कोशी सरकार पुनर्गठन तयारी : फेरिँदैछन् १० मन्त्री
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार अबेरसम्ममा मन्त्रीमण्डल पुनर्गठनको तयारी गरेका छन् । एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले मन्त्रीमण्डलमा १० जना मन्त्री हटाउने र नयाँ नियुक्ति गर्ने प्रक्रिया बुधबारसम्ममा भइसक्ने जानकारी दिए । जसका लागि नेकपा एमालेको संसदीय बोर्डको बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको लिङ्थेपले जानकारी दिए ।
बहालवाला एक मन्त्रीले आफूहरु भोलिसम्म (मंगलबार) का लागि मात्रै मन्त्री रहने जानकारीमा आएको बताए । ‘अन्तिम काममा छौं । भोलिदेखि मन्त्रीको ताज जाने अवस्था भयो,’ उनले भने । एमालेका एक जना सांसदले मंगलबार साँझसम्ममा नयाँ मन्त्रीहरुको शपथग्रहण हुनसक्ने बताए ।
२०८१ वैशाख २७ गते हिक्मतकुमार कार्की नेतृत्वमा सरकार निर्माण भएको हो । त्यसबेला कार्कीलाई माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन थियो । केन्द्रमा गठबन्धन फेरबदलसँगै माओवादी र समाजवादीका मन्त्रीले राजीनामा दिए । त्यसपछि २०८१ भदौ २७ गते कांग्रेसका मन्त्रीहरु थप भएका थिए ।
गठबन्धनमा रहेको दल कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सोमबार नै काठमाडौं पुगेर पार्टीका शीर्ष नेताहरुसँग छलफलबाट मन्त्रीको नाम टुंगो लगाएको बताइएको छ । स्रोतका अनुसार यसअघि कांग्रेसबाट खोटाङका भुपेन्द्र राईले सम्हालिरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा ओखलढुंगाका प्रदीपकुमार सुनुवार, सुनसरीका सदानन्द मण्डलले सम्हालेको पर्यटन, वन तथा वातावरण मन्त्रालयमा विराटनगरका भीम पराजुली, खाली रहेको स्वास्थ्य मन्त्रालयमा मोरङका मानबहादुर लिम्बू र ताप्लेजुङका खगेनसिंह हाङ्गामले सम्हालेको उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा सुनसरीका इस्राइल मन्सुरीलाई पठाउने तयारी भएको छ ।
उता, एमालेबाट इलामका रामबहादुर मगरले सम्हालेको आर्थिक मामिला तथा योजना मन्त्रालय तथा सुनसरीका रेवतीरमण भण्डारीले सम्हालेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा धनकुटाका इन्द्रमणि पराजुली र संखुवासभाका विदुरलाई जिम्मेवारी दिने तयारी रहेको स्रोत बताउँछ । यस्तै खोटाङका पाँचकर्ण राईले सम्हालेको सामाजिक विकास मन्त्रालयमा मोरङका ज्ञानेन्द्र सुवेदी र सुनसरीको रामप्रसाद महतोमध्ये एक जनालाई तथा झापाका एकराज कार्कीले सम्हालेको खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयमा झापाकै तिलचन पाठकलाई दिने तयारी भएको एमाले स्रोतको दाबी छ ।
यसअघि मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् हेरफेरको प्रयास गरेपनि कांग्रेसभित्रको किचलोको कारण सम्भव भएको थिएन । मुख्यमन्त्री हिक्मतकुमार कार्की भने नेकपा एमालेको मंगलबार बिहान ९ बजे बस्ने सचिवालय बैठकमा सहभागी हुन काठमाडौं लागेका छन् । ‘सचिवालय बैठक सकेर नेताहरूसँग आवश्यक अनुमति लिएर आउनुहुन्छ र सकेसम्म भोलि नै मन्त्रीमण्डलमा नयाँ अनुहार पठाउने तयारी छ,’ बहालवाला एक मन्त्रीले भने ।
कोशी प्रदेशमा एमालेबाट मुख्यमन्त्रीसहित ५ जना मन्त्री र एक राज्यमन्त्री तथा कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री छन् । एमालेबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहने गरी सिर्जना राईलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । यस्तै कांग्रेसबाट भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारीमा भूमिप्रसाद राजवंशी छन् । एमाले र कांग्रेसबाट बन्ने राज्यमन्त्रीको विषयमा भने टुंगो लागिनसकेको बताइएको छ ।
२०७९ देखि १८ औं पटक विस्तार हुँदै कोशी सरकार
२०७९ पुस २४ गते हिक्मतकुमार कार्की प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री बनेका थिए । उनले पुस २५ गते तीन जना तिलकुमार मेन्याङ्बो, भक्तिप्रसाद सिटौला र निर्मला लिम्बूलाई मन्त्री नियुक्त गर्दै चार सदस्यीय मन्त्रीमण्डल बनाए । त्यसको चार दिनपछि पुस २९ गते दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र बुद्धिकुमार राजभण्डारीलाई मन्त्रीमण्डलमा सामेल गराए । मन्त्रीहरुलाई जिम्मेवारी भने माघ ६ गते मात्रै दिए ।
उनको सरकार ढलेपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री बने । उनले २०८० असार २२ गते कमलप्रसाद जबेगू र प्रदीपकुमार सुनुवार सहभागी मन्त्रीमण्डल बनाए । त्यसको दुई दिनपछि जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार खत्रीलाई मन्त्रीमण्डलमा सहभागी गराए । थापा नेतृत्वको सरकार सर्वोच्चबाट विघटन गरेसँगै पुनः साउन १७ गते थापाकै नेतृत्वमा बनेको सरकारमा बाबुराम गौतम, प्रदीपकुमार सुनुवार र कमलप्रसाद जबेगू मन्त्री बने । त्यसको ९ दिनपछि साउन २६ गते निर्मला लिम्बूलाई मन्त्री नियुक्त गर्दै थापाले सरकार विस्तारलाई निरन्तरता दिए । पुनः उनले गयानन्द मण्डललाई साउन ३१ गते सरकारमा सहभागी गराए । तर उनको सरकार पुनः अदालतको परमादेशबाट ढल्यो ।
त्यसपछि बनेको हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा भदौ २२ गते पुनः तिलकुमार मेन्याङ्बो, पाँचकर्ण राई, एकराज कार्की र सिर्जना राईलाई मन्त्रीमण्डलमा सहभागी गराइयो । कार्कीले पुनः असोज ८ गते सरकार विस्तार गर्दै लीलाबल्लभ अधिकारी, बुद्धिकुमार राजभण्डारी, रामप्रसाद महतो र निरन राईलाई मन्त्रीमण्डलमा सहभागी गराउँदै मन्त्रीमण्डल विस्तार गरे ।
विश्वासको मत पाउन नसक्ने अवस्था भएपछि राजीनामा दिए । २०८० असोज २७ गते केदार कार्कीको नेतृत्वमा अर्को सरकार बन्यो । केदार कार्कीले असोज २८ गते रामबहादुर मगर र शमशेर राईलाई मन्त्री नियुक्त गरे । कार्कीले २०८० कार्तिक १७ गते गणेशप्रसाद उप्रेती र कमलप्रसाद जबेगूलाई मन्त्रीमण्डलमा समावेश गराए । रामबहादुर मगरले राजीनामा दिएपछि कार्कीले मंसिर १७ गते नयाँ कार्यविभाजन गरे । फेरि मुख्यमन्त्री कार्कीले माघ २६ गते प्रदीपकुमार सुनुवार, राजेन्द्र कार्की, रामकुमार खत्री, नारायणबहादुर मगर, इन्दिरा थापा र सुनिताकुमारी गुरुङलाई मन्त्रीमण्डलमा सहभागी गराउँदै मन्त्रीमण्डलको संख्या १० पुर्याए ।
कार्की नेतृत्वको सरकार ढलेर पुनः २०८१ वैशाख २७ गते हिक्मतकुमार कार्की नेतृत्वमा सरकार निर्माण भयो । कार्कीले सोही दिन गणेशप्रसाद उप्रेती र रामबहादुर मगरलाई मन्त्री नियुक्त गरे । त्यसको एक हप्तापछि जेठ ४ गते मुख्यमन्त्री कार्कीले राजेन्द्र कार्की, पाँचकर्ण राई, एकराज कार्की, नारायणबहादुर मगर, लीलाबल्लभ अधिकारी, सिर्जना राई र बन्दना झाँगडलाई मन्त्रीमण्डलमा सहभागी गराए ।
उक्त सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिएपछि मुख्यमन्त्री कार्कीले २०८१ भदौ २८ गते कांग्रेसबाट भुपेन्द्र राई, खगेनसिंह हाङ्गाम, सदानन्द मण्डल र भूमिप्रसाद राजवंशीलाई मन्त्रीमण्डलमा सहभागी गराए । २०८१ मंसिर १७ गते गैरकानुनी जापान भ्रमणपछि राजीनामा दिन बाध्य भएका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीको ठाउँमा एमालेका रेवतीरमण भण्डारी नियुक्त भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण