सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
फ्राइडे रिलिज

विदेशी ‘मर्सी’ र ‘बोर्डर २’ सँग भिड्दै ‘परिवर्तन’

शुक्रबार, ०९ माघ २०८२, ०९ : ११
शुक्रबार, ०९ माघ २०८२

काठमाडौँ । आज शुक्रबारदेखि नेपाली हलमा दुई विदेशीसहित तीन नयाँ फिल्म प्रदर्शनमा आएका छन्। ती हुन्– नेपाली एक्सन ड्रामा ‘परिवर्तन’, हलिउडको एक्सन–क्राइम ‘मर्सी’ र बलिउडको ‘बोर्डर २’। यी तीनै फिल्म ‘फ्राइडे रिलिज’ अन्तर्गत प्रदर्शनमा आएका हुन्।

‘परिवर्तन’ विजय केरुङ निर्देशित नेपाली फिल्म हो। समसामयिक विषयवस्तुमा निर्माण भएको यो एक्सनप्रधान फिल्मले केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट पीजी सर्टिफिकेट पाएको छ। फिल्मले देशभर १०४ भन्दा बढी शो पाएको छ।

फिल्मलाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौँ र बाहिर गरेर ३२ शो प्रदान गरेको छ। देशकै दोस्रो ठुलो चेन आईएनआईले १५ शो उपलब्ध गराएको छ। त्यस्तै, वान सिनेमाजले ९, एफक्यूबले ४ र बिग मुभिजले ३ शो दिएका छन्।

फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेलगायतको मुख्य भूमिका छ।

दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’लाई दीपक सिवाकोटीले निर्माण गरेका हुन्। निर्माता सिवाकोटीकै कथा रहेको यस फिल्मको पटकथा तथा संवाद भने शिवम् अधिकारीले लेखेका छन्। एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको फिल्ममा राजनीतिक विषय पनि कथाको रूपमा उठाइएको छ।

त्यस्तै, बलिउड फिल्म ‘बोर्डर २’ एक्सन र ऐतिहासिक कथावस्तुमा बनेको हो। फिल्मले बक्स अफिसमा तहल्का मच्चाउने सङ्केत देखाएको छ। किनभने एडभान्स बुकिङमा यो फिल्मले बलिउडका यसअघिका रेकर्डहरू तोडेको छ।

सन् १९९७ को ब्लकबस्टर फिल्म ‘बोर्डर’ को दोस्रो शृङ्खलाका रूपमा निर्माण भएको यो फिल्मलाई अनुराग सिंहले निर्देशन गरेका हुन्। फिल्ममा सनी देओलका अलावा वरुण धवन, दिलजीत दोसांझ र अहान शेट्टीको मुख्य भूमिका छ। जेपी दत्ता, निधि दत्ता, भूषण कुमार र कृष्ण कुमारले मिलेर फिल्म निर्माण गरेका हुन्।

हलिउडको फिल्म ‘मर्सी’मा क्रिस प्राट र रेबेका फर्गुसनको अभिनय रहेको छ। एक्सन–क्राइम जनरामा निर्माण भएको फिल्मले पीजी सर्टिफिकेट पाएको छ।

निकट भविष्यको पृष्ठभूमिमा आधारित यो फिल्मको कथा एउटा अत्याधुनिक ‘एआई न्यायाधीश’को विषयमा केन्द्रित छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप