गगन थापासँग देउवा नेतृत्वको कार्यसमितिका ३२ जना, अधिकांश देउवाकै सारथि
काठमाडौँ । नेपाली कांग्रेसको २०७८ मंसिरमा भएको १४औँ महाधिवेशनपछि शेरबहादुर देउवाको सभापतित्वमा गठित केन्द्रीय कार्यसमितिका ३ पदाधिकारीसहित केन्द्रीय समितिमा रहेका ३२ जना गगन थापा नेतृत्वमा गठित नयाँ कार्यसमितिमा गएका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनले थापाको सभापतित्वमा सर्वसम्मत चयन गरेको १३५ सदस्यीय केन्द्रीय समितिमा देउवा नेतृत्वको केन्द्रीय समितिमा रहेका ३२ जना गएका हुन् ।
देउवा नेतृत्वको समितिमा रहेका महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा गएका छन् । थापा सभापति र शर्मा उपसभापति चयन भएका छन् । सहमहामन्त्री फरमुल्लाह मन्सुरले नयाँ कार्यसमितिमा पनि पुरानै पद पाएका छन् ।
थापा नेतृत्वको समितिमा अर्को उपसभापति बनेकी पुष्पा भुसाल भने देउवा नेतृत्वको समितिमा केन्द्रीय सदस्य थिइन् ।
देउवा नेतृत्वको समितिमा केन्द्रीय सदस्य रहेका प्रदीप पौडेल नवनिर्वाचित कार्यसमितिको महामन्त्री बनेका छन् । उनी कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेर पराजित भएका थिए । उनी २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ–५ बाट निर्वाचित भएपछि उनी पार्टीको संसदीय दलको नेताको निर्वाचनकै क्रममा थापासँग निकट भएका थिए ।
थापा नेतृत्वको समितिमा अर्को महामन्त्री बनेका गुरुराज घिमिरे भने केन्द्रीय समितिमा थिएनन् । १४औँ महाधिवेशनमा कोशी प्रदेश सभापतिमा प्रत्यासी बनेका घिमिरे उद्धव थापासँग झिनो मतान्तरले पराजित भएका थिए ।

थापा नेतृत्वको कार्यसमितिमा मन्सुरबाहेक निर्विरोध चयन भएका अन्य सात सहमहामन्त्री देउवा नेतृत्वको कार्यसमितिका केन्द्रीय सदस्य थिए । सहमहामन्त्रीमा निर्विरोध चयन भएका डा. डिला संग्रौला पन्त, प्रकाश रसाइली स्नेही, बहादुरसिंह लामा, उदय शमशेर राणा, मुक्ताकुमारी यादव, योगेन्द्र चौधरी र कर्णबहादुर बुढा केन्द्रीय सदस्य थिए ।
देउवा नेतृत्वको केन्द्रीय समितिका २० केन्द्रीय सदस्य थापा नेतृत्वको समितिमा पनि केन्द्रीय सदस्य नै छन् । थापा नेतृत्वको समितिमा गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, राजेन्द्र केसी, अर्जुनप्रसाद जोशी, चिनकाजी श्रेष्ठ, भरत शाह, मधु आचार्य, अमृत अर्याल, ध्रुब वाग्ले, विनोद चौधरी, मोहन आचार्य, अजयबाबु सिवाकोटी, जानकी सिंह, नानु बास्तोला, धना खतिवडा, प्रतिमा गौतम, तारामान गुरुङ, अब्दुल सत्तार, अब्दुल रज्जाक र गोपाल दहित सदस्य बनेका छन् ।
- थापा नेतृत्वको समितिमा जाने अधिकांश देउवाका सारथि
विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनाउँदा थापालाई साथ दिएका अधिंकाश पदाधिकारी र सदस्य कुनै समयमा देउवाका सारथि थिए ।
केन्द्रीय सदस्य बसेका गोपालनमान श्रेष्ठ पूर्वउपसभापति हुन् । देउवाले २०५९ सालमा नेपाली कांग्रेस फुटाउँदा साथ दिएका श्रेष्ठ देउवाका विश्वासपात्र मध्येका एक मानिन्थे । २०८० सालमा भएको राष्ट्रिय सभा निर्वाचनमा देउवाले टिकट नदिएपछि चिढिएका श्रेष्ठले माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा पनि टिकट नपाएपछि अन्तिम समयमा थापालाई साथ दिएका हुन् ।
थापाले उपसभापति बनाएकी भुसाल पनि देउवाकी सारथि दिइन् । उनलाई देउवाले प्रतिनिधि सभामा पार्टीको सचेतक तथा उपसभामुखसमेत बनाएका थिए । २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनपछि भुसाल उपसभामुख बनेकी थिइन् । अर्का उपसभापति शर्मालाई पनि देउवाले पार्टी प्रवक्ता बनाएका थिए । तर, २०७८ सालमा भएको १४औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार नबनाएपछि अर्को प्यानलमा पुगेर महामन्त्रीको उम्मेदवार बनी उनी निर्वाचित भएका थिए ।

महामन्त्री बनेका पौडेल १४औँ महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेर पराजित भएका हुन् । त्यस्तै ८ सहमहामन्त्रीमा निर्विरोध भएकामध्ये प्रकाश रसाइली स्नेहीबाहेक सबै देउवाका सारथि नै हुन् ।
सहमहामन्त्री लामालाई त देउवाले बागमती प्रदेशको मुख्यमन्त्री नै बनाएका थिए । अर्का सहमहामन्त्री राणालाई देउवाले तरुण दलको मनोनीत अध्यक्षदेखि अर्थराज्यमन्त्रीसम्म बनाएका थिए । १४औँ महाधिवेशनका क्रममा पार्टीको गण्डकी प्रदेश सभापतिमा पराजित जोशी र लुम्बिनी प्रदेश सभापतिमा पराजित शाहलाई देउवाले पछि केन्द्रीय सदस्य मनोनीत गरेका थिए । अहिले उनीहरूले नै देउवालाई छोेडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण