हेभिवेटसँगको भिडन्तमा कांग्रेसका महिला उम्मेदवार
सारांश
- नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ ११ महिलालाई उम्मेदवार बनाएको छ।
- उम्मेदवारहरूमा पूर्वमन्त्री, पूर्वसांसद, र अन्य राजनीतिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा हुनेछ।
- उम्मेदवारहरूले केपी शर्मा ओली, पुष्पकमल दाहाल, र रवि लामिछानेसँग प्रतिस्पर्धा गर्नेछन्।
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ ११ महिलालाई उम्मेदवार बनाएको छ । सभापति गगन थापाले पार्टी केन्द्रमा राजनीति गरेका ६ जना महिला र स्थानीय तहमा राजनीति गरेका ५ जना महिलालाई उम्मेदवार बनाएका हुन् ।
कांग्रेसले झापा–५मा मंधरा चिमरिया पौडेल, झापा–२ मा सरिता प्रसाईं, महोत्तरी–२ मा किरण यादव, सिराहा–४ मा चन्द्रकला कुमारी यादव, सिन्धुली–२ मा सुशीला थिङ, मकवानपुर–१ मा महालक्ष्मी उपाध्याय ‘डिना’, काठमाडौँ–८ सपना राजभण्डारी, काठमाडौँ–९ मा नानु बास्तोला, चितवन–२ मा मीनाकुमारी खरेल, रुकुमपूर्वमा कुसुमदेवी थापा मगर र दैलेख–१ मा वासना थापालाई उम्मेदवार बनाएको छ ।
उम्मेदवार बनेकामध्ये निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, तथा पार्टीको केन्द्रीय समितिमा काम गरेकाहरू सरिता प्रसाईं, सुशीला थिङ, किरण यादव, सपना राजभण्डारी, नानु बास्तोला हुन् । प्रसाईं, यादव, थिङ, उपाध्याय, राजभण्डारी र थापामगर पूर्वसांसद पनि हुन् ।
विघटित प्रतिनिधि सभामा थिङ कांग्रेसको सचेतक थिइन् भने थापा मगर प्रतिनिधि सभाको कृषि समितिको सभापति थिइन् ।
कांग्रेसका महिला उम्मेदवारहरूको भिडन्त दुई पूर्वप्रधानमन्त्री, ३ पार्टी अध्यक्ष, निवर्तमान सभामुख, उपसभामुख र पटक–पटक मन्त्री भएकासँग हुनेछ ।
एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग कांग्रेसमा महिला उम्मेदवार भिड्दैछन् ।
ओलीसँग चिमरिया, प्रचण्डसँग थापामगर र लामिछानेसँग खरेलले प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै निवर्तमान सभामुख देवराज घिमिरे र उपससभामुख इन्दिरा राना मगरसँग प्रसाईंले प्रतिस्पर्धा गर्ने भएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको उम्मेदवार बनाएका बालेन्द्र शाहसँग कांग्रेस उम्मेदवार चिमरिया भिड्दैछिन् । अहिलेसम्म सबैभन्दा धेरैपटक मन्त्री बनेका शरतसिंह भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति भइसकेका डोलप्रसाद अर्यालसहितका ‘भीआईपी’सँग पनि कांग्रेसका महिला उम्मेदवारहरू भिड्दैछन् ।
महालक्ष्मी उपाध्यायको क्षेत्रमा छैनन् सदावहार प्रतिस्पर्धी
निवर्तमान केन्द्रीय सहमहामन्त्री उपाध्याय मकवानपुर क्षेत्र नम्बर–१ बाट उम्मेदवार छिन् । मकवानपुरबाट पाँचौँ पटक चुनावी प्रतिस्पर्धामा होमिएकी उनी २०७९ को प्रतिनिधि सभा निर्वाचनमा यही क्षेत्रबाट राप्रपाका दीपकबहादुर सिंहसँग पराजित भएकी थिइन् । उपाध्याय यसअघि २०४८, २०५१, २०७४ र २०७९ मा मकवानपुरबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेकी थिइन् ।
२०४८ देखि २०७४ सम्म मकवानपुर क्षेत्र नम्बर–२ बाट चुनाव लडेकी उनी तत्कालीन नेकपा एमालेका उम्मेदवार विरोध खतिवडासँग पराजित भएकी थिइन् । २०७९ मा भने क्षेत्र परिवर्तन गरेर मकवानपुर–१ बाट चुनाव लडेकी उनी राप्रपाका दीपक सिंहसँग पराजित भइन् ।
मकवानपुरको राजनीतिमा लामो समयदेखि सक्रिय उपाध्याय यसअघि ४ पटकको पराजयलाई बिर्साउँदै जित निकाल्ने प्रयासमा छिन् ।
कम्युनिस्टको ‘लालकिल्ला’ मानिने मकवानपुर–१ मा कांग्रेसले अहिलेसम्म एक पटक जितेको छ । कांग्रेस बागमती प्रदेश सभा सभापति इन्द्रबहादुर बानियाँले २०७० मा यस क्षेत्रबाट जितेका थिए । यो क्षेत्रमा कांग्रेसको संगठन बलियो भए पनि आन्तरिक द्वन्द्वका कारण उम्मेदवारहरू पराजित हुँदै आएका छन् ।
‘हिजो घरभित्रको व्यवहार हेरिएनछ । गठबन्धनको अंकगणितले अलि बढी विश्वस्त पनि बनायो । आफ्नैभित्र विश्वास नगर्नु कमजोरी भयो । मैले त चुनाव नउठ्ने घोषणा नै गरेको थिएँ, तर अब हिजोको अवस्था रहेन । कार्यकर्ताबाट माग भयो । कांग्रेस एकल रूपमा जाने र रूखमा मतदान गर्न पाउनुपर्ने माग आएपछि उम्मेदवारी दिएकी हुँ,’ उपाध्यायले भनिन् ।
कांग्रेसको विवाद केन्द्रमा पनि नयाँ ढंगबाट हल गर्दै अघि बढेको र जिल्लामा पनि कमजोरीहरू महसुस गरेर सन्तुलित भएको जिकिर गर्दै उनले संयमित रूपमा निर्वाचनको नतिजा निकाल्ने रणनीतिमा रहेको प्रस्ट पारिन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सह–महामन्त्रीमा निर्वाचित महालक्ष्मी २०६४ र २०७० को संविधान सभामा समानुपातिक सभासद थिइन् । उनी पूर्वजलस्रोत राज्यमन्त्री समेत हुन् ।
उनीसँग एमालेबाट रामेश्वर रानामगर, नेकपाबाट विजय गौतम र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश गौतम प्रतिस्पर्धामा छन् ।
निवर्तमान सभामुख र उपसभामुखसँग सरिता प्रसाईंको भिडन्त
झापा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेकी प्रसाईं यसअघि प्रतिनिधि सभामा २ कार्यकाल र राष्ट्रिय सभामा १ कार्यकाल सांसद भएर काम गरिसकेकी छन् । उनी २०७० र २०७९ मा समानुपातिक प्रणालीबाट प्रतिनिधि सभामा सांसद् बनेकी थिइन् । २०७० सालमा प्रतिनिधि सभामा समानुपातिक सांसद भएको बेलामा उनी कृषि राज्यमन्त्री पनि बनेकी थिइन् ।
प्रसाईंले २०७४ मा राष्ट्रिय सभामा निर्वाचित भएर एक कार्यकाल काम गरेकी थिइन् । उनले राष्ट्रिय सभामा पार्टीको प्रमुख सचेतकको भूमिकासमेत निर्वाह गरिसकेकी छन् ।
प्रसाईसँग एमालेबाट निवर्तमान सभामुख देवराज घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट निवर्तमान उपसभामुख इन्दिरा राना मगर तथा नेकपाबाट पूर्वमन्त्री धर्मशिला चापागाई प्रतिस्पर्धा गर्दैछन् ।
दुई प्रधानमन्त्रीका उम्मेदवारसँग मंधरा चिमरिया पौडेलको प्रतिस्पर्धा
मंधरालाई कांग्रेसले झापा–५ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । उनी पहिलो पटक प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । उनीसँग एमालेबाट निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाबाट युवा नेता रञ्जित तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र (बालेन) शाह प्रतिस्पर्धामा छन् ।
सबैभन्दा धेरै पटक मन्त्री बन्नेसँग किरण यादवको प्रतिस्पर्धा
यादवलाई कांग्रेसले महोत्तरी–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । उनी प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचन जितेर एक पटक सांसद बनिसकेकी छन् । २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा यादव महोत्तरी–२ बाट निर्वाचित भएकी थिइन् । उनी २०६४ मा समानुपातिक प्रणालीबाट सांसद भएकी थिइन् ।
यादव पहिलो राष्ट्रपति डा. रामवरण यादवकी भतिजी हुन् । उनी कांग्रेसकी निवर्तमान केन्द्रीय सदस्य पनि हुन् । उनीसँग अहिले प्रतिस्पर्धामा एमालेबाट कादिप नदाप, नेकपाबाट लक्ष्मणकुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दीपककुमार साह र जसपा नेपालबाट शरतसिंह भण्डारी छन् । भण्डारी धेरै पटक मन्त्री बन्ने नेतामा पर्दछन् ।
तीन पूर्वमन्त्रीसँग भिड्दै चन्द्रकलाकुमारी
कांग्रेसले सिराहा–४ बाट चन्द्रकलाकुमारी यादवलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । उनी प्रतिनिधि सभा सदस्य पदमा पहिलो पटक प्रतिस्पर्धा गर्दैछिन् । उनीसँग प्रतिस्पर्धामा एमालेबाट धर्मनाथ प्रसाद साह, नेकपाबाट अयशंकर नायक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तपेश्वर यादव र जसपा नेपालबाट राजकिशोर यादव छन् । प्रतिस्पर्धीमध्ये साह, नायक र यादव पूर्वमन्त्री र पटक–पटक प्रत्यक्ष निर्वाचन जितेर सांसद भइसकेका व्यक्ति हुन् ।
सुशीला थिङ
कांग्रेसले सिन्धुली–२ बाट सुशीला थिङलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । उनी प्रतिनिधि सभामा प्रत्यक्षतर्फ भिड्न लागेको यो पहिलो पटक हो । उनी निवर्तमान प्रतिनिधि सभामा समानुपातिक प्रणालीबाट सांसद थिइन् । उनलाई कांग्रेसले सचेतकको जिम्मेवारीसमेत दिएको थियो । थिङसँगै सो क्षेत्रमा एमालेबाट मनोजजंग थापा, नेकपाबाट लेखनाथ दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशिष गजुरेल उम्मेदवार छन् ।
पूर्वमन्त्रीसँग भिड्दै सपना राजभण्डारी
कांग्रेसले काठमाडौँ ८ बाट सपना राजभण्डारीलाई उम्मेदवार बनाएको छ । २०७९ मा समानुपातिक प्रणालीबाट प्रतिनिधि सभामा प्रवेश गरेकी राजभण्डारी प्रत्यक्षतर्फ भिड्न लागेको पहिलो पटक हो । उनी नेपाली कांग्रेसका नेता पूर्वमन्त्री नवीन्द्रराज जोशीकी श्रीमती हुन् । जोशीको निधनपछि राजभण्डारी देखिनेगरी राजनीतिमा होमिएकी हुन् ।
उनीसँग एमालेबाट राजेश शाक्य, नेकपाबाट सुमन सायमी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठ प्रतिस्पर्धामा छन् । श्रेष्ठ यसअघि त्यो क्षेत्रबाट निर्वाचित भएर राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको उपनेता र खेलकुदमन्त्रीसमेत भएका थिए ।
रास्वपाका पूर्वकार्यवाहक सभापतिसँग भिड्दै नानु बास्तोला
कांग्रेसले काठमाडौँ–९ बाट पार्टी केन्द्रीय सदस्य नानु बास्तोलालाई उम्मेदवार बनाएको छ । उनी पहिलो पटक प्रतिनिधि सभामा पुग्न प्रतिस्पर्धा गरिरहेकी छन् ।
उनीसँग एमालेबाट अजयक्रान्ति शाक्य, नेकपाबाट राधाकृष्ण, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल प्रतिस्पर्धामा छन् । शाक्य पूर्वराजदूत हुन् भने अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीमा लामो समयसम्म कार्यवाहक सभापति भइसकेका छन् । अर्याल यसअघि सभानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य भएका व्यक्ति हुन् ।
रास्वपा सभापतिसँग भिड्दै मीना खरेल
कांग्रेसले चितवन–२ मा मीनाकुमारी खरेललाई उम्मेदवार बनाएको छ । उनी पहिलो पटक प्रतिनिधि सभामा पुग्नलाई प्रतिस्पर्धा गर्न लागेकी हुन् । पहिलो पटकमै उनको भिडन्त ‘हेभीवेट’सँग हुन लागेको छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेसँग प्रतिस्पर्धा गर्दैछिन् ।
सो क्षेत्रमा उनीसँगै राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, एमालेका अस्मिन घिमिरे र नेकपाका प्रताप गुरुङ प्रतिस्पर्धामा छन् । अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट लामिछाने ठुलो मतान्तरका साथ विजयी भएका थिए ।
प्रचण्डसँग भिड्दै कुसुमदेवी थापामगर
कांग्रेसले रुकुमपूर्वमा कुसुमदेवी थापा मगरलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । २०७९ मा समानुपातिक प्रणाली अन्तर्गत सांसद भएर प्रतिनिधि सभाको कृषि समितिकी सभापति बनेकी उनले यो पटक प्रत्यक्षतर्फ नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रतिस्पर्धा गर्दैछिन् ।
त्यो क्षेत्रमा एमालेबाट लीलामणि गौतम र राष्ट्रिय स्वतन्त्र पार्टीबाट लखन थापा प्रतिस्पर्धामा छन् । अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट माओवादीका पूर्णबहादुर घर्तीले जितेका थिए ।
पूर्वसांसदसँग वासना थापाको भिडन्त
कांग्रेसले दैलेख–१ मा वासना थापालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । उनी पहिलो पटक प्रतिनिधि सभामा पुग्नका लागि प्रतिस्पर्धामा छिन् ।
उनको भिडन्त एमालेका रविन्द्रराज शर्मा, नेकपाका अम्बबहादुर थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका नन्दकिशोर बस्नेतसँग हुँदैछ । थापा पूर्वसांसद हुन् । थापाले अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट प्रत्यक्षतर्फ जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण