शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नीतिगत स्थिरता र ‘प्रोब्लम सल्भिङ’ क्षमता नभएसम्म समृद्धि सम्भव छैन : उपाध्यक्ष श्रेष्ठ

शनिबार, १० माघ २०८२, १५ : २९
शनिबार, १० माघ २०८२

सारांश

  • राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले सरकारी संयन्त्रमा प्रोब्लम सल्भिङको अभाव रहेको बताए।
  • उनले देशको समृद्धिका लागि सरकारी कार्यशैली, राजनीतिक सोच र सामाजिक दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताए।
  • कार्यक्रममा उच्च आयकरको दर र सरकारको लक्ष्य र नीतिबीचको तालमेल नमिल्दा लगानीकर्तालाई निरुत्साहित गरेको कुरा उठेको थियो।

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.प्रकाशकुमार श्रेष्ठले नेपालको सरकारी संयन्त्रमा प्रोब्लम सल्भिङको अभाव रहेको बताएका छन् । रोटरी क्लब अफ भिजन काठमाडौँले शनिबार आयोजना गरेको ‘समृद्धि संवाद’ मा उपाध्यक्ष श्रेष्ठले देशको समृद्धिका लागि सरकारी कार्यशैली, राजनीतिक सोच र सामाजिक दृष्टिकोणमा आमूल परिवर्तन आवश्यक रहेको बताए ।

सरकारी संयन्त्रमा समस्यालाई समाधान गर्ने भन्दा पनि त्यसलाई तन्काउने, टिकाउने वा पन्छाउने प्रवृत्ति हाबी भएकोप्रति चिन्ता व्यक्त गरे । उनले राजनीतिज्ञहरूमा समग्र देशको अर्थतन्त्रभन्दा पनि आफ्नै निर्वाचन क्षेत्रको विकासमा बढी चासो हुने गरेको बताए ।

सङ्घीयतापछि सरकारको दायरा र आकार ठुलो हुनुले निजी क्षेत्रलाई काम गर्न थप कठिन बनाएको उपाध्यक्ष श्रेष्ठको भनाइ छ । सरकार जति ठुलो हुन्छ, भ्रष्टाचारका आधारहरू त्यति नै बढी सिर्जना हुने भन्दै उनले कतिपय क्षेत्रमा निजी क्षेत्रलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए ।

अझै पनि २० प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको र कतिपय पालिकामा गरिबी ७८ प्रतिशतसम्म रहेको भन्दै उनले समृद्धि भनेको पैसा मात्र नभई जीवनको गुणस्तर भएको बताए ।

हाम्रो सामाजिक सोच वेल्थ क्रिएसन भन्दा वेल्थको डिस्ट्रिब्युसनमा बढी केन्द्रित भएको उनको विश्लेषण छ । सामाजिक न्यायका लागि वितरण आवश्यक भए पनि उत्पादन र धन सिर्जना ओझेलमा पर्दा आर्थिक वृद्धिदर सुस्त भएको उन भनाइ छ । साथै, युवाहरूमा बढ्दो विदेश जाने मानसिकता देशका लागि ठुलो चुनौती बनेको श्रेष्ठ बताउँछन् ।

नेपाल भारत र चीन जस्ता ठुला अर्थतन्त्र भएका देशहरूको बिचमा रहेकोले उनीहरूको मास प्रोडक्सनसँग प्रतिस्पर्धा गर्न नेपाललाई कठिन रहेको भन्दै उनले यसलाई चिर्न हाई भ्यालु प्रोडक्टमा ध्यान दिनुपर्ने बताए । सूचना प्रविधि र पर्यटन क्षेत्रले ठुलो भूमिका खेल्न सक्ने उनको भनाइ थियो ।

कार्यक्रम अन्तर्गत समृद्धि बहस नामक प्यानल डिस्कसन नेपाल उद्योग वाणिज्य महासङ्घका कोषाध्यक्ष भरतराज आचार्यले उच्च आयकरको दरका कारण मानिसहरूमा काम गर्ने इच्छाशक्ति मर्दै गएको भन्दै यसमा सुधारको आवश्यकता रहेको बताए । आम्दानीको ठुलो हिस्सा करमा जाँदा मानिसहरूले आफ्ना आधारभूत आवश्यकता पूरा गर्नै सङ्घर्ष गर्नुपरेको उनको भनाइ छ ।

त्यस्तै, स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारको लक्ष्य र नीतिबिच तालमेल नभएको उदाहरण प्रस्तुत गरे । सरकारले सन् २०३० सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको तर नेपाल विद्युत् प्राधिकरणले ‘टेक एन्ड पे’ को नीति ल्याएर उत्पादन भएको बिजुली मन लागे मात्रै किन्ने कुरा गरेको उदाहरण दिँदै उनले लक्ष्य र नीतिको विरोधाभाषले लगानीकर्तालाई निरुत्साहित गर्दै लगेको बताए ।

कार्यक्रममा रोटरी क्लब अफ भिजन काठमाडौँका अध्यक्ष जगत पोखरेलले देशको वर्तमान आवश्यकता नै समृद्धि भएको र यसका लागि सबै क्षेत्रबिच संवाद र सहकार्य जरुरी रहेको बताए ।  उनले यसका लागि रोटरी क्लब अफ भिजन काठमाडौँले ‘समृद्धि बहस सञ्चालन गरेको बताए । कार्यक्रममा क्लब अन्तर्गत जेनजी युवाहरू सम्मिलित रोट्रयाक क्लबको घोषणा समेत गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप