पुसमा नेपाली फिल्मको व्यापार चिसियो, माघमा गर्माउने अपेक्षा
सारांश
- पुस महिनामा नेपाली बक्स अफिस सुस्त रह्यो, 'झरीपछिको इन्द्रेणी'ले मुस्किलले एक करोडको आँकडा पार गर्यो।
- माघ महिनामा 'गोबर गणेश', 'मिरमिरे', र 'भाइरल गोर्खे' लगायत ९ वटा फिल्म रिलिज हुँदैछन्।
- 'परिवर्तन' र 'बिगुल' ले देशको राजनीतिक बेथितिको कथा उठाउँदा, 'आबाट आमा' र 'द ब्लु लाइट' पनि रिलिज हुनेछन्।
काठमाडौँ । पुस महिनामा नेपाली बक्स अफिस निकै सुस्त देखियो । पुसमा प्रदर्शनमा आएका चार फिल्म ‘झरीपछिको इन्द्रेणी’, ‘मुगलान’, ‘द ब्लु लाइट’ र ‘एक्लो’ कुनैले पनि बक्स अफिसमा कमाल गर्न सकेनन् । ‘झरीपछिको इन्द्रेणी’ले मुस्किलले एक करोडको आँकडा पार गर्न सफल भयो । अन्य फिल्मको व्यापार निकै दयनीय रह्यो ।
पछिल्लो समय फिल्म निर्माणमा तीव्रता आउँदा रिलिजको चाप पनि बढेको छ । रिलिजका लागि कुनै पनि हप्ता खाली छैनन् । यति मात्रै होइन, एउटै मितिमा दुईभन्दा बढी फिल्म जुधिरहेको पनि देखिन्छ । पुसको जाडोजस्तै फिल्मको चिसो व्यापारिक नतिजाले निर्माताहरूलाई झस्काउनुपर्ने हो, तर माघ महिनाको रिलिज क्यालेन्डर हेर्दा सरगर्मी बढेकोजस्तो लाग्छ । माघमा रिलिज हुने फिल्मको सङ्ख्या नै ९ छ । एकै महिना यत्तिका फिल्म रिलिज हुँदा हलको उपलब्धता, शो सङ्ख्याको बाँडफाँटले व्यवसायमा प्रभाव पार्छ ।
माघ महिनाको सुरुमै अर्थात् माघे सङ्क्रान्तिको अवसर पारेर आश गरिएका तीन फिल्म ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा आउँदैछन् । माघ २ गते शुक्रबार फिल्म रिलिज हुनुपर्ने भएपनि चाडको अवसर पारेर यी तीनै फिल्म एक दिनअघि बिहीबार नै आउन लागेका हुन् । यी तीनवटै फिल्मका कलाकार र जनरा फरक–फरक छन् ।
‘गोबर गणेश’ हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को डेब्यु निर्देशन रहेको फिल्म हो । आमा छोराको सामाजिक कथामा निर्माण भएको बताइएको फिल्मले गाउँबाट सपना बोकेर काठमाडौँ छिरेको एक युवकको सपना कसरी चकनाचुर हुन्छ र उसले आमाको लागि कति सङ्घर्ष गर्छ भन्ने मार्मिक कथा देखाउँछ । फिल्ममा बल्छी धुर्वे स्वयंको मुख्य भूमिका छ भने वर्षा सिवाकोटी, निर्मल शर्मा र बुद्धि तामाङजस्ता कहलिएका कलाकार पनि फिल्ममा अटाएका छन् ।
यस्तै, यम शेर्पाको निर्देशनमा बनेको ‘मिरमिरे’ले पारिवारिक र प्रेमकथालाई समेटेको छ । बाबु–छोरीको सम्बन्ध र त्रिकोणात्मक प्रेम कथा देख्न सकिने निर्माण युनिटले जनाएको छ । दयाहाङ र प्रकाश पछिल्ला समयका व्यस्त कलाकार हुन् । फिल्ममा माओत्से गुरुङ, भोलाराज सापकोटा, छुल्ठिम गुरुङ लगायत अभिनय पनि देख्न सकिन्छ । स्टार कलाकारले भरिएको फिल्म दर्शकमाझ प्रतीक्षित छ ।
अर्को फिल्म ‘भाइरल गोर्खे’ निगम श्रेष्ठले निर्देशन गरेका हुन् । ‘भाइरल गोर्खे’ले वर्तमान समयको सामाजिक सञ्जालको विकृतिको कथा उठाएको छ । सामाजिक सञ्जालमा भाइरल बन्दाका फाइदा र बेफाइदा फिल्मको कथा हो । फिल्ममा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ टिकटकरको रुपमा देखिनेछन् । रोचक कुरा के छ भने रियलमा प्रेम ब्रेकअप गरेर बसेका सौगात र सृष्टिले पर्दामा प्रेम जोडीको रुपमा रोमान्स गरेका छन् ।
त्यस्तै, माघको दोस्रो साता अर्थात ९ गते पनि भिडन्त कम छैन । यस दिन दुई फिल्म ‘परिवर्तन’ र ‘बिगुल’ आमनेसामने हुँदैछन् । संयोगवश, यी दुवै फिल्मले देशको वर्तमान राजनीतिक बेथिति र युवा विद्रोहको कथा उठाएका छन् ।
विजय केरुङको निर्देशनमा बनेको ‘परिवर्तन’ले भ्रष्टाचार र अन्याय विरुद्ध युवाहरूले नेतृत्व लिनुपर्ने सन्देश दिन्छ । अभिनेता सुशील श्रेष्ठ एक्सन अवतारमा देखिने यस फिल्ममा करिश्मा मानन्धर र सरोज खनाल जस्ता दिग्गज कलाकारको पनि उपस्थिति छ । फिल्मको टिजर र ट्रेलरमा रहेको अभिनेता श्रेष्ठको एक्सनको अहिले चौतफी तारिफ भइरहेको छ । एक्सन रुचाउने दर्शकका लागि फिल्मका एकदमै उपयुक्त रहेको बताइन्छ ।
अर्को फिल्म ‘बिगुल’ रमेश कोइरालाको निर्देशनमा बनेको फिल्म हो । फिल्मले जेनजी पुस्ताको आन्दोलन र परिवर्तनको चाहनालाई मुख्य विषय बनाएको छ । अभिनेत्री बेनिशा हमाल र नरेन खड्काको मुख्य भूमिका रहेको यस फिल्मले भ्रष्टाचार उन्मूलन र नयाँ नेपालको परिकल्पना गरेको निर्माण पक्षले जानकारी दियो । फिल्मले राजनीतिमा रहेका इमानदारिता र बेइमानी पनि केलाएको बताइन्छ ।
त्यसो त माघको तेस्रो साता अर्थात् १६ गतेपनि दुई ठुला फिल्म भिड्दैछन् । पल शाह स्टारर ‘आबाट आमा’ र मनोवैज्ञानिक थ्रिलर ‘द ब्लु लाइट’ । ‘आबाट आमा’ वैदेशिक रोजगारीमा जान लागेको छोरा र बाबु–आमाको सम्बन्धको कथा हो । यसमा पल शाहसँगै बलिउडका चर्चित भिलेन प्रदीप रावत र विपना थापाको मुख्य भूमिका छ । फिल्मको निर्देशन चन्द्र पन्तले गरेका हुन् ।
सोही दिन रिलिज हुने ‘द ब्लु लाइट’ भने थोरै फरक जनराको फिल्म हो । बलिराम चौहानको निर्देशनमा बनेको यो फिल्मले मानिसभित्रको डर र मनोवैज्ञानिक पाटोलाई उधिन्ने प्रयास गरेको छ । फिल्मले मानिसलाई एउटा लक्ष्य दिने बताइन्छ । बेनिशा हमाल, अर्पण थापा र सृष्टि श्रेष्ठ जस्ता कलाकारको अभिनयले फिल्म प्रतीक्षित सूचीमा छ ।
त्यसैगरी माघको अन्तिम शुक्रबार अर्थात् २३ गते प्रेम कथानक फिल्महरूको पालो छ । यस दिन ‘कुमारी’ र ‘रमिताको पिरती’ दुवै प्रेमकथामा फिल्म भिड्दैछन् । दिनेश राउतको निर्देशनमा बनेको ‘कुमारी’ भ्यालेन्टाइन डेको छेको पारेर प्रदर्शनमा आउन लागेको हो । फिल्मले रोमान्टिक प्रेमकथा पेस गर्छ । प्रेमकथा माहिर मानिएका निर्देशक राउत यसै फिल्म केही समयपछि प्रेमकथामै फर्किएका हुन् । फिल्मले प्रचारका लागि देशका विभिन्न सहरमा ‘लाइभ म्युजिकल कन्सर्ट’ गर्ने नौलो शैली अपनाएको छ, जसले युवा दर्शकलाई तान्ने अपेक्षा गरिएको छ ।
‘कुमारी’सँगै भिड्न लागेको फिल्म ‘रमिताको पिरती’ले पनि युवापुस्तालाई लक्षित गरेको छ । प्रेमकथाकै विषयमा बनेका फिल्म सुदिप्ताको निर्देशनमा बनेको हो । फिल्ममा आना शर्मा मुख्य भूमिकामा छिन् भने धिरज मगर र विनय श्रेष्ठको समेत अभिनय छ । गायक समीर श्रेष्ठले यही फिल्मबाट अभिनेतामा डेब्यु गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण