शीतलहरको मारमा मुसहर समुदाय : ‘जाडो कसरी कटाउने, पेट केले भर्ने ?’
सारांश
- मधेसमा शीतलहरका कारण दैनिक ज्यालादारी गर्ने र मुसहर समुदायको जनजीवन कष्टकर बनेको छ।
- जाडोले काम गर्न नसक्दा रोजीरोटी गुमेको र खाद्यान्नको अभाव भएको गुनासो स्थानीयको छ।
- स्थानीय सरकार राहत वितरणको तयारीमा रहेको र मन्त्रीको भूमिकाप्रति स्थानीयको असन्तुष्टि रहेको छ।
जनकपुरधाम । मधेसमा दुई साताभन्दा बढी समयदेखि शीतलहर चलिरहेको छ । शीतलहरले खासगरी दैनिक ज्यालादारी गरेर गुजारा चलाउने वर्गको जीवन कष्टकर बनाएको छ ।
अत्यधिक जाडोका कारण कामका लागि घरबाहिर निस्कन नसक्दा रिक्सा चलाउने, जुत्ता मर्मत गर्ने, गाउँ र सहरका टोल-टोलमा घुमेर खानेकुरा बेच्दै हिँड्ने व्यक्तिहरूको रोजीरोटीमै समस्या परेको छ ।
मधेसको सबैभन्दा सीमान्तकृत मुसहर समुदायको जीवन त झनै मुस्किलमा परेको छ । गाउँघरमा खेतबारी र साहुको घरमा काम गरेर जीवन निर्वाह गर्ने उनीहरू यतिबेला दैनिकी चलाउनकै लागि पनि ऋण लिनुपर्ने अवस्थामा पुगेका छन् । तर उनीहरुलाई सजिलै ऋण पत्याइदिने पनि कोही हुँदैन ।

२०७८ सालको जनगणना अनुसार महोत्तरी जिल्लामा मुसहरको जनसंख्या २७ हजार ३५२ छ । शिक्षामा निकै कमजोर पहुँच रहेका मुसहर समुदायका बालबालिका इँटाभट्टा, पसलहरूमा काम गर्न बाध्य छन् । कलिलै उमेरमा भारतका विभिन्न सहरमा मजदुरी गर्न जान्छन् । शीतलहरले दैनिक ज्यालादारीमा निर्भर परिवारलाई दुई छाक टार्न पनि धौ-धौ परिरहेको छ ।
महोत्तरीको भटुलिया गाउँपालिका–३ का बेचन सदा भन्छन्, ‘घरमा जम्मा गरेर राखेको सबै अन्न सकियो । धेरै जाडोले काम गर्न निकै कठिन भएको छ । तर सरकारले हामीजस्ता गरिब जनता, त्यसमाथि मुसहर समुदायलाई हेरेको जस्तो लाग्दैन । अब कसरी गुजारा गर्ने ?’

मुसहर समुदायको जीवनयापनको मुख्य आधारमा कृषि मजदुरी नै हो । तर दुई सातासम्म काममा जान नपाएपछि उनीहरू गुजाराको गम्भीर संकटमा परेका छन् । ‘हामीलाई हेर्नेबाला कोही पनि छैन । अरूको खेतबारीमा काम गरेर जिउँदो थियौँ । अहिले चिसोले गर्दा जीउले पनि काम गर्न साथ साथ दिँदैन,’ स्थानीय भुली सदा भन्छिन्, ‘कहिलेकाहीँ अरूको घुरा (आगो ताप्ने ठाउँ) मा गएर आगो ताप्छु । तर अहिलेसम्म सरकारले हामीलाई कुनै राहत बाँडेको छैन ।‘
एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डल चिसोबाट प्रभावित नागरिकका लागि राहत वितरण प्रक्रिया अगाडि बढेको बताउँछन् । ‘यस विषयलाई लिएर हाम्रो बैठक बसेको छ । अब तीन–चार दिनभित्र राहत सामग्री वितरण गर्ने तयारीमा छौँ,’ उनी भन्छन् ।
जाडो र भोको पेटका कारण राति निद्रा नलाग्ने समस्याबाट पनि विपन्न वर्ग गुज्रिरहेका छन् । सडकछेउबाट बटुलिएका प्लास्टिकका झुत्रा र खरपात बालेर बनाइएको घुर नै उनीहरूको एक मात्र सहारा बनेको छ । उनीहरूसँग यसको विकल्प पनि छैन ।
मनरा सिसवा नगरपालिकाको मनराका बासिन्दा रवि सदा भन्छन्, ‘के गर्ने, दाउरा बाँड्ने हल्ला त सुनेको छु, तर अहिलेसम्म केही आएको छैन । दाउराले जाडो त काटिएला, तर पेट केले भर्ने ? हामीलाई हेर्ने को छ र ? भोटको बेला मात्रै ठुला–ठुला कुरा गर्छन्, त्यतिबेला त खुट्टासम्म पुग्छन् ।‘ तर अहिले परेको बेला कोही पनि नेता-कार्यकर्ता सहयोगका लागि नआएको उनी गुनासो गर्छन् ।

मनरा सिसवा नगरपालिकाका मेयर मोहन पाण्डे यतिसम्मको अवस्था आउनुनपर्ने हो भन्ने अनुमानमै बसिरहेका छन् । ‘हाम्रो पालिकामा यस्तो समस्या नहुनुपर्ने हो । तर अहिले हामी राहतस्वरूप दाउरा वितरण गर्ने तयारीमा छौँ । साथै, खानाका लागि अन्नको समस्या देखिएमा हामी सम्बन्धित स्थानमा पुग्नेछौँ,’ उनी भन्छन्, ‘नगरपालिकामा सम्पर्क गरे राहत प्याकेज उपलब्ध गराइनेछ ।‘

महोत्तरीबाट रानीकुमारी तिवारी पटक-पटक मन्त्री बनेकी छन् । उनी अहिले पनि मधेस प्रदेशको शिक्षा मन्त्री छिन् । आफूहरूको भोटले सांसद हुँदै मन्त्री बनेकी तिवारीले राहतका लागि कुनै पहल नगरेकोमा मुसहर समुदाय आक्रोश व्यक्त गर्छन् । समुदायका बालबालिकालाई शिक्षामा पहुँच पुर्याउन पनि प्रदेश सरकारले कुनै ठोस योजना नल्याएको उनीहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण