शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

मानिसमा भएको आभामण्डल, कुण्डलिनी ऊर्जा र यसको प्रवाह

बिहीबार, २४ पुस २०८२, १२ : ०१
बिहीबार, २४ पुस २०८२

सारांश

  • लेखमा मानव शरीरको आभामण्डल र कुण्डलिनी ऊर्जाबारे चर्चा गरिएको छ, जुन एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ।
  • आभामण्डल मानिसको वरिपरिको ऊर्जा क्षेत्र हो, जसले मानिसको मनोविज्ञानमा प्रभाव पार्छ, र यसलाई नाप्ने प्रविधिहरू पनि छन्।
  • शरीरभित्र रहेको कुण्डलिनी चक्र र यसको जागरण, साथै रेकी उपचार पद्धतिबारे जानकारी दिइएको छ, जुन ऊर्जा हस्तान्तरणमा आधारित छ।
  • परिचय 

प्राणीको शरीर केवल हाड, छाला, मासुको थुप्रो मात्र होइन रहेछ । शरीरको बाहिरी भागलाई छालाले ढाकेर राम्रो देखाएको छ । त्यस्तो शरीर बाहिर वरिपरि प्रभाव क्षेत्रका रूपमा शक्ति ऊर्जा घुमिरहेका हुँदो रहेछ । यसलाई आभामण्डल वा प्रकाशमण्डल भनिँदो रहेछ । त्यसैगरी शरीरका भित्री भागमा अनगिन्ती कोषहरूले शरीरलाई सञ्चालन गर्नुका साथै आन्तरिक ऊर्जाहरू प्रवाहित गरिरहेका हुँदा रहेछन् । यसलाई कुण्डलिनी वा दिव्य ऊर्जा वा आन्तरिक ऊर्जा भनिँदो रहेछ । साथै यस्ता ऊर्जाहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा प्रसार हुने रहेछन् । त्यस्ता ऊर्जालाई रेकी भनिँदो रहेछ । यस लेखमा यिनीहरूकै बारेमा छोटो चर्चा गर्ने कोसिस गरिएको छ । 

  • आभामण्डल

मानिसको शरीरको कुनै भाग वा हातका औँलालाई निहालेर हेर्दा औँलाको वरिपरि केही पारदर्शी प्रकाश देखिन्छ । यस्तो प्रकाश देवताका साथै सजीव प्राणी र निर्जीव वस्तुहरू सबैमा हुँदो रहेछ । हामीले पुज्ने देवी–देवताहरूको तस्बिर टाउकोमा गोलो प्रकाशमय चक्र देखेका छौँ । यसैलाई आभामण्डल देखाइएको रहेछ ।

यस लेखमा केवल मानिसको आभामण्डलको मात्र चर्चा गरिएको छ । मानिसको शरीरको बाहिरी भागमा रहेको यस्तो आभा वा ऊर्जालाई मानिसको खुला आँखाले पनि देख्न सकिन्छ । यस्तो आभामण्डल मानिसपिच्छे धेरै वा थोरै क्षेत्रमा फैलिएको पाइन्छ । आध्यात्मिक मानिसको आभामण्डल ३–४ मिटरसम्म पनि हुन्छ भन्ने गरिन्छ । 

दुर्व्यसनी, अम्मली, रिसाहा र बढी कामुक मानिसहरूमा आभामण्ल कम हुन्छ भनिन्छ । यसैगरी बिरामी मानिसमा आभामण्डल कम हुने नै भयो । यो आभामण्डल सकारात्मक र नकारात्मक पनि हुँदा रहेछन् । यिनै सकारात्मक र नकारात्मक आभामण्डलीय प्रभावले मानिसहरू एक आपसमा आकर्षण र विकर्षण पनि हुने गर्दो रहेछ । 

दुई जना मानिससँगै बस्दा आभा मिलेमा धेरै बेरसम्म बसीरहुँ वा गफ गरिरहुँ जस्तो हुँदो रहेछ । आभा नमिलेमा दुई जनामा पनि छिटै छुट्टिन मन लाग्ने, शरीर चिलाउन थाल्ने, पसिना आएजस्तो हुने, शरीरमा जुम्रा वा उपियाँ हिँडेजस्तो हुने, श्वास पनि गनाए जस्तो हुन्छ भनिन्छ । यस्तो अनुभव हामीले पनि गरिरहेका हुन्छौँ ।

आजकल विवाहका प्रस्तावित जोडीलाई भेटघाट गराइने चलन छ । दुई जनामा आभा मिलेमा धेरै बेर कुराकानी हुने र विवाह पनि हुने गर्छ । आभा नमिलेमा छिट्टै कुरा टुङ्गिने र विवाह पनि नहुने पाइएको छ । ज्योतिषशास्त्रमा पनि विवाह जुराउँदा नाडी मिलाउने भन्ने गरिन्छ । नाडी मिले विवाह हुने र नाडी नमिले विवाह नहुने चलन रहेको छ । ज्योतिषशास्त्रका अनुसार यो नाडी पनि ग्रह नक्षत्रका आधारमा हुने भए पनि यसको प्रभाव आभामण्डलमा पर्छ भन्ने मान्यता रहेको छ । 

यो आभामण्डल प्राणीका साथै वनस्पति र निर्जीव बस्तुहरू जस्तै धातु, माटो, पानी आदिको पनि तेज वा बास्ना वा गन्धका रूपमा रहेको हुन्छ । यसको उदाहरण संस्कृतमा यसो भनिएको पाइन्छ । 

पृथ्वी सगन्धा सरसास्तथैवः

स्पर्शी च वायुज्र्वलितं च तेज । 

नभः सशब्दं महता सहैव

कुर्वन्तु सर्वे मम सुप्रभातम् ।। 

यस्तो आभा मण्डल देवीदेवताको धाममा बढी हुन्छ भनिन्छ । देवता वा प्रकृतिको पूजापाठ, मन्त्र, जप, ध्यान, साधनाले मानिसको आभामण्डल सफा हुने वा बढ्छ भनेको पाइन्छ । आगो वा घाम तप्ता पनि मानिसको आभामण्डलमा सुधार आउँछ पनि भनिन्छ । यसैले मानिस देवीदेवताको धाममा गएर बस्दा वा तीर्थयात्रा गर्दा मनमा शान्ति भएको अनुभव गरिएको हुन्छ । संन्यासीहरू, आध्यात्मिक व्यक्तिहरू पनि यस्तै धाममा शान्त भएर ध्यान गरेर बस्ने गरेको देखिन्छ । 

आजकाल आभामण्डल हेर्ने नयाँ प्रविधिको प्रयोग भएको पाइन्छ । यस्तो प्रविधिमा कृलियन क्यामरा आएको छ । यो क्यामेराले मानिसको आभामण्डलको रङ्ग रातो, सेतो, कालो, पहेँलो, बैजनी, नीलो देखाउनुका साथै आवाज पनि रेकर्ड गर्छ । यो क्यामेराबाट वनस्पति र निर्जीव वस्तुको आभा पनि हेर्न सकिने रहेछ । नेपालमा यस्तो क्यामेरा रेकी फाउन्डेसनले ०६३ देखि नै नेपालमा प्रयोग गर्न थालेको पाइन्छ । जैन धर्मको मान्यता अनुसार आभामण्डलको कालो, नीलो र धमिलो रङ्गलाई अशुभ र अरू रङ्गलाई शुभ मानिएको छ । 

  •  कुण्डलिनी चक्र

मानव शरीरको बाहिरी भागमा आभामण्डल भए जस्तै भित्री भागमा भएको ऊर्जा केन्द्र वा शक्ति केन्द्रलाई आध्यात्मिक जगतमा कुण्डलिनी चक्र भनिन्छ । यी कुराहरू वेदमा उल्लेखित पाइन्छ । यस्ता कुण्डलिनी चक्रलाई उपनिषद्हरूमा आध्यात्मिक चेतना, दिव्य ऊर्जा, सर्पिणी शक्ति जस्ता नाम पनि उल्लेख गरिएको छ । हाम्रा प्राचीन ऋषि मुनिहरूबाट पहिलादेखि नै मानिसमा भएका यस्ता कुण्डलिनी चक्रको अध्ययन र सञ्चालन गरेको पाइन्छ ।

मानिसको भित्री भागमा भएका यस्ता चक्रहरू मुख्यतया सातवटा रहेका छन् । तिनीहरूको नाम क्रमशः मूलाधार (सबैभन्दा तल), स्वाधिष्ठान (नाभीको चार अङ्गुल मुनि), मणिपुर (नाभिमा), अनाहत (छाती वा हृदयमा), विशुद्धि (घाँटीमा), आज्ञा (निधारमा) र सहस्रार चक्र (टाउकोमा) रहेका हुन्छन् । यी चक्रहरूको विचविचमा अन्य सानातिना करिब एक सय १४ वटा चक्रहरू रहेका छन् भनिन्छ । 

यी चक्रहरू शरीरका स्थूल अङ्ग भने होइनन् तर यिनले तत्तत् स्थानबाट स्थूल अङ्गजस्तै गरी शक्ति सञ्चालन भने गरिरहेका हुन्छन् । यी चक्रहरू सामान्य अवस्थामा सुषुप्त अवस्थामा रहेका हुन्छन् । जब मानिसले व्यायाम वा प्राणायामका माध्यमबाट सक्रिय गराइन्छ तब जाग्रत् अवस्थामा हुन्छन् । यस अवस्थालाई कुण्डलिनी जागरण र चक्र सञ्चालन भनिन्छ । 

यो कुण्डलिनी जागरण गर्ने कार्यमा इडा, पिङ्गला र सुषुम्ना नाडीको प्रमुख हात रहेको हुन्छ भनिएको छ । इडा नाडीले मस्तिष्क सञ्चालनमा र पिङ्गला नाडीले शरीर सञ्चालनमा काम गरेका हुन्छन् । सुषुम्ना नाडीले चेतना, सम्झना, विवेक आदि प्रवाहित गर्ने काम गर्छ । इडा र पिङ्गला नाडीको बिचमा सुषुम्ना नाडी सहस्रार चक्रदेखि मूलाधार चक्रसम्म सिधारूपमा प्रवाहित भएका हुन्छन् ।  यिनै नाडीहरूको सक्रियतामा कुण्डलिनी ऊर्जा प्रवाहित (जागरण) हुने गर्छ । आधुनिक विज्ञानले पनि मानिसको शरीरमा १२ वटा शक्ति केन्द्र रहेका छन् भनेको पाइन्छ ।

आजकाल नेपाल–भारत र अन्य विभिन्न मुलुकहरूका गुरुकुल वा आध्यात्मिक केन्द्रहरूमा योग र ध्यानका कक्षाहरूमा  कुण्डलिनी ऊर्जा (चक्र विज्ञान) सञ्चालन गरिरहेको पाइन्छ । त्यस मध्येमा हाल नेपालको जीवन विज्ञान प्रतिष्ठानले अग्रणी भूमिका लिएको छ । यसका संस्थापक गुरु द्वय श्री एलपी भानु शर्मा र श्री रमेश नेपाल हुनुहुन्छ । 

उहाँहरूबाट नेपालका र विदेशका विभिन्न स्थान र जीवन विज्ञान प्रतिष्ठानमा चक्र विज्ञान सप्ताह सञ्चालन हुँदै आएका छन् । यसमध्ये ०८० सालमा भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीमा पाँच हजार भन्दा बढी व्यक्ति संलग्न रहेको बेहद चक्रविज्ञान सप्ताह सम्पन्न भइसको छ । हाल अमेरिकाको टेक्सस राज्यमा चक्र विज्ञान कार्यक्रम सञ्चालन हुन गइरहेको छ ।

  • आभामण्डल र कुण्डलिनी ऊर्जाको पुनर्भरण 

मानिसको आभामण्डल र कुण्डलिनी ऊर्जा थाहा पाएर वा नपाएरै पनि विभिन्न तरिकाबाट पुनर्भरण भइरहेको हुन्छ । यी तरिकाहरूमा सुत्नु वा निदाउनु वा आराम गर्नुलाई मुख्य मानिन्छ । मानिसको ५–८ घण्टा सुताइबाट आभामण्डल र कुण्डलिनी ऊर्जाको पूरा पुनर्भरण हुन्छ भनिएको छ । 

मानिस दिनभर काम गरेर थकित र शक्तिहीन भएको हुन्छ । रातभरको मस्त निन्द्राबाट भोलिपल्ट बिहान आभा र दिव्य ऊर्जा पुनर्भरण भएका कारणले पुनर्ताजगी भएर उठ्दछ । मानिस राम्रोसँग निदाएन भने आभामण्डल र कुण्डलिनी वा आन्तरिक ऊर्जाको पुनर्भरण हुँदैन । त्यसले गर्दा व्यक्ति बिरामी हुन्छ, शक्तिहीन हुन्छ । पुनर्भरणका अन्य तरिकाहरूमा खाना खानु, पानी पिउनु, घाम ताप्नु, नुहाउनु, व्यायाम गर्नु, ध्यान गर्नु, लामो–लामो श्वास फेर्नु आदि हुन् । 

  • आभा मण्डल र कुण्डलिनी ऊर्जाको प्रवाह

आभामण्डल र कुण्डलिनी ऊर्जाको एकअर्कासँग प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । मानिसको आभामण्डल र कुण्डलिनीबाट सृजना भएका ऊर्जाशक्तिहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा प्रवाह हुने गर्छ । पूर्वीय सनातनी समाजमा मातापिता वा गुरु वा आदरणीय व्यक्तिलाई गोडामा ढोग्ने, उहाँहरूले पनि शिरमा हात राखेर आशीर्वाद दिने चलन छ । यसो गर्दा उहाँहरूको ऊर्जा शक्ति हस्तान्तरण हुने गर्छ । यसरी पूर्वीय सभ्यतामा ढोग्नु र आशीर्वाद दिनुको विज्ञानलाई महत्त्वपूर्ण मानिएको छ । 

यी कुराहरूको सैद्धान्तिक चर्चा ऋग्वेद र अथर्ववेदमा उल्लेख गरिएको छ भनिन्छ । अन्य समाजमा पनि दुई व्यक्तिबिच हात मिलाएको वा अँगालो मारेको पाइन्छ । यसरी पनि आभा वा दिव्य ऊर्जा एक अर्कोमा प्रवाह वा हस्तान्तरण हुने गर्छ । देवताहरूले कसैलाई वरदान दिँदा हातबाट प्रकाशका रूपमा शक्ति वा ऊर्जा प्रवाहित भएको तस्बिरहरूमा देखिएको पाइन्छ । यही सिद्धान्तलाई रेकी भन्ने गरिएको छ । यो रेकी पद्धति पहिला गौतमबुद्धले प्रयोग गर्नुभएको थियो भनिन्छ ।

पछि सन् १९२२ मा जापानका डाक्टर मेकाओ उसीबाट यसलाई पुनः उपचार पद्धतिमा सुरु गरिएछ । हाल यो पद्धति जापानमा प्रमुख उपचार पद्धतिका रूपमा प्रयोग गरिरहेको पाइएको छ । यो उपचार पद्धतिमा प्रयोगात्मक रूपले अरू मानिसबाट बिरामी मानिसमा आभा वा बाहिरी ऊर्जा थप्ने हो । यसरी शरीरमा ऊर्जा एवं शक्ति थपिएपछि बिरामी सन्चो हुने मान्यता रहेको पाइन्छ । नेपालमा पनि यसको प्रयोग योगी विकासानन्द र योगी शिवशक्तिनाथले सुरु गर्नुभएको हो । हाल नेपालमा यस्ता रेकी उपचार केन्द्रहरू प्रशस्तै रहेको पाइन्छ ।  

विगतका समयमा वा हिजोआज पनि नेपाली समाजमा परम्परागतदेखि चलिआएका तन्त्र, मन्त्र, झारफुक उपचार पद्धति पनि चलिरहेको पाइन्छ । बिरामीका अगाडि झाँक्रीले बत्ती र धूप बाल्दा नयाँ आभा थपिन गई बिरामी निको हुन जान्छ भन्ने मान्यता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यकुमार पण्डित
सूर्यकुमार पण्डित
लेखकबाट थप