गृहजिल्ला गएका छैनन् निर्वाचन नलडेका अधिकांश कांग्रेस शीर्ष नेता
सारांश
- नेपाली कांग्रेसका पूर्व पदाधिकारीहरू प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छैनन्, जसले गर्दा पार्टीको माहोल कमजोर बनेको छ।
- शेरबहादुर देउवा, विश्वप्रकाश शर्मा लगायतका नेताहरू आफ्नो निर्वाचन क्षेत्रमा प्रचार प्रसारमा जाने तयारीमा छन्।
- गगन थापाले नयाँ नेताहरूलाई टिकट दिएपछि पुराना नेताहरू निर्वाचनमा सहभागी हुन सकेका छैनन्, र केही नेताहरूले असन्तुष्टि जनाएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति, दुई उपसभापति, एक महामन्त्री, ३ सहमहामन्त्रीसहितका नेता फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छैनन् ।
गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशन अघिसम्म सभापति रहेका शेरबहादुर देउवा, उपसभापति पूर्वबहादुर खड्का (देउवाले असोज २८ गतेदेखि कार्यवाहक सभापतिको जिम्मेवारी दिएका), अर्का उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीहरू बद्री पाण्डे, उमाकान्त चौधरी र जीवन परियार प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छैनन् ।
महामन्त्री शर्मा विशेष महाधिवेशनबाट उपसभापतिमा सर्वसम्मत चयन भएकाले पार्टीको ‘निर्वाचन परिचालन समितिको संयोजक भएर काम गरिरहेका छन् । विशेष महाधिवेशनलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि सभापति गगन थापाले निवर्तमान पदाधिकारीहरूसँग भेट पनि गरेका छैनन्, जिम्मेवारी पनि दिएका छैनन् र निर्वाचनमा उम्मेदवार पनि बनाएनन् । चाहनाविपरीत उम्मेदवार बन्न नपाएपछि प्रायः नेता काठमाडौँबाट आफ्नो गृहजिल्ला गएका छैनन् । उनीहरू जिल्लामा नपुग्दा कांग्रेसको पक्षमा माहोल जति बन्नुपर्थ्यो, त्यति बन्न सकेको छैन ।
यी पदाधिकारीबाहेक पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र डा. शशांक कोइराला तथा नेताहरू बालकृष्ण खाण, रमेश लेखक, बलबहादुर केसीलगायत पनि यो निर्वाचनमा उम्मेदवार छैनन् । सभापति थापाले प्रत्यक्षतर्फ १६५ जना उम्मेदवार तय गर्दा १०६ जना नयाँ नेतालाई टिकट दिएपछि पुराना नेताहरू कामविहीन बनेका हुन् ।
निवर्तमान सभापति देउवा अहिले काठमाडौँमै छन् । उनका स्वकीय सचिव भानु देउवाले निर्वाचनमा प्रचार प्रसारका लागि आफ्नो जिल्ला डडेलधुरालगायत स्थानमा जाने तयारी रहेको तर कहिले जाने निश्चित भइनसकेको जानकारी दिए । ‘उहाँ मतदान र प्रचार प्रसारमा गृह जिल्ला डडेलधुरालगायतका स्थानमा जाने तयारी गरिरहनु भएको छ,’ स्वकीय सचिव देउवाले भने, ‘समय अझै यकिन भएको छैन ।’
_6vyzr7eqht_GbuDUBkwdV.jpg)
२०४८ सालदेखि २०७९ सम्म भएका सबै संसदीय निर्वाचनमा देउवा डडेलधुराबाट कांग्रेसबाट उम्मेदवार बनेर निर्वाचित हुँदै आएका थिए । अहिले पनि अन्तिम पटक उनको प्रतिस्पर्धा गर्ने चाहना थियो, तर अन्तिममा उनले निर्वाचन नलड्ने घोषणा गरे । देउवाको स्थानमा अहिले युवा नेता नैनसिंह महर उम्मेदवार बनेका छन् । महरले पनि देउवा प्रचार प्रसारका लागि डडेलधुरा जाने जानकारी दिए । ‘मैले काठमाडौँ पुगेर उहाँलाई भेटेँ । प्रचार प्रसारका लागि आउँछु भन्नुभएको छ,’ महरले रातोपाटीसँग भने ।
निवर्तमान कार्यवाहक सभापति खड्का पनि अहिले काठमाडौँमै छन् । खड्काका स्वकीय सचिव गौतम बीसीले निर्वाचनको प्रचार प्रसारका लागि गृहजिल्ला लगायत स्थानमा जाने तयारी भइरहेको र समय निश्चित नभएको रातोपाटीलाई जानकारी दिए । खड्का यसअघि सुर्खेत–१ बाट निर्वाचन लड्दै आएका थिए ।
_5z6RsRFwsi.jpg)
खड्का आफैँले केही दिन अगाडि आफू निर्वाचन नलड्ने तर, पार्टीको तर्फबाट उम्मेदवार बन्नेलाई अत्यधिक मतले विजयी गराउन आग्रह गरेका थिए । ‘पार्टीको जो साथी उम्मेदवारको रूपमा रुख चुनाव चिह्न लिएर तपाईंहरूको बिचमा आउनु हुन्छ, उहाँहरूलाई पार्टी पङ्क्तिका सबै साथीहरू एकताबद्व भई निर्वाचन अभियानमा लाग्न र अत्यधिक मतले विजयी गराउनु हुन मेरा परम आदरणीय मतदाता दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध र अपिल गर्दछु,’ खड्काले भनेका थिए ।
निवर्तमान उपसभापति गुरुङ आफ्नो गृह जिल्ला स्याङ्जा पुगेर शुक्रबारमात्रै काठमाडौँ फर्कदैछन् ।
१४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित र विशेष महाधिवेशनबाट उपसभापतिमा बढुवा भएका शर्मालाई भने सभापति थापाले निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी दिएका छन् । यो निर्वाचनमा आफू उम्मेदवार नबन्ने, पार्टीलाई जिताउन लाग्ने बताएका शर्माले निर्वाचनको रणनीति बनाउने काम गरिरहेका कांग्रेसको केन्द्रीय कार्यालयले जानकारी दियो । उनी माघ १९ गते झापा–२ मा हुने चुनावी सभालाई सम्बोधन गर्न जाँदैछन् । अघिल्लो निर्वाचनमा शर्मा झापा–१ बाट निर्वाचित भएका थिए ।

१४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित र विशेष महाधिवेशनबाट उपसभापति भएकी पुष्पा भुसाल पनि चुनावी रणनीति बनाउन काठमाडौँमै छन् । अर्का उपसभापति शर्मा र उनले अहिले कांग्रेसको निर्वाचन कमाण्ड सम्हालिरहेका छन् ।
निवर्तमान सहमहामन्त्री बद्री पाण्डेले यो पटक निर्वाचन नलडी पार्टीको काममा लाग्ने घोषणा गरेका थिए । पाण्डेले आफू शनिबार बिहान गृह जिल्ला बाजुरा जान लागेको जानकारी दिए । ‘भोलि बाजुरा जाँदैछु । त्यहाँ उम्मेदवारसहित प्रचार प्रसारमा सहभागी हुने योजना छ । एक हप्ता जति बसेर अन्य जिल्लामा पनि प्रचार प्रसारका लागि जाने योजना बनाएको छु,’ पाण्डेले रातोपाटीसँग भने । गत निर्वाचनमा पाण्डे बाजुराबाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी जेनजी आन्दोलन हुने बेलासम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए ।
अर्का निवर्तमान सहमहामन्त्री परियार भने गृह जिल्ला कास्कीमा छन् । माघ ११ गते कास्की पुगेर चुनावी प्रचार प्रसारमा लागिरहेको परियारले रातोपाटीलाई बताए । ‘माघ ११ गते नै पोखरा आएको थिएँ । चुनावी प्रचार प्रसारमा छु । अहिलेसम्म पार्टीको पक्षमा माहोल राम्रै छ,’ परियारले रातोपाटीसँग भने । परियार अघिल्लो निर्वाचनमा समानुपातिकतर्फबाट सांसद भएका थिए ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहको गृह जिल्ला नै काठमाडौँ हो । यसअघिका ३ निर्वाचनमा काठमाडौँ–१ बाट प्रत्यक्ष जितेका सिंह अहिले उम्मेदवार बन्न चाहे पनि विशेष महाधिवेशनबाट आएको कार्यसमितिले उनलाई टिकट दिएन । उनी काठमाडौँमै भए पनि चुनावी प्रचार–प्रसारमा हिँडेका छैनन् ।
उनको सचिवालयका अनुसार घरमा आएका उम्मेदवारलाई भेट्ने र जितको शुभकामना दिने गरे पनि सिंह चुनावी कार्यक्रममा सहभागी भएका छैनन् । कतै जाने कार्यक्रम पनि तय भइनसकेको उनी निकट एक नेताले जानकारी दिए ।

नवलपुर–१ बाट ०६४ पछि ०७९ सम्मका सबै निर्वाचन जित्दै आएका अर्का पूर्वमहामन्त्री डा. शशांक कोइराला पनि अहिलेसम्म चुनाव प्रचार प्रसारका लागि जिल्ला गएका छैनन् । उनी फागुन ४ गतेसम्म जिल्ला जाने कार्यक्रम नबनेको सचिवालयले जानकारी दिएको छ । त्यसपछि भने जिल्ला जाने सचिवालयका सदस्यहरू बताउँछन् ।
निर्वाचन जित्दै आएको नवपुलर–१ मा डा. कोइरालाले निर्वाचन लड्न चाहे पनि सभापति थापाले टिकट दिएका थिएनन् ।
त्यतिमात्र होइन, सोलुखुम्बुबाट निर्वाचन लड्दै आएका बलबहादुर केसी, रुपन्देही–३ बाट लड्दै आएका बालकृष्ण खाण, कञ्चनपुर–३ बाट लड्दै आएका रमेश लेखक, ओखलढुंगाबाट लड्दै आएका रामहरि खतिवडा, ०७९ को प्रतिनिधि सभामा महिलाबाट प्रत्यक्ष उम्मेदवार बनेर जितेकी एकमात्र महिला सिता गुरुङले पनि टिकट पाएनन् । लेखक गृहजिल्ला कञ्चनपुर पुगे पनि अरु नेताहरू काठमाडौँमै छन् ।
तत्कालीन महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनलाई निवर्तमान सभापति देउवा समूह र नेता डा. शेखर कोइराला समूहले स्विकारेका छैनन् । निर्वाचन आयोगले विशेष महाधिवेशन विधानविपरीत भन्दै उनीहरूले दिएको निवेदन अस्वीकार गर्दै मान्यता दिएपछि सर्वोच्चसम्म पुगेका छन् ।
माघ ४ गते उनीहरूले दिएको रिटमा सर्वोच्च अदालतका न्यायाधीश सुनिल पोखरेलको इजलासले माघ ६ गते निर्वाचन आयोगलाई १५ दिनभित्र लिखित जबाफ आफैँ उपस्थित भएर वा प्रतिनिधिमार्फत पेस गर्न भनेको छ । त्यो १५ दिन माघ २१ गते पुग्ने र त्यसपछि सर्वोच्च अदालतले के फैसला गर्छ, त्यसपछि मात्रै के गर्ने भन्ने निर्णय लिइने सो समूहका नेताहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण