पूर्वबाट फर्किएर ज्वागलमा रणनीति र ब्रिफिङ, धनगढीबाट पश्चिम छिर्दै
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह देशव्यापी चुनावी अभियानमा व्यस्त छन्।
- उनले मधेस र कोशी प्रदेशमा चुनावी दौडाहा सकेर काठमाडौंमा चुनावी रणनीति बनाइरहेका छन्।
- बालेनले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आफ्नो उपस्थितिलाई मजबुत बनाउन भ्रमण गर्दैछन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका बालेन्द्र शाह (बालेन) यतिबेला देशव्यापी चुनावी अभियानमा होमिएका छन् ।
काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिको मैदानमा उत्रिएका शाहले संघीय राजधानी र प्रदेशहरूमा आफ्नो ध्यान केन्द्रित गरिरहेका छन् । मधेस र कोशी प्रदेशको साताव्यापी चुनावी दौडाहा सकेर बालेन शनिबार साँझ काठमाडौँ फर्किएका छन् ।
काठमाडौँ फर्किएलगत्तै उनी चुनावी रणनीति तय गर्न र उम्मेदवारहरूसँगको छलफलमा व्यस्त देखिए । आइतबार दिनभर उनी ललितपुरको ज्वागलस्थित आफ्ना सहयोगी कुमार बेनको निवासमा बसेर आगामी निर्वाचनको तयारीबारे विभिन्न चरणमा छलफलमा जुटेका छन् ।
मधेसको उत्साह जोड्न पूर्वी पहाडमा पुगेका थिए बालेन
बालेनले आफ्नो चुनावी अभियानको सुरुवात मधेस प्रदेशको राजधानी जनकपुरधामबाट गरेका थिए । जनकपुरमा आयोजित विशाल सभालाई सम्बोधन गर्दै उनले मधेसका जनताको भावना बुझ्ने प्रयास गरे । त्यहाँ उनले विभिन्न राजनीतिक र सामाजिक व्यक्तित्वहरूसँग भेटघाट गर्दै मधेसको माटोबाट आफ्नो संघीय यात्राको उद्घोष गरे ।
मधेसको कार्यक्रम सकिएपछि बालेन कोशी प्रदेशतर्फ लागेका थिए, जहाँ उनले झापा–५ बाट उम्मेदवारी दिएका छन् । माघ ५ गते साँझ कोशी प्रदेश प्रवेश गरेका बालेनले आफ्नो यात्राको सुरुवात मोरङको उर्लाबारीबाट गरे । उक्त दिन उनले उर्लाबारी नगरपालिका–७ पशुपतिमार्गमा रहेको आफ्नो ससुराली घरमा बास बसेर स्थानीयस्तरमा केही अनौपचारिक भेटघाटहरू गरे ।
भोलिपल्ट बिहानैदेखि उनी चुनावी माहोल बनाउन सक्रिय भए । उनले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराए । उम्मेदवारी दर्तापछि दमकमा बसेका बालेनले त्यहाँका समर्थक र शुभचिन्तकहरूसँग प्रत्यक्ष संवाद गरे । दमक–५ स्थित लक्की सिटौलाको घरमा उनले झापा, सुनसरी र मोरङका करिब ३ हजारभन्दा बढी समर्थकहरूसँग सामूहिक भेटघाट गर्दै आफ्नो एजेन्डा बताएका थिए ।
‘उहाँले मधेसको उत्साह पूर्वी क्षेत्रको पहाडमा जोड्नको लागि पनि आफ्नो उम्मेदवारी झापामा भए पनि पहाड उक्लेका हुन्,’ बालेनको रणनीतिक टिममा रहेका एक सदस्य भन्छन्, ‘पूर्वी क्षेत्रमा वैकल्पिक मत श्रम–संस्कृति पार्टीमा जाँदा काटिने डर भएकोले पहिलो चरणमै बालेनले त्यता सक्रियता देखाएका हुन् । फेरि अर्को चरणमा पनि बालेन आउँछन्,’ उनले भने ।
लगत्तै माघ ७ गते साँझ इलाम पुगेका उनले सदरमुकाममा बास बसेर त्यहाँका युवा र समर्थकहरूसँग अन्तरक्रिया गरे । त्यसको भोलिपल्ट माघ ८ गते उनी ताप्लेजुङ पुगे । ताप्लेजुङको सदरमुकाममा समर्थकहरूसँगको भेटघाटपछि उनी प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरको दर्शनका लागि प्रस्थान गरे । पाथीभराको दर्शन गरी सोही दिन माथिल्लो फेदीमा बास बसेका बालेनले आफ्नो यात्रालाई पाँचथर हुँदै तेह्रथुमतिर अगाडि बढाए । उनले तेह्रथुम र संखुवासभामा भने सम्बन्धित क्षेत्रका उम्मेदवारहरूलाई साथै राखेर सामूहिक रूपमा मन्तव्य दिए ।
शनिबार संखुवासभाको कार्यक्रम समापन गरेर बालेन धनकुटा आइपुगेका थिए । उनले सवारी साधनबाटै धनकुटा सदरमुकामको परिक्रमा गरे । शनिबार साँझ विराटनगरबाट काठमाडौँ फर्किएका हुन् । उनी काठमाडौँ फर्किए पनि उनको सचिवालय टिम र श्रीमती सबिना काफ्ले भने दमकमै छन् । उनीहरूले भोलिदेखि नै घरदैलो गर्ने कार्यक्रम तय भइसकेको छ ।
सामाजिक सञ्जालदेखि भाषण र रणनीतिसम्म बालेनको चासो
काठमाडौँ फर्किएपछि बालेनले आइतबार बिहानैदेखि उम्मेदवारहरूसँगको ब्रिफिङ र छलफललाई तीव्रता दिएका छन् । ललितपुरको ज्वागलमा रहेको कुमार बेनको घर अहिले बालेनको ‘रणनीतिक केन्द्र’ बनेको छ । उनले काठमाडौँ उपत्यकाभित्रका १५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग छुट्टाछुट्टै र सामूहिक रूपमा चुनावी अभियानको प्रगतिबारे जानकारी लिएका छन् ।

भेटघाटमा काठमाडौँ क्षेत्र नम्बर १ की उम्मेदवार रन्जु दर्शना र क्षेत्र नम्बर ३ का उम्मेदवार राजुनाथ पाण्डे लगायतका प्रभावशाली नेताहरूको उपस्थिति थियो । बालेनले उम्मेदवारहरूलाई चुनावी मैदानमा जाँदा अपनाउनुपर्ने सतर्कता र रणनीतिबारे निर्देशनसमेत दिएका छन् ।
सहभागी नेताहरूका अनुसार बालेनले उम्मेदवारहरूले सामाजिक सञ्जालमा गर्ने टिप्पणी, भाषणमा प्रयोग गर्ने भाषा र प्रतिस्पर्धी उम्मेदवारहरूविरुद्ध दिइने प्रतिक्रियाबारे गहिरो चासो राखेका छन् । उनले चुनावी अभियानलाई निकै सभ्य र भव्य बनाउनुपर्नेमा जोड दिएका छन् । ‘चुनावी मैदानमा होमिएपछि विपक्षीका हरेक प्रहारको रणनीतिक रूपमा काउन्टर दिन तयार हुनुपर्छ, तर हाम्रो प्रस्तुति सधैँ मर्यादित हुनुपर्छ,’ उनीनिकट एक उम्मेदवारले भने । पहिलो चरणमा उपत्यकाका उम्मेदवारहरूसँगको छलफल सकेर उनले आइतबार राति अबेरसम्म बागमती प्रदेशका अन्य जिल्लाका उम्मेदवारहरूसँग पनि संवाद गर्ने कार्यतालिका छ ।

सुदूरपश्चिम र कर्णालीको यस्तो छ यात्रा
काठमाडौँको बसाइलाई संक्षिप्त बनाउँदै बालेन भोलि सोमबार बिहानै धनगढी प्रस्थान गर्ने तयारीमा छन् । धनगढीबाट उनले सुदूरपश्चिम प्रदेशको चुनावी कमान्ड सम्हाल्नेछन् । उनले कैलालीको लम्कीचुहामा कार्यक्रम गर्नेछन् । यस्तै पार्टी कार्यालय रहेको भल्कामा दिउँसो अर्को कार्यक्रममा सहभागी हुनेछन् । बालेननिकट स्रोतका अनुसार भोलि धनगढी ओर्लिएपछि उनले सुदूरपश्चिमका विभिन्न जिल्लाहरूको भ्रमण गर्नेछन् ।
अछाम क्षेत्र नम्बर २ का उम्मेदवार रहेका बालेन निकट भूपदेव शाहका अनुसार बालेनको यो तीन दिने यात्रा निकै व्यस्त रहनेछ । धनगढीबाट सुरु हुने यात्रा सुदूरपश्चिमका पहाडी जिल्लाहरू हुँदै अछाम पुग्नेछ । त्यसपछि उनी कर्णाली प्रदेशको राजधानी सुर्खेत पुग्ने कार्यक्रम रहेको छ ।
सुर्खेतमा कर्णाली प्रदेशका उम्मेदवार र समर्थकहरूसँगको भेटघाट र चुनावी सभाहरू सम्पन्न गरेर उनी पुनः काठमाडौँ फर्कनेछन् । बालेन निकट शाहका अनुसार यो तीन दिने भ्रमणको बीचमा स्थानीय आवश्यकता र समर्थकहरूको मागअनुसार थप केही जिल्लाहरूमा पनि कार्यक्रमहरू थपिन सक्ने सम्भावना रहेको छ ।

बालेनले पश्चिम नेपालमा आफ्नो उपस्थितिलाई मजबुत बनाउन यो भ्रमणलाई निकै महत्त्व दिएका छन् । छोटो समयमा देशका धेरैभन्दा धेरै भूगोलमा पुगेर जनताको प्रत्यक्ष राय लिने र आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्ने योजना रहेको शाहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण