शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
राजनीतिक दल

कोशीका ६ जना प्रदेशसभा सदस्य पुगे कांग्रेसको विशेष महाधिवेशनमा

सोमबार, २८ पुस २०८२, १८ : ०१
सोमबार, २८ पुस २०८२

विराटनगर । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीसहित ६ जना सांसदले समर्थन गरेका छन् । सोमबार दिउँसो कोशीका पूर्वमन्त्री शमशेर राई पनि विशेष महाधिवेशनस्थल पुगेर हस्ताक्षर गरेका छन् । 

‘म भर्खरै हस्ताक्षर गरेर निस्किएँ,’ राईले भने, ‘हिजो केही अलमल थियो । पार्टी नै फुट्छ कि भन्ने डर सबैभन्दा ठुलो कुरा थियो । हामीले हस्ताक्षर नगर्दा पार्टी फुट्नबाट जोगिने अवस्था देखिएन, त्यसैले आज मात्रै हस्ताक्षर गरें ।’

उनले नेतृत्व परिवर्तन त हुनुपर्ने कुरामा आफू सहमत भएपनि अहिलेको समयमा नेतृत्व परिवर्तन गर्नु उपर्युक्त नहुने आफ्नो निष्कर्ष रहेको बताए । ‘माघ ६ गते निर्वाचनका लागि मनोनयन दर्ता गर्नुपर्नेछ । यतिबेला नेतृत्वको हानथाप गर्ने बेला होइन । अब परिस्थिति यस्तो बन्यो कि नेतृत्व परिवर्तन हुन्छ, पार्टी फुट्छ वा पार्टी नै कोल्याप्स (विघटन) हुने अवस्था आउँछ,’ उनले भने, ‘वैधानिकता खोज्दा खोज्दै कांग्रेसले चुनावै लड्न नसक्ने स्थिति भयो भने त पार्टी नै विघटन हुन्छ नि ! यो निकै गम्भीर विषय हो ।’

उनले प्रक्रियागत रूपमा कमजोरी भेटियो भने पार्टी फुट्न सक्ने बताए । ‘यसको जिम्मेवारी सबैले लिनुपर्छ । विशेष महाधिवेशन बोलाउने र अहिले गर्नुहुँदैन भन्ने दुवै पक्ष जिम्मेवार छन्,’ उनले भने, ‘सभापति शेरबहादुर देउवादेखि टोल कमिटीका सभापतिसम्म हामी कहाँ चुक्यौं भन्ने कुरा सामूहिक जिम्मेवारीभित्र पर्छ । यस्तो बेला कांग्रेस कमजोर भयो भने नेपालको लोकतन्त्र नै जोखिममा पर्न सक्छ ।’

उनका अनुसार विशेष महाधिवेशनको पक्षमा आफूसँगै कोशी प्रदेशबाट पूर्व मुख्यमन्त्री केदार कार्की, पूर्वमन्त्री हिमाल कार्की, गोविन्द गिरी र सांसद विनोद बान्तवा रहेको बताए । 

कांग्रेस भोजपुरका समेत सभापति रहेका सांसद विनोद बान्तवा राईले भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी भएको बताए । 

महाधिवेशनमा पार्टीको विधान, आगामी कार्यदिशा र नेतृत्वका विषयमा घनीभूत छलफल भइरहेको उनले बताए । महाधिवेशनलाई व्यवस्थित बनाउन सीताराम कार्कीको नेतृत्वमा निर्वाचन समिति गठनको प्रस्ताव गर्न लागिएको उनको भनाइ छ । ‘नेतृत्व परिवर्तन हुन्छ । अब रुपान्तरण हुनुपर्छ । यो महाधिवेशनले गर्छ,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप