बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
निर्वाचन तयारी

महोत्तरी–२ का मतदाता भन्छन्, ‘आश्वासन होइन समाधान चाहियो’

शुक्रबार, २३ माघ २०८२, ०७ : ५८
शुक्रबार, २३ माघ २०८२

सारांश

  • महोत्तरी क्षेत्र नम्बर २ का मतदाता आगामी निर्वाचनमा उम्मेदवारप्रति अन्योलमा छन्, किनभने उनीहरू ठोस योजना र काम गर्ने व्यक्तिलाई मात्रै मत दिन चाहन्छन्।
  • स्थानीय बासिन्दा नदी नियन्त्रण, बाटो निर्माण, र कृषि सुविधाको अभावबारे गुनासो गर्छन्, र उम्मेदवारहरूले चुनाव जितेपछि वाचा पूरा नगरेको आरोप लगाउँछन्।
  • यस क्षेत्रमा १५ राजनीतिक दल र २२ स्वतन्त्र गरी जम्मा ३७ जना उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमा लोकतान्त्रिक समाजवादी पार्टीका शरद सिंह भण्डारी पनि छन्।

जनकपुरधाम । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा महोत्तरी क्षेत्र नम्बर–२ का मतदाता अन्योलमा देखिएका छन् । एजेन्डा र प्रतिबद्धता लिएर उम्मेदवारहरू चोक–चोराहामा धाइरहे पनि मतदातामा उत्साह देखिँदैन । पटक–पटक आश्वासनमा मतदान गरेका मतदाता यसपटक भने भरपर्दो योजना र ठोस काम गर्ने उम्मेदवारलाई मात्र मत दिने सोचमा छन् ।

बलवा गाउँपालिका वनचौडीका ६० वर्षीय भोगी यादव भन्छन्, “हाम्रो गाउँमा नदीका कारण ठुलो समस्या छ । बर्खामा बाढी आउँदा बस्ती र खेत जोखिममा पर्छ। यसपालि त झन् जोखिम बढेको थियो, तर अहिलेसम्म नदीको बाँध व्यवस्थापन गरिएको छैन। जसले हाम्रो समस्या समाधान गर्छ, उसैलाई मत दिन्छौँ ।”उनले पटक–पटक जिताएका नेताप्रति असन्तुष्टि जनाउँदै भने, “चुनाव जितिसकेपछि भण्डारीजी फर्केर पनि आउँदैनन्। चुनावमा ठूला कुरा गर्छन्, पछि बिर्सन्छन् ।”

WhatsApp Image 2026-02-05 at 11.25.53
भोगी यादव

बदियाका प्रसाद शाह भन्छन्, “केही विकास भएको छैन । म अपाङ्ग हुँ, तर कुनै सेवा–सुविधा पाएको छैन। यसपालि जितेका उम्मेदवार हामीकहाँ कुन मुखले आउँछन्?” उनले चुनावमा गरिएका वाचा चुनावपछि बिर्सिने प्रवृत्ति रहेको बताए । “हामीले जितायौँ, उनीहरूले पद पाए, आफ्नालाई जागिर खुवाए। श्रम मन्त्री हुँदा कति बेरोजगारी समस्या समाधान भयो?” उनको प्रश्न छ ।

WhatsApp Image 2026-02-05 at 11.25.54
प्रसाद शाह

महोत्तरी गाउँपालिका गोडीगम्माका राम प्रवेश राउत विदेशबाट फर्केको एक महिना भएको बताउँदै भन्छन्, “यसपालि फेरि मत दिने मौका पाएको छु, तर अन्योलमा छु। अहिलेसम्म बाटो बनेको छैन। महोत्तरी वैदेशिक रोजगारीमा जाने जिल्लामध्ये अगाडि छ। विदेशमा युवाहरू समस्यामा पर्दा यी नेताले साथ दिएनन्, त्यसैले विश्वास गुमेको छ।” महोत्तरी–२ मा जनकपुरधामसँग जोडिने सडक खण्ड कालोपत्रे भए पनि गाउँ–गाउँमा नाला व्यवस्थापन नहुँदा वर्षाको पानी आँगनमै पस्ने समस्या रहेको स्थानीयको गुनासो छ। बाढीको पानीले बर्सेनि सताउने गरेको उनीहरू बताउँछन्।

WhatsApp Image 2026-02-05 at 11.25.54 (1)
राम प्रवेश राउत

बदियाका बिन्देश्वर पण्डित ४५ वर्षदेखि पुख्र्यौली पेशा माटोको भाँडा बनाउने काम गर्दै आएका छन्। उनी भन्छन्, “अहिलेसम्म कुनै मेसिन वा उपकरणको व्यवस्था गरिएको छैन । यो पेशा लोप हुँदैछ। मिथिला संस्कृतिको पहिचान बोकेको यो पेशालाई बचाइराखेको छु, तर व्यवसायीकरण हुन सकेन। चुनावमा वाचा गरे, सबै बिर्सिए ।”

WhatsApp Image 2026-02-05 at 11.25.55
बिन्देश्वर पण्डित

पडौलकी ५५ वर्षीया राम परिदेवी कुशल कृषक हुन्। उनी भन्छिन्, “खेतीका लागि विद्युत् पोल गाडिएको छ, तर जडान भएको छैन। सागसब्जी बेचेर परिवार पाल्दै आएका छौँ, खेती कसरी गर्ने?”महोत्तरी–२ खेतीमा अगाडि रहेको क्षेत्र हो, जहाँ खैनी, तरकारी, धान, गहुँ, दाल तथा दलहन उत्पादन धेरै मात्रामा हुन्छ।

WhatsApp Image 2026-02-05 at 11.25.55 (1)
राम परिदेवी

लोहरपट्टि नगरपालिकाका रोजाका सलिम मनसुरी भन्छन्, “हाम्रा मुस्लिम समुदायका आस्थाका केन्द्र रोजा मजार अहिलेसम्म व्यवस्थित छैनन्। चुनावमा व्यवस्थित गरिदिन्छौँ भन्छन्, तर अहिले पनि विवादमै छन्।”

नदी नियन्त्रणका लागि पक्की तटबन्ध, कुलो र नहरको व्यवस्था नहुँदा बर्सेनि समुदायहरू पीडित हुने गरेको भगवतीपुरका राकेश झा बताउँछन्। उनका अनुसार बर्खामा बाढी, कटान, डुबान र खानेपानीको समेत हाहाकार हुने गरेको छ । लोहरपट्टि निवासी कारी यादव भन्छन्, “सिँचाइ सुविधा, समयमा बिउ–बिजन र मलखाद, सुलभ कृषि ऋण र बाढीबाट जोगाउने पक्की बाँधको व्यवस्था जुन उम्मेदवारले विश्वास दिलाउँछ, उसैलाई हामी मत दिन्छौँ।”

भाङ्गहा नगरपालिका–१, २, ६, ७ र ८, बलवा नगरपालिका–११, लहरपट्टि नगरपालिका–९, महोत्तरी गाउँपालिका–६, औरही नगरपालिका–७, ८ र ९, पिपरा गाउँपालिका–६ तथा एकडारा गाउँपालिका–६ महोत्तरी क्षेत्र नम्बर–२ मा पर्छन्।

आसन्न निर्वाचनका लागि यहाँ १५ राजनीतिक दल र २२ स्वतन्त्र गरी जम्मा ३७ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। यस क्षेत्रमा १ लाख ७ हजार ५९४ मतदाता छन्। ६२ मतदान स्थलमा १३३ मतदान केन्द्रको व्यवस्था गरिएको छ । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीका शरद सिंह भण्डारीले २५ हजार १९० मत ल्याएर विजय हासिल गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी तराई–मधेस लोकतान्त्रिक पार्टीका विजय कुमार सिंह १४ हजार ७० मतान्तरले पराजित भएका थिए ।

भण्डारी २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य, २०५१ मा स्वतन्त्र उम्मेदवार र २०५६ मा कांग्रेसबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। २०६४ को संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमबाट महोत्तरी–४ बाट निर्वाचित भएका उनी २०७४ मा राजपाबाट महोत्तरी–२ बाट प्रतिनिधि सभा सदस्य बनेका थिए। २०४५ देखि हालसम्म राज्यमन्त्रीसहित १६ पटक मन्त्री भइसकेका भण्डारी यसपटक पनि प्रतिस्पर्धामा छन्।

यस क्षेत्रबाट जसपा नेपालका शरद सिंह भण्डारी, कांग्रेसका किरण यादव, नेपाल कम्युनिस्ट पार्टीका लक्ष्मणकुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका दीपक कुमार शाहसहित ३७ जना उम्मेदवार चुनावी मैदानमा छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नवीन प्रियदर्शी
नवीन प्रियदर्शी
लेखकबाट थप