जीवन्त सम्बन्ध : एक माइनर अपरेसन
सारांश
- डा. ओम मूर्ति अनिलको पुस्तक 'जीवन्त सम्बन्ध' ले जीवन र सम्बन्धका विविध पक्षलाई उजागर गरेको छ।
- पुस्तकमा जीवनका उतारचढाव, सम्बन्धको महत्व, र मृत्युका विषयमा लेखकका अनुभवहरू समावेश छन्।
- यस कृतिमा पारिवारिक प्रेम, सामाजिक सम्बन्ध, र युवा पलायनका समस्याहरूलाई समेत उठाइएको छ।
चर्चित मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ पुस्तक पढेँ । आजसम्म पढेका धेरै राम्रा पुस्तकहरूमध्ये यसलाई पहिलो स्थानमा राख्न सक्छु । यो पुस्तक पढ्दै गर्दा कहिले लेखकको ठाउँमा आफै उभिएर भावुक भएँ, कहिले आँसु खसे । कहिले आँखाको डिलमा टिल्पिलिए ।
बालापनदेखि यौवनसम्मका विगतका दिनहरूमा पुगेर रूमलिएँ । कतै खुसी त कतै निराश भएँ । कतै अपसोच र आत्मग्लानिका भावहरूले आफूलाई घेरे । आफूले जीवनमा धेरै जिम्मेवारी र कर्तव्यहरू पूरा गर्न नसकेको, जीवनको लक्ष्यअनुरूपको गन्तव्य नदेखेको महसुस गरेँ । कतिपय आफ्ना अस्पष्ट विचारका पर्दाहरू यस पुस्तकका शब्दपंक्ति र हरफहरूले च्यातिदिए । कतिपय कक्रिएका विचारहरूले राम्रै मलजल पनि पाए ।
हुन त हरेक मान्छेको जीवन आफैमा अलिखित उपन्यास हुन सक्छ । कसैको दैनिकी, कसैको यात्रा र कसैको सामान्य जीवन भोगाइ एवम् अरोहअवरोह र संघर्षका कथाहरू पनि अरूका लागि प्रेरणादायी हुने गर्दछन् । पठनीय र मननीय हुन सक्छन् । जन्म, प्रेम, विवाह, देशकाल परिवेशले जोडिएका सम्बन्ध र तिनीहरूको आयु–मजबुती, प्रभाव र असरलाई व्यक्तिगत जीवनको आँखीझ्यालबाट कैद गरेर पाठकसामु पठनीय र मननीय तरिकाले प्रस्तुत गर्नु पनि एउटा कला नै हो । पेसाले डाक्टर भएर पनि एउटा सबल सफल साहित्यकारको रूपमा सरल भाषाशैली, सान्दर्भिक विषय र गहन भावसन्देशलाई मिसाएर बनाइएको यो परिकार निकै स्वादिष्ट छ, उस्तै स्वस्थकर पनि ।
चिकित्साशास्त्रमा विशेषज्ञता हासिल गरेको व्यक्तिले पनि विज्ञान र अध्यात्मसँग जोडेर विज्ञान प्रविधिमा लीन भएर दिनानुदिन व्यक्तिवादी, भोगवादी र भौतिक बनिरहेको वर्तमान विश्व परिवेशलाई नजरअन्दाज गर्दै जीवनमा आत्मा, अध्यात्म, ज्योतिष, भाग्य, भविष्य, मन, मस्तिष्क, रीति, संस्कार, समाज र परिवार, कर्तव्य र दायित्व, भावना र वास्तविकताको रंगहरूले सिर्जना गरिएको एउटा कलात्मक चित्रको रूपमा यस कृतिलाई हेर्न सकिन्छ ।
एउटा पिताको सन्तानप्रतिको त्याग र एउटा कर्तव्यवान् छोराको पिताप्रतिको समर्पण नै यस पुस्तकको आरम्भविन्दु भएता पनि यसमा वर्तमान आम मानिसका कतिपय गलत बुझाइ र धारणाहरूको चिरफार र उपचार गर्ने प्रयत्न समेत गरिएको छ । सुख, खुसी र सम्बन्धका विविध आयामहरू केलाउँदै पारिवारिक प्रेम र सम्बन्धलाई जीवन्त बनाउनुपर्ने कुरालाई यस कृतिले जोड दिएको पाइन्छ ।
जन्मपछि मृत्यु शाश्वत छ, अकाट्य छ । बाँच्नलाई उपयोग गरिएका उपचार प्रविधिले पनि सधैँ सबैलाई बचाउन सक्दैन । सास रहुन्जेल आस हुन्छ नै । मान्छेले नसके भगवान्को सामु पुकार गरिन्छ । आफ्नो बाबुको जीवनको औसत आयु नापिसकेको डाक्टरले पनि मृत्युशय्यामा छटपटाइरहेका बुबाको जीवन रक्षा गर्ने भगीरथ प्रयत्न गरेको र त्यसमा आफू असफल भएको एक पराजित डाक्टरको रूपमा ग्लानिभाव रहेको कुरा पनि यसमा देखिन्छ । तैपनि आफूले बुबाको उपचारमा कुनै कमी हुन नदिएको तथ्य प्रस्तुत गर्दै मृत्युका अगाडि केही नचल्ने शाश्वत सत्य स्वीकार्नुको विकल्प नभएको रहस्योद्घाटन पनि पाइन्छ ।
पुस्तकमा व्यक्तिका मनोवैज्ञानिक पक्षहरूलाई समेत केलाउने प्रयास गरेको देखिन्छ । व्यक्तिमा मानसिक पीडा एवम् कुण्ठाहरू भरिएर गम्भीर स्वास्थ्य समस्यामा पुग्न सक्ने खतराको खुलासा गर्दै रुवाइ र पीडा पोखाइको विषयमा रासायनिक, वैज्ञानिक एवम् भावनात्मक तथ्यहरू प्रस्तुत भएको पाइन्छ । कृतिकारकै पंक्तिमा –
‘रुँदा उत्पन्न हुने रसायनले शारीरिक रूपमा मात्रै होइन, मानसिक र भावनात्मक रूपमा पनि फाइदा पु¥याउने गर्छ । त्यसैले आफ्ना भावनालाई दबाएर राख्नुको सट्टा व्यक्त हुन दिनु महत्त्वपूर्ण हुन्छ । प्रकृतिले प्राणीलाई दुःख दिन्छ र त्यो दुःख मोचन गर्ने उपाय पनि सँगसँगै दिएको छ । अर्थात् रुने क्रिया प्राणीले आफ्नो पीडा अभिव्यक्त गर्ने प्राथमिक माध्यम हो । यसले पीडा न्यूनीकरण गर्न मलमपट्टिको काम गर्दछ । तर कतिपय सन्दर्भमा रुँदा, विलाप गर्नुलाई समाजमा राम्रो मानिँदैन । यसको कारण रुँदा मानव शरीरमा हुने फाइदाबारे थाहा नभएर पनि हुन सक्छ ।
मानिसलाई कहिलेकाहीँ रुन पनि दिनुपर्छ ।
डाँको छोडेर रुँदा मन हल्का हुन्छ । मनभित्र गुम्सिएको पीडा त्यहाँ अभिव्यक्त हुन्छ ।’
रुनाका केही फाइदासँगै संकट वा संघर्षको बेलामा रोएर आफूलाई कमजोर बनाउनुभन्दा धैर्यधारण गर्न एवम् आत्मबल बलियो राख्न प्रेरित गर्नुपर्ने कुरालाई यसरी प्रस्तुत गरिएको छ –
‘जस्तोसुकै अवस्थामा पनि मानिसले हार मान्नु हुँदैन । अन्तिम समयसम्म प्रयास जारी राख्नुपर्छ, यसको अर्थ रुने हुँदैन भन्ने हो ।’
कुनै पनि आत्मीय व्यक्तिको मृत्यु वा वियोगपछि मनसपटलमा फिलिमका दृश्यझैँ घुम्ने दृश्य–परिदृश्यलाई कृतिकारले आफ्ना बुबाको मृत्युबाट मनमा उब्जिएका भावनाहरू निकै मार्मिक ढंगले प्रस्तुत गर्दछन् । एक्लोपनले मानसिक समस्या उत्पन्न गर्नेभन्दा पनि उनलाई आफूले आत्मबोधको बाटोमा डो¥याउन सफल भएकोमा आत्मसन्तुष्टिको भाव पनि देखिन्छ । ‘मेरो अन्तर्मनको मन्थनले उत्पन्न एक्लोपन र जीवनबोधको कारण मलाई बुबासँगको बिछोडबाट भावविह्वल नहुने शक्ति प्राप्त भएको छ ।’ भन्दै जीवनबोधबाट वियोगको पीडा भुल्ने प्रयत्न गरेको बताउँछन् । यसैगरी कुनै सम्बन्धलाई यसरी पनि प्रस्तुत गरेको देखिन्छ –
‘सम्बन्ध त जीवन जिउने माध्यम मात्रै हो ।
सम्बन्धहरू बादलजस्तै हुन्छन् । कुनै बाक्लो त कुनै पातलो, कुनै क्षणिक त कुनै दीर्घकालीन । ती बादलरूपी सम्बन्धले जीवनभरि हामीलाई घेरेर बस्दैनन् । धेरै सम्बन्धले टाढाबाट मात्रै हेरेर बस्छन् । बादलको क्षमता एक सतहसम्म आउन सक्ने मात्रै हुन्छ । बादलको पनि आफ्नो सीमा हुन्छ । टाढैबाट आकाश ढाक्छ, धर्तीलाई अवलोकन गर्छ । कुनै–कुनै बादलले पानी बनेर हामीलाई स्पर्श गर्छन्, हाम्रो जीवनलाई शीतलता प्रदान गर्छ ।’
बुबाको उपचारको शृङ्खला तथा विगतका विविध यादगार क्षण एवम् घटनाहरूमा प्रासंगिक भएर लेखकले अभिव्यक्त गरेका भावना र विचारहरू आजको समाज र पुस्ताका लागि मननीय छन् । आफ्ना विचारहरूको सफल अभिव्यक्तिका लागि आफ्ना बाबुले भन्ने गरेका रामायण, महाभारत र भगवद्गीताका उक्ति र श्लोकहरूका साथै समाजमा प्रचलित लोकोक्ति, उखानहरू, नेपाली हिन्दी गीत संगीत र डाइलगहरूको सान्दर्भिक प्रयोगले विचारलाई अझ सशक्त बनाएको देखिन्छ । समाजका कतिपय रीति र मान्यताहरूको औचित्यमा प्रश्न गरिएको छ । मृत्युपछिका भड्किला भोजभतेर र दानदक्षिणाका कुराहरूको खासै अर्थ नहुने कुरा उल्लेख गरिन्छ भने सन्तानको भविष्यको लागि भनेर धनसम्पत्ति थुपार्नमा जोड दिने तर सन्तानको चरित्र निर्माणमा खासै ध्यान नदिने बाबुआमा अनि बाबुआमाको खुसीका लागि पैसा र सुविधाका साधन जुटाइदिएमा आफ्नो दायित्व पूरा भएको सम्झने छोराछोरीको साझा गलत धारणालाई कटाक्ष गर्न खोजिएको छ ।
आफूमा आर्थिक सबलता छ, अस्पतालमा पहुँच छ भनेर राम्रो होसहवासमा अस्पताल भर्ना गराएका आफ्नै छोरा तथा डाक्टरले उपचार गर्दागर्दै बुबा मृत्युशय्यामा पुगेको अवस्थाले सोचमग्न बनाउँछ । यसो गर्नुको सट्टा डाक्टरहरूको परामर्शमा बाबुका अन्तिम इच्छा के–के थिए? सोधेर आफ्नै घरमा बुबाले मृत्युवरण गर्न पाएको भए ठीक हुन्थ्यो जस्तो लाग्छ । उनी आफ्नो आत्मग्लानि यसरी प्रस्तुत गर्छन् –
‘यस कुराले मलाई आजसम्म सताइरहेको छ ।
हुन त बुबाको उपचारमा अहोरात्र खटिनु मेरो स्वार्थ नभएर कर्तव्य थियो तर एक समयपछि हामी परिवारजनले यो पनि सोच्नुपर्छ– ‘हाम्रा आफन्त बिरामीले वास्तवमा के चाहन्छन्? लामो दुःखले भरिएको जीवन वा छोटो समयमा मृत्युसँग सहज आलिंगन?’ यस्तो निर्णय आफन्तले मात्र गरिदिँदा सायद बिरामीमाथि अन्याय पनि हुन सक्छ ।’
पुस्तकमा एउटा डाक्टरले समेत कतिपय मान्छेमा आफ्नो मृत्युको पूर्वाभास हुनसक्ने रहस्यलाई इङ्गित गर्दै आफ्ना बाबुले अन्तिमपटक गाउँका मान्छेहरूप्रति देखाएको फरक बोली–व्यवहारले उहाँको मृत्युको पहिल्यै संकेत हो भन्ने कुरा अनुमान गरेको स्वीकार्छन् । स्वामी विवेकानन्द र अब्राहम लिङ्कनले समेत त्यस्तो पूर्वाभासको कुरा गरेको प्रसंग उल्लेख गर्छन् ।
झट्ट हेर्दा अपवाद र बेतुको जस्तो लाग्ने मृत्युको योजनासम्बन्धी चर्चा समेत यस पुस्तकमा रोचक तरिकाले प्रस्तुत भएको देखिन्छ । जीवनमा विवाह, सन्तान, शिक्षा, पेसा, करियर, बसाइ आदिको योजना जस्तै मृत्युको पनि योजना हुनुपर्ने कुरालाई गम्भीर रूपले प्रस्तुत भएको छ । आजभोलि निम्न वर्गका भन्दा पनि उच्च मध्यम वर्गका अधिकांश मानिसहरू अस्पतालमा मृत्युवरण गर्छन् तर प्रायजसो मान्छेहरू आफ्नै परिवारको काखमा आफ्नै घर वा बासस्थानमा देहत्याग गर्न चाहन्छन् । त्यसैले आफ्ना परिवारले उपचारको नाममा मृतकका कुनै अन्तिम इच्छा, सपना र चाहनाहरू थिए कि भन्ने कुराको पनि हेक्का राख्नु उचित हुने कुरा औंल्याएको देखिन्छ । जीवन र मृत्युको यो रहस्यलाई बुझेका महापुरुषले आफ्नो मृत्युको योजना बनाएर पूरा गरेको कुरा विभिन्न ग्रन्थ र धार्मिक पुस्तकहरूमा पाइन्छ । गौतम बुद्धको महापरिनिर्वाण, स्वामी विवेकानन्दको समाधि, सरयू नदीमा श्रीरामको जलसमाधि, जङ्गलमा श्रीकृष्णको मृत्युवरण, पाण्डवको हिमालय यात्रा र स्वर्गारोहण आदिको सान्दर्भिक उदाहरण प्रस्तुत गर्दै जीवनका हरेक योजनाहरू जस्तै शान्त र अपेक्षित मृत्युको योजना बनाउन सक्नुपर्ने र परिवार र आफन्तले त्यसलाई पूरा गर्न सघाउनुपर्ने एक दार्शनिक दृष्टिकोण पेश भएको पाइन्छ । थाइल्यान्डका एक भिक्षुले ध्यानका माध्यमबाट समाधि लिएको एक इच्छामृत्युको चर्चा गर्दै मृत्युको योजना बारेमा थप स्पष्ट पार्न चाहन्छन् –
‘समाधि लिनु वा जीवन अन्त्यको योजना बनाउनुको अर्थ मृत्युलाई शान्तिपूर्वक अँगालो हाल्नु हो ।
मृत्युको समयमा हतार गर्नु, अझ बाँच्ने इच्छा हुनु, केही कुरा अधुरो वा गर्न सकिएन भनेर असन्तुष्ट हुनु, कुनै कुराको मनमा दोष वा पश्चात्ताप हुनु आदि कारणले गर्दा मानिसको अशान्त मृत्यु हुन्छ ।’
बिरामीबाहेक अरू सबैलाई बिरामीको सम्भावित आयु थाहा भएको अवस्थामा अन्तिम समयसम्म पनि बिरामीलाई वास्तविकता नबताउने र बिरामीले थाहा नपाउने अवस्था जताततै त्यस्तै देखिन्छ तर के यो नै जायज हो भन्ने विषयमा खासै चर्चा हुँदैन । यही स्थिति लेखकले आफ्ना परिवारमा बुबाको उपचार र मृत्युको क्रममा भएको पाइन्छ । कुनै घटना घटिसकेपछि नै आफ्नो भूमिका कम वा बढी भएको थाहा हुन्छ, त्यस्तो बेला के गर्दा राम्रो हुने, के गर्नै नहुने ज्ञान पछि मात्रै आउनु तर त्यसले पश्चात्तापबाहेक केही काम नगर्ने कुरालाई समेत औंल्याउन खोजिएको छ । मृत्युको योजना सम्बन्धी केही पंक्तिहरू मननयोग्य छन् –
‘दीर्घरोगले पीडित रोगी र विशेष गरी वृद्धवृद्धाका सन्दर्भमा मेडिकल उपचारले निको नहुने र केही समयका लागि कष्टकर जीवन मात्रै लम्ब्याउने अवस्था सिर्जना भएमा घरपरिवारका सदस्यले गम्भीरतापूर्वक बिरामीको आगामी योजना बारेमा छलफल गर्न सक्नुपर्छ ।
यसमा बिरामीको इच्छा र आकांक्षालाई बुझेर निर्णय लिनु उचित हुन्छ । रोगको जटिलता, सम्भावित आयु, ‘क्वालिटी अफ लाइफ’लाई आर्थिक, पारिवारिक, आध्यात्मिक वा व्यावहारिक पाटोसँग जोडेर योजना बनाउनुपर्दछ ।
यसमा हिन्दी चलचित्र ‘आनन्द’मा राजेश खन्नाको चर्चित डाइलग–मोसाई, जिन्दगी बडी होनी चाहिए, लम्बी नहीं’ले अझै धेरैको सोचलाई प्रभावित गर्ने गरेको छ ।’
सन्तानका लागि आमाबुबाको अपार माया, स्नेहलाई विभिन्न सन्दर्भमा प्रयोग गर्दै त्यसलाई बेवास्ता गरेर उदासीन भएका छोराछोरीहरूप्रति गम्भीर प्रश्न गरेका लेखकले बाबुआमा र सन्तानबीचको भावनात्मक दूरी बढ्नुका कारण खोतल्न चाहन्छन् । आईसीयूको बेडबाट सानोमा जस्तै प्रेमपूर्ण बुबाको हेराइको स्मरण गर्दै बाबुआमाको सन्तानप्रतिको निस्वार्थ प्रेम कति हुन्छ भन्ने कुरा तलका केही पंक्तिहरूबाट सजिलै अन्दाज गर्न सकिन्छ –
‘अर्धचेत अवस्थामै पनि आफ्नो पीडा बिर्सिएर आमाबुबाले सन्तानलाई सहानुभूति दिन खोज्छन् ।
...जब बुबाआमाको उमेर ढल्कँदै जान्छ, उहाँहरूको जीवनको एक मात्र चाहना छोराछोरीको प्रगति, सफलता र उपलब्धिको साक्षी बन्ने हुन्छ । छोराछोरीको क्षमता वृद्धि र वृत्ति विकास भएको हेर्नेबाहेक उहाँहरूको अरू कुनै चाहना हुँदैन ।
....आमाबुबासँग सदैव सन्तानलाई दिनका लागि केही न केही हुन्छ तर अधिकांश सन्तानलाई त्यस्तो लाग्दैन । उनीहरूलाई यी वृद्ध बुबाआमासँग मलाई दिन के नै पो छ र भन्ने लाग्छ ।
....आमाबुबासँग सैद्धान्तिक तथा प्राविधिक ज्ञान कम हुन सक्छ तर उहाँहरूसँग भएको व्यावहारिक, पारिवारिक र सामाजिक ज्ञान र अनुभव नै आफ्ना सन्तानका लागि पर्याप्त हुन्छ, जुन प्रत्येक सन्तानका लागि जीवनको जुनसुकै कालखण्डमा पनि उपयोगी साबित हुन सक्छ ।
....वृद्ध आमाबुबासँग बस्दा र कुराकानी मात्रै गर्दा पनि हामी धेरै कुरा सिक्न सक्छौँ जुन सिकाइ हामीले महँगा विश्वविद्यालयबाट पनि प्राप्त गर्न सकेका हुँदैनौँ ।
....कुनै पनि मानिस कसैसँग हार्न चाहँदैन तर बाबुआमा आफ्ना छोराछोरीले आफूहरूलाई जितेको हेर्न चाहन्छन् ।’
‘जीवन्त सम्बन्ध’ पुस्तक हरेक साना नानीबाबुहरूका लागि एउटा पौष्टिक आहार जस्तै छ भने अभिभावकका लागि पनि उत्तिकै लाभदायक देखिन्छ । हरेक बालबालिकामा किताबी ज्ञानका साथै, व्यावहारिक ज्ञान, नैतिक आचरण, पारिवारिक सामाजिक सम्बन्धको ज्ञान, प्रेम, सहयोग र सद्भाव जस्ता भावनाको विकास हुनुपर्ने र त्यसका लागि बाबुआमा तथा परिवारले असल अभिभावकीय भूमिका निभाउनुपर्ने कुरामा जोड दिइएको छ । बालबालिकाका लागि प्रथम विद्यालय आफ्नै घर हो ।
सर्वश्रेष्ठ शिक्षक मातापिता हुन्, उत्तम किताब परिवार र समाज हो भन्दै अभिभावकको सामीप्यता र परिवारजनको निगरानीमा हुर्केको बालकको भविष्य राम्रो हुने कुराको संकेत गरेको पाइन्छ । बालबालिकालाई स्याबासी र प्रशंसाको माध्यमबाट सकारात्मक कार्यमा अभिप्रेरित गर्न र उत्साहित बनाउन सकिन्छ भन्ने बालमनोवैज्ञानिक पक्षको पनि उद्घाटन गरिएको छ । असभ्य पारिवारिक वातावरण र बाबुआमाको कुलतले बालबालिकाको भविष्य संकटमा पर्न सक्ने हुँदा अभिभावकहरू यस्ता कुरामा सदैव सचेत हुनुपर्ने कुरामा जोड दिइएको छ । लेखकले संस्कारको पुस्तान्तरण र सीपको हस्तान्तरण हुनुपर्ने भन्दै भौतिक सम्पत्तिको जोहो गरिदिनुभन्दा पनि राम्रो संस्कार र जीवनोपयोगी सीपहरू सन्तानलाई दिन सके उनीहरू अझ जिम्मेवार र आत्मनिर्भर बन्ने कुरामा जोड दिएको पाइन्छ ।
‘जीवन्त सम्बन्ध’ पुस्तकले जीवन र सम्बन्धका अनेक आयामहरूको खोजी गरेको छ । रगतको सम्बन्धलाई भौतिक दूरीले पनि टुटाउन नसक्ने शक्ति हुने कुरा उल्लेख गर्दै कुनै घटना विशेषले सम्बन्धमा दरार आए पनि केही समयमा हटेर जानसक्ने एउटा बलियो सम्बन्धका रूपमा दर्शाइएको छ । रगतको सम्बन्ध जस्तै पारिवारिक र सामाजिक सम्बन्धले व्यक्तिको मनोवृत्तिलाई सशक्त रूपमा प्रभावित पारेको कुरा उल्लेख गर्दै सामाजिक सम्बन्धमा भावनात्मक सम्बन्धलाई रगतको सम्बन्धभन्दा उच्च कोटिको अर्थात् सर्वोत्तम सम्बन्ध भनिएको छ ।
भौतिक सामीप्यता, वातावरण र मस्तिष्कले सम्बन्धमा पार्ने प्रभावहरूको निक्र्यौल गर्दै स्तनपान गर्दा, स्याहारसुसार गर्दा र एक अर्कासँग गुणस्तरीय समय बिताउँदा सम्बन्धमा सकारात्मक प्रभाव पार्ने कुरामा जोड दिइएको छ । यसलाई पैसाले किन्नै नसकिने र कहिलेकाहीँ भावनात्मक सम्बन्धले पनि जीवनमा ठूलो आनन्द र सन्तुष्टि प्रदान गर्ने कुरा उल्लेख गरिएको छ ।
भावनाबाट निर्देशित व्यक्ति यान्त्रिक हुँदैन । यदि व्यवहारमा भावनाको सही मात्रा मिलाउन सक्ने हो भने मानव जीवन साँच्चै सुन्दर हुन्छ भनिएको छ । बाबुले छोरालाई भन्दा पनि छोरीलाई अझ बढी र छुट्टै खालको माया गर्ने रहस्यलाई समेत यस पुस्तकमा उद्घाटन गर्दै प्रचलित लोककथन प्रस्तुत गरिएको छ, ‘छोरीका लागि आफ्नो पिताभन्दा ठुलो र आदरणीय पुरुष अरू कोही हुँदैन । त्यस्तै पिताका लागि पनि छोरीभन्दा मायालु र प्रिय अरू हुँदैन भन्ने लाग्छ ।’
लेखकले आफ्नो प्रेमसम्बन्ध र विवाहको चर्चा गर्दै जात, धर्म, भाषा, भूगोल, संस्कार आदिले अनमेल प्रेमसम्बन्धलाई पनि सुझबुझपूर्ण रूपले वैवाहिक सम्बन्धमा जोड्न सफल भएको एउटा उदाहरण पेस गरेका छन् । एकोहोरो प्रेमका नाममा सम्बन्ध, परिवार, समाजलाई बेवास्ता गर्दा आउन सक्ने आकस्मिक र दीर्घकालीन खतराको संकेत पनि गरेका छन् । प्रेमएकै सन्दर्भमा साँचो प्रेम कुनै परिस्थितिमा असफल हुन सक्दैन ।
विवाह मात्रै प्रेमको सफलता र असफलतालाई मापन गर्ने तरिका नहुन सक्छ । इतिहासका विभिन्न कालखण्डका चर्चित प्रेम कहानीमध्ये अधिकांश त बिछोडकै कारण अमर भएका छैनन् र? राधा–कृष्ण, मीरा–मोहन, रोमियो–जुलियट आदि ।
आखिर माया भनेको त त्यागकै अर्को नाम होइन र ?
‘जुन दिन छोराको बिहे हुन्छ र बुहारी घरमा आउँछिन्, छोराको स्नेह मातापितामा भन्दा बढी बुहारीसँग हुनेछ ।’
छोरा–बुहारीको बीचमा वैवाहिक सम्बन्ध राम्रो हुनु भनेको आमाबाबुलाई गर्ने व्यवहार बदलिनु हो भन्ने आम धारणालाई यसले चिर्ने प्रयास गरेको छ । आखिरमा सबैले आफ्नो दायित्वबाट पछि नहट्ने अनि एकअर्काको भावना बुझेर अघि बढ्न सके बिहे अघि र पछिको सम्बन्धमा कुनै समस्या नआउने जिकिर गर्दै सासू–ससुरालाई मातापिताको दर्जा र सम्मान दिने अनि बुहारीलाई पनि छोरीसरह मायालु वातावरणमा घुलमिल बनाउन सके कुनै पनि परिवारमा त्यस खालको गुनासो बाँकी नरहने बताउँछन् । हुन त लेखककै शब्दमा भन्नुपर्दा, ‘समाजले बुहारीबाट अलिक चाँडो, अलि बढी र अलि अस्वाभाविक अपेक्षा गरेको हुन्छ ।’
आमाबाबुसँग पहिलाकै जस्तो सुमधुर सम्बन्ध कायम राख्न छोराको भूमिका प्रमुख हुन्छ भन्ने कुरालाई लेखकले यसरी अभिव्यक्त गर्छन्, ‘कुनै नाता सम्बन्ध नभए पनि मर्यादित पुरुषले आफ्नो व्यवहारद्वारा अरूको चित्त दुखाउने चेष्टा गर्दैन । अझ पुत्रले मातापितालाई दुर्वाच्य प्रयोग गर्ने तथा दुव्र्यवहार गर्ने परिकल्पनासमेत गर्न सकिँदैन ।’ यसैगरी मातापितालाई धेरै माया गर्ने केटाले पत्नीलाई पनि धेरै माया गर्दछ । पत्नीलाई माया गर्दैमा आमाबाबुलाई अपहेलना गर्छ भन्ने कुराको सामान्यीकरण गर्न नहुने तर्क गर्छन् ।
‘जीवन्त सम्बन्ध’ आख्यानले औंल्याउन खोजेको अर्को पाटो युवा पलायन बढ्दै जाने र बुढाबुढीहरू बुढेसकालमा उराठलाग्दो बेसहारा एक्लो जिन्दगीमा पिल्सिनुपर्ने विकराल समस्याको पहिचान गर्दै आफू जुन उद्देश्यले विदेश गएको हो, त्यो उद्देश्य पूरा भएपछि थप लोभ नगरी स्वदेशमा आएर समाजमा योगदान दिनु नै उत्तम कार्य हो भनेका छन् ।
बाध्यतावश रोजगारीका लागि विदेशिनु त स्वाभाविक हो तर नेपालमा आर्थिक रूपमा सम्पन्न परिवारका सदस्यहरू समेत विदेशमै भासिनु उचित नभएको तर्क गर्छन् । बाबुआमाले आफ्ना छोराछोरीलाई राम्रो देश पठाउन पाए सबै कुरा राम्रो हुन्थ्यो भन्ने सोच पनि आफ्नै खुट्टामा बन्चरो जस्तै भएको तर्क दिँदै सेटलमेन्टको नाममा कतिपय मानिस नेपालमा भएको आफ्नो सम्पत्ति बेचेर विदेशमा विलासी जीवनशैली रोजेको कुरालाई इंगित गर्दै यस्तो प्रवृत्तिलाई समाज र परिवारले निरुत्साहित गर्नुपर्ने कुरा दर्शाएका छन् ।
लेखकले आफू युवा अवस्थामै आफ्ना पिताको माध्यमबाट मानिसको वृद्धावस्थाको मनोविज्ञानको समेत अध्ययन र मनन गरेको पाइन्छ । अधिकांश छोराछोरीको सपना आफू ठूलो भएर धनसम्पत्ति कमाउने र आमाबाबुलाई सुख दिने भन्ने हुन्छ । सुख भनेकै विलासिता अर्थात् भौतिक उपलब्धि हो भन्ने आम बुझाइ रहेको तर बाबुआमाले जीवनको उत्तरार्धमा विलासिता र भौतिक सुखभन्दा पनि सन्तानसँगको सामीप्यता चाहने, धेरै प्रकारका स्वादिष्ट व्यञ्जनभन्दा पनि आदरका साथ पस्किएको सामान्य भोजन नै पर्याप्त हुने, आकर्षक र महँगा लत्ता कपडाको आकांक्षाभन्दा, सम्मानले बोलिने दुई नरम शब्दको अपेक्षा हुन्छ भन्ने विचार पेस गरेका छन् ।
यसैगरी ‘बिरामी पर्दा बुबाआमाहरूले महँगो अस्पतालको क्याबिनमा उपचार गराउन खोज्नुहुन्न, उहाँहरू त केवल शरीर रोगी भएका बेला आफ्ना सन्तानले लौराको रूप धारण गरी सहारा दिएको देख्न चाहनुहुन्छ । जीवनको अन्तिम समयमा आमाबुबालाई अन्तिम इच्छा के छ भनेर सोध्दा सन्तानको हात समातेर अन्तिम सास लिने चाहना व्यक्त गर्नुहुन्छ ।’ भन्दै बुढेसकालका बाबुआमाको मनोभावना बुझ्ने प्रयास सन्तानहरूले गर्नुपर्ने कुरा औंल्याएका छन् । कतिपय साना–तिना कुरा र भनाइले पनि बुबाआमाको मनमा चोट पुग्ने हुँदा धेरै कुराहरू विचार गरेर बोल्नुपर्ने कुरामा सजग गराउँदै सन्तानले बुबाआमालाई आफूसँग राख्नु सन्तानको खुसी र सन्तुष्टिका लागि हो तर अधिकांशले यसलाई उल्टो बुझेर मैले बुबाआमालाई सँगै राखेको छु भन्ने गरेका कुराप्रति व्यङ्ग्य भाव समेत प्रस्तुत गरेका छन् ।
‘जीवन्त सम्बन्ध’ आत्मकथाको अन्त्यभागतिर लेखकले ‘यो कथा म एक्लैको होइन, सबै छोराछोरी र सबै बुबाआमाको साझा कथा हो । हरेक बुबा आफ्ना सन्तानका निम्ति महान् हुन्छन् । बुबाको कद आकाशभन्दा अग्लो हुन्छ भन्ने कुरा हामीले धेरैपटक पढेका तथा सुनेका छौँ तर मानिसले त्यसको मर्म त्यति बेला मात्रै बुझ्छ, जब ऊ आफैँ बुबा बन्छ । बुबाको मृत्युपछि त्यस विषयको महत्त्व अझै बढ्दो रहेछ । हरेक बुबाआमाले आफ्ना सन्तानको खुसीमा आफ्नो खुसी देख्छन् । सन्तानमा नै आफ्नो भविष्य देख्छन् । आफूले प्राप्त गर्न नसकेका उपलब्धि छोराछोरीको माध्यमबाट प्राप्त गरी खुसी हुन चाहन्छन् ।’ भन्दै स्वर्गीय बुबाप्रतिको समर्पण भाव लिपिवद्ध गर्नुमात्र नभई आम मानिसका समसामयिक भावनाहरू समेटिएको जिकिर गर्छन् । यो केवल एकालापपूर्ण आत्मवृत्तान्त वा निजी विचारहरूको प्रस्तुति मात्र नभई हरेक उमेर–अवस्थाका पाठकका लागि पठनीय र मननीय एक सशक्त आख्यान बन्न पुगेको छ ।
यस आत्मआलोचना र आत्मसंघर्षको कथाले पुरानो पुस्तालाई सान्त्वना र नयाँ पिँढीलाई मार्गदर्शन गर्ने कुरामा आशावादी देखिन्छ । यसले मानवीय सम्बन्धमात्रै होइन तराईदेखि पहाड र उपत्यकाको भूगोल, भाषा, भेष, संस्कार, मूल्य र मान्यता आदि सबैलाई भावनात्मक रूपले जोड्ने एउटा सेतुको काम गरेको छ । विज्ञान र चिकित्साक्षेत्रमा ज्ञान र अनुभव भएका लेखकले भौतिक सुख सुविधा भन्दा पनि असल संस्कार, विचारहरूको निर्माण एवम् सुमधुर पारिवारिक सामाजिक सम्बन्धले जीवनलाई सफल बनाउन सक्ने गूढ रहस्यलाई आत्मकथाको माध्यमबाट पाठकसामु पु¥याउनु एउटा जादुमय कला नै मान्न सकिन्छ ।
मेडिकल भाषामा कुनै रोग वा निदानका लागि अपरेसन (शल्यक्रिया) हुन सक्छ । खासमा यस पुस्तकभित्रका समस्याभन्दा पनि यसले आम मानिसका कतिपय सोच, बोली, व्यवहार, विचार र मान्यतामा देखिएका समस्या र तिनको सुधार र उपचारको लागि चिरफार गर्ने प्रयास गरेको देखिन्छ । यसर्थ ‘जीवन्त सम्बन्ध’ एक माइनर अपरेशन भन्दा अत्युक्ति नहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण