शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

माघ ११ को निर्वाचनमा कांग्रेसले जित्ने सबै सिट ‘बोनस’

मङ्गलबार, २२ पुस २०८२, १५ : ०२
मङ्गलबार, २२ पुस २०८२

सारांश

  • राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसलाई सिट बोनस हुने भएको छ।
  • एमाले र कांग्रेसबीच सिट बाँडफाँटको विषयमा छलफल भइरहेको छ, जसमा नेकपा र जसपा नेपाललाई पनि समेट्ने तयारी छ।
  • कांग्रेसले कम्तिमा ८ सिट पाउने गरी तालमेल गर्न सकिने र उम्मेदवारको टुङ्गो लगाउन कार्यसम्पादन समितिको बैठक बोलाइएको छ।

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनबाट नेपाली कांग्रेसले जित्ने सबै सिट बोनस हुने भएको छ ।  आगामी फागुन २० गते पदावधि समाप्त हुने १८ जना सदस्यहरूमा कांग्रेसका एक जना पनि छैनन् । 

पदावधि सकिने सदस्यहरूमा नेकपा एमालेको ८, साबिक नेकपा माओवादी केन्द्रको ७, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी नेपाल र लोकतान्त्रिक समाजवादीको एक÷एक सदस्य रहेका छन् । 

अब चुनावी तालमेलबाट कांग्रेसले जतिवटा सिट जितेपछि उसका लागि सबै बोनस हुने भएको हो । चुनावी तालमेलको विषयमा प्रमुख राजनीतिक दलहरू आन्तरिक छलफलमा व्यस्त छन् । 

एमालेले कम्तीमा ७ सिट दाबी गरेको छ । यस विषयमा कांग्रेससँग सहमति भएपनि कुन कुन क्लस्टरमा कसलाई पठाउने विषयमा टुङ्गो नलागेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बिहान बसेको सचिवालय बैठकमा राष्ट्रिय सभामा तालमेल गर्ने विषयमा छलफल भएको थियो ।

बैठकको निर्णय सुनाउँदै भट्टले भने, ‘सिट कसले कति पाउने भन्ने विषयमा कांग्रेससँग मोटामोटी बाँडफाँडको कुरा भएको छ। तर, क्लस्टर वाइज र प्रदेश वाइज को–कोलाई कहाँ उठाउने भन्ने टुङ्गो लागिसकेको छैन। नेपाली कांग्रेसका सभापतिसँग छलफल गरेर अन्तिम टुङ्गो लगाउने अधिकार अध्यक्षज्यूलाई दिइएको छ ।’

कांग्रेसले कम्तीमा ८ सिट पाउने गरी तालमेल गर्न सकिने स्पष्ट पारेको छ । सोमबार बसेको पार्टीको कार्यसम्पादन समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले ८ सिट लिने गरी एमालेसँग छलफल भइरहेको ब्रिफिङ गरेका थिए । सिट बाँडफाँटमा नेपाली कम्युनिस्ट पार्टी र जसपा नेपाललाई पनि समेट्ने विषयमा छलफल भइरहेको बताएका थिए । उम्मेदवारको टुङ्गो लगाउने कांग्रेसले आज पनि कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

यता नेपाली कम्युनिस्ट पार्टीले सम्मानजनक सिट बाँडफाँट भएमा कांग्रेस र एमालेसँग तालमेल गर्न सकिने बताएको छ । तालमेलको विषयमा एमाले र कांग्रेससँग भएको छलफलबारे जानकारी दिन संयोजक प्रचण्डले सहसंयोजक माधव नेपाल, नेता नारायणकाजी श्रेष्ठ, महिन्द्र राय यादव, रञ्जिता श्रेष्ठ लगायत नेताहरूसँग छलफल गरेका थिए । त्यसपछि उम्मेदवारको नाम टुङ्गो लगाउने विषयमा अहिले प्रचण्डले केन्द्रीय कार्यालय पेरिसडाँडामा एकतामा आएका १७ घटका प्रमुख नेताहरूसँग छलफल गरेका छन् । 

‘राष्ट्रिय सभामा चुनावी तालमेल गर्ने विषयमा कांग्रेस र एमालेसँग छलफल भइरहेको छ । सम्मानजनक सिट बाँडफाँट भएमा सहकार्य गर्न सकिन्छ’, केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनले भने ।

स्रोतका अनुसार कांग्रेसले ७, एमालेले ७, नेकपालाई ३ र जसपा नेपाललाई एक सिट दिनेगरी छलफल भइरहेको छ । तर, यसमा नेकपाले चित्त नबुझाएको स्रोतले बतायो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप