शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रास्वपाबारे प्रचण्ड, ‘जितेको ठाउँमा जनमत खस्केको छ, नयाँ ठाउँमा भ्रम छर्दैछन्’

मङ्गलबार, २७ माघ २०८२, ११ : २९
मङ्गलबार, २७ माघ २०८२

सारांश

  • प्रचण्डले रास्वपाको सामाजिक सञ्जालको प्रचार अनुसार चुनावी मैदानमा प्रभाव नदेखिएको बताए ।
  • उनले पहिले जितेको ठाउँमा जनमत खस्किएको र नयाँ ठाउँमा भ्रम छरेको आरोप लगाए ।
  • प्रचण्डले पार्टीका नेता तथा कार्यकर्तालाई चुनौतीपूर्ण अवसर प्राप्त भएको भन्दै युद्धस्तरमा काम गर्न निर्देशन दिए ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाको सामाजिक सञ्जालमा जति प्रचारबाजी भएको सोही अनुसार चुनावी मैदानमा प्रभाव नदेखिएको बताएका छन् । काठमाडौँमा मंगलबार भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले पहिले जितेको ठाउँमा जनमत खस्किएको जिकिर गरे । 

अहिले नयाँ ठाउँमा भ्रम छरेर प्रभाव जमाउन खोजेको उनले आरोप लगाए ।  ‘अहिले सोसियल मिडियाबाट भएको प्रचारबाजी अनुसार फिल्डमा छैन । सोसियल मिडियावाला स्टन्टवाला भन्ने गरेका छौँ हामीले । पहिला जहाँ जिते त्यहाँ उनीहरूको ओरालो छ । उपत्यकामै हेर्नुभयो भने उनीहरूको अहिले छैन’, उनले भने, ‘नयाँ नयाँ ठाउँमा भ्रम दिन सजिलो हुँदो रहेछ । यहाँ लडेर हेरे नि नेताहरुलाई के गर्न सके ? के गर्न सकेनन् ? त्यस्ता ठाउँमा हल्लाबाज हल्लाखोर भनेर बुझे । जहाँ बुझ्न पाएका छैनन्, त्यहाँ त्यसको प्रभाव देखिएको छ । त्यस करण त्यो प्रभावलाई पनि तर्क र खण्डनद्वारा हामीले स्थापित गर्नुछ ।’

प्रचण्डले चुनौतीपूर्ण अवसर नेपाली कम्युनिस्ट पार्टीलाई प्राप्त भएकाले युद्धस्तरमा काममा खटिन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगेर पार्टीलाई जिताउन पनि निर्देशन दिए।

कार्यविभाजनको विषयमा निर्वाचनपछि हुने उनको भनाई थियो । ‘२३ दिन युद्ध स्तरमा खट्यौँ भने अहिले हाम्रो पार्टी एक नम्बरको बन्ने सम्भावना छ । यहाँ यो मिल्यो वा मिलेन भन्न परेन । कसको कार्यविभाजन के भनिरहनु परेन । आफ्नो मतदाता नामावली जहाँ छ, निर्वाचन क्षेत्र जहाँ छ, त्यहाँ उम्मेदवारसँग मिलेर पार्टीसँग जोडिएर फिल्डमा भिडिहाल्ने हो । यही हो अहिले सबैको कार्यविभाजन । योभन्दा राम्रो कार्यविभाजन अरू हुन सक्दैन । चुनाव जितिसकेपछि विस्तारमा हिसाब गरौँला’, उनले भने ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप