रातोपाटीसँग नवीकरणको काम ७५ प्रतिशत सकिएको र नयाँ सदस्यताका लागि वितरण भएका ६ लाख फारममध्ये १ लाख ५० हजार फारम सफ्टवेयरमा इन्ट्री भएका जानकारी दिएका थिए । त्यसपछि प्रतिनिधिसभाको समानुपातिकतर्फको सूची बनाउनतर्फ नेताहरू लागेपछि सदस्यता र महाधिवेशनसम्बन्धी काम अगाडि नबढेको नेताहरू बताउँछन् ।

कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर आज अडा अधिवेशन गरेर महाधिवेशनको प्रक्रिया सुरु गर्नेसर्वसम्मत निर्णय गरे पनि त्यो निर्णय कार्यान्वयन नभएपछि अब के गर्ने भन्नेबारे अहिलेसम्म कुनै औपचारिक निर्णय गरिसकेको छैन ।

प्रवक्ता डा. प्रकाशशरण महतले कार्यतलिका ल्याउँदा नै रकेट स्तरको ल्याइएकाले नहुने निश्चित थियो भन्दै अब निर्वाचनमा केन्द्रित हुने र त्यसपछि महाधिवेशन गर्नेतर्फ पार्टी अगाडि बढ्ने जानकारी दिए । ‘हामीले कार्यतालिका रकेटस्तरमा कुद्नु पर्नेगरी ल्याएका थियौँ । त्यो कार्यतालिकामा हुन्न भन्ने त्यतिबेलै थाहा थियो । तर सबैले प्रयास गर्‍यौँ । तैपनि सम्भव भएन,’ प्रवक्ता डा. महतले रातोपाटीसँग भने, ‘क्रियाशील सदस्यता नटुङ्गिएकाले प्रक्रिया सुरु भएन । अब पहिला आम निर्वाचनमा केन्द्रित हुने र त्यसपछि महाधिवेशनमा जानेगरी अगाडि बढ्छौँ ।’

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूची बुझाइसकिएकाले पार्टीको सबैभन्दा महत्त्वपूर्ण काम आम निर्वाचनका लागि तयारी गर्नुपर्ने भएकाले त्यसअनुसार काम अगाडि बढाउने बताए ।

महाधिवेशन कहिले गर्ने भन्ने विषयमा केन्द्रीय समिति बैठक बोलाएर निर्णय गरिने जानकारी डा. महतले दिए । डा. महत ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ समय तालिकाअनुसार क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्न असफल भएपछि अधिवेशन कार्यतालिकाअनुसार हुन नसकेको बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप