सर्वोच्चको आदेशपछि ट्रम्पद्वारा सहरहरूबाट नेशनल गार्ड फिर्ता गर्ने घोषणा
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले सिकागो र लस एन्जलसका सुरक्षाकर्मी फिर्ता गर्ने घोषणा गरे।
- सर्वोच्च अदालतले सेना परिचालन गर्ने अधिकारमा अंकुश लगाएपछि ट्रम्प पछि हट्न बाध्य भए।
- ट्रम्पले अपराध नियन्त्रणका लागि सेना आवश्यक रहेको तर्क गरे भने विपक्षीहरूले यसलाई तानाशाही कदम भने।
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिकागो र लस एन्जलस लगायतका विभिन्न सहरहरूबाट नेशनल गार्डका सुरक्षाकर्मी फिर्ता गर्ने घोषणा गरेका छन्। गत हप्ता सर्वोच्च अदालतले आन्तरिक सुरक्षाका लागि सेना परिचालन गर्ने राष्ट्रपतिको अधिकारमाथि अंकुश लगाउँदै फैसला सुनाएपछि ट्रम्प पछि हट्न बाध्य भएका हुन्।
अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ‘ट्रुथ सोसल’ मा लेख्दै ट्रम्पले अपराध फेरि बढ्न थालेपछि आफूहरू अझ फरक र शक्तिशाली रूपमा फर्कने दाबी समेत गरे। यसअघि मंगलबार ट्रम्प प्रशासनले लस एन्जलसमा तैनाथ सुरक्षाकर्मीहरूलाई आफ्नो नियन्त्रणमा राखिराख्ने कानुनी प्रयास पनि फिर्ता लिएको थियो।
सर्वोच्च अदालतले सिकागोमा आन्तरिक कानुन कार्यान्वयनका लागि सेना प्रयोग गर्न नपाउने फैसला सुनाएपछि सरकारलाई धक्का लागेको हो। ट्रम्पको पछिल्लो विज्ञप्तिमा पोर्टल्याण्डको पनि चर्चा गरिएको छ, तर वासिङ्टन डिसीको बारेमा भने केही उल्लेख छैन जहाँ सुरक्षाकर्मीहरू अझै गस्तीमा रहेका छन्।
सामान्यतया राज्यका गभर्नरहरूको अधिकार क्षेत्रमा रहने नेशनल गार्डलाई डेमोक्र्याटिक पार्टीले चलाएका सहरहरूमा पठाउने ट्रम्पको निर्णयविरुद्ध शृंखलाबद्ध कानुनी चुनौतीहरू दर्ता भएका थिए। सयौं सुरक्षाकर्मी सिकागो र पोर्टल्याण्ड पठाइए पनि अदालतमा मुद्दा विचाराधीन रहेकाले उनीहरूलाई सडकमा गस्ती गर्न दिइएको थिएन। ट्रम्पले अपराध नियन्त्रण र अवैध आप्रवासन रोक्न सेना आवश्यक रहेको तर्क गर्दै आएका थिए भने विपक्षीहरूले यसलाई लोकतन्त्रका लागि खतरा र ‘तानाशाही’ कदमको संज्ञा दिएका थिए।
क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले ट्रम्पको यो कदमलाई ‘राजनीतिक हार’ को रूपमा टिप्पणी गरेका छन्। उनले ट्रम्पको घोषणालाई व्यङ्ग्य गर्दै यो अवैध डर र धम्कीको रणनीतिको अन्त्य भएको बताए।
त्यस्तै सिकागोका मेयर ब्रान्डन जोन्सनले सर्वोच्चको फैसलाको स्वागत गर्दै सरकारको अर्को अंगले राष्ट्रपतिको शक्ति मिचाइलाई लोकतन्त्रका लागि खतराको रूपमा पहिचान गरेकोमा खुसी व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण