फेरि मौसम बदलीको अर्को प्रणाली भित्रिँदै, काठमाडौँमा पनि वर्षा हुने
सारांश
- पश्चिमी न्यून चापीय प्रणाली फेरि नेपाल प्रवेश गर्दै, काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना।
- बुधबार देशैभरि यस प्रणालीको असर देखिने, पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना।
- लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको पनि सम्भावना।
काठमाडौँ । पश्चिम नेपालमा वर्षा र हिमपात गराएर फर्किएको केही दिनमै फेरि पश्चिमी न्यून चापीय प्रणालीको असर नेपालमा देखिने भएको छ ।
आज रातिबाटै सुदूरपश्चिम क्षेत्रबाट प्रवेश गर्ने यसपालिको न्यून चापीय प्रणालीले काठमाडौँ उपत्यकासमेत छुने र हल्का वर्षा गराउने भएको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार यो प्रणालीले बुधबार भने देशैभरि असर पार्ने छ । तराइका भूभागमा भने केही कम असर पार्ने जनाइएको छ ।
मौसमविद् पौडेलले रासससँग भने, “पर्सी बुधबार काठमाडौँमा पनि हल्का वर्षा हुन्छ की भन्ने अनुमान छ र तर प्रणाली कमजोर नै छ, ठुलो झरी भने छैन ।” यसले हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात तथा वर्षा गराउन सक्ने पनि उनले बताए ।
यो प्रणाली आज राति पश्चिम नेपालबाट प्रवेश गर्ने र मङ्गलबार दिउँसोसम्ममा गण्डकी तथा लुम्बिनी प्रदेशसम्म फैलिने छ । त्यसपछि मङ्गलबार राति अझै बाक्लिएर बुधबारदेखि भने देशैभरि फैलिने विभागले जनाएको छ । त्यसले काठमाडौँमा समेत बदली हुने र बुधबार रातिदेखि बिस्तारै हट्दै जाने पनि पौडेलले बताए ।
यस्तो छ चेतावनी
विभागले आज राति सार्वजनिक गरेको मौसम बदलीसम्बन्धीको विवरणमा माघ १३ र १४ गते सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको जनाइएको छ ।
यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मध्यम वर्षा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ ।
साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको समेत सम्भावना रहेको जनाइएको छ । त्यसको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकोले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन पनि अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
-
नाइजेरियामा आक्रमण हुँदा २० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण