कोशीको सत्ता राजनीतिमा प्रदीपकुमार सुनुवारको चौथो ‘इनिङ्स’
विराटनगर । कोशी प्रदेशको सत्ता राजनीतिमा भइरहने उतारचढावबिच नेपाली कांग्रेसका नेता प्रदीपकुमार सुनुवार चौथोपटक मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार सुनुवारलाई प्रदेशको महत्त्वपूर्ण जिम्मेवारी मानिने भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका हुन् । उक्त मन्त्रालयले प्रदेश सरकारको कुल बजेटको ४० प्रतिशत हिस्सा खर्च गर्छ ।
सुनुवारको मन्त्री पदको यात्रा अत्यन्तै उतारचढावपूर्ण र अस्थिर राजनीतिको प्रतिविम्ब जस्तै बनेको छ । २०८० असार २१ गते पहिलोपटक मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले असार २२ गते सुनुवारलाई मन्त्री नियुक्त गरेका थिए । तर सर्वोच्च अदालतको परमादेशले साउन ११ गते सरकार ढलेसँगै उनको पहिलो कार्यकाल २१ दिनमै सकियो । त्यसबेला उनले मन्त्रालयको जिम्मेवारी समेत पाउन सकेनन्, केवल ‘बिना विभागीय’ मन्त्रीका रूपमा झण्डा हल्लाउने अवसर मात्र पाए ।
पुनः २०८० साउन १६ गते उद्धव थापा दोस्रोपटक मुख्यमन्त्री बनेपछि सुनुवार साउन १७ गते खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री बने । तर भदौ ४ गते विवादास्पद ढंगले विश्वासको मत लिएको भन्दै सर्वोच्चले भदौ २१ गते पुनः सरकार बर्खास्त गरिदिएपछि उनको दोस्रो कार्यकाल ३७ दिनमा सीमित भयो ।
त्यसपछि २०८० असोज २७ गते केदार कार्कीको नेतृत्वमा बनेको सरकारमा सुनुवार २०८० माघ २६ गते स्वास्थ्य मन्त्री बनेका थिए । उक्त सरकार २०८१ वैशाख २७ सम्म रहँदा उनले करिब ७ महिना काम गर्ने अवसर पाए । अहिले २०८२ पुस २२ गते उनी चौथोपटक मन्त्री बन्दै भौतिक पूर्वाधार विकास मन्त्रालयको बागडोर सम्हाल्न आइपुगेका हुन् ।

कांग्रेस र एमालेबिच २०८४ को निर्वाचनअघिसम्म आधा–आधा समय सरकारको नेतृत्व गर्ने भद्र सहमति छ । सोही सहमति अनुसार अहिले कार्की नेतृत्वको सरकार चलिरहेको छ । यद्यपि, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनपछि केन्द्रको राजनीतिक समीकरण फेरबदल भएमा कोशी सरकारको आयु लम्बिने भन्दा पनि छोटिन सक्ने विश्लेषण गरिएको छ । आलोपालो सहमति कायम हुने हो भने पनि आउने आर्थिक वर्षको बजेट वक्तव्य नयाँ सरकारले ल्याउन सक्छ । बजेट ल्याएपनि कार्यान्वयन गर्न कार्की नेतृत्वको सरकारले नपाउने सम्भावना उत्तिकै छ ।
को हुन् प्रदीपकुमार सुनुवार ?
२०२७ वैशाखमा ओखलढुङ्गाको खिजिदेम्बामा जन्मिएका सुनुवार २०४३ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका हुन् । एसएलसीसम्मको अध्ययन गरेका उनी २०५४ सालमा तत्कालीन खिजीखोला गाविसको अध्यक्ष भएका थिए ।
नेपाली कांग्रेसको ओखलढुंगा जिल्ला सभापति हुँदै हाल उनी केन्द्रीय सदस्य छन् । २०७४ को निर्वाचनमा माओवादी केन्द्रका मोहन खड्कासँग पराजित भएका उनी २०७९ को निर्वाचनमा भने माओवादीकै सहयोगमा एमालेका हेभीवेट उम्मेदवार अम्बिरबाबु गुरुङलाई पराजित गर्दै ओखलढुङ्गा १(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण