सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

भक्तपुरमा घोडचढी सिक्दै कलाकार

मङ्गलबार, २७ माघ २०८२, १२ : २१
मङ्गलबार, २७ माघ २०८२

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका कलाकारहरूको सीप विकास गर्ने चलचित्र विकास बोर्डले कलाकारका लागि घोडचढी तालिम सुरु गरेको छ । एक साता प्रशिक्षण हुने तालिम चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२’ को अवसर पारेर आयोजना गरेको हो ।

ऐतिहासिक, पौराणिक, एक्सन तथा साहसिक चलचित्र निर्माणमा घोडचढीलाई अत्यावश्यक सीपका रूपमा लिइँदै आएको छ । कलाकार तथा स्टन्ट आर्टिस्टलाई सुरक्षित, अनुशासित तथा व्यावसायिक बनाउने लक्ष्यसहित बोर्डले तालिम आयोजना गरेको हो ।

पहिलो चरणको तालिममा कलाकारहरू विजय बराल, नाजिर हुसेन, कविता नेपाली, विशाल पहाडी, एवन उप्रेती, दिनेश खड्का, सरिता भारती, अरुण बहादुर स्याङ्तान (लामा), श्रीदेव भट्टराई, गोपाल ढकाल (छन्दे) लगायतले सिकिरहेका छन् ।

घोडचढी तालिम निकोसेरा, भक्तपुरस्थित रहेको ह्वाइट हाउस एग्रो भिल्लामा आयोजना गरिएको छ । सुरेश ठकुरी तथा उनको समूहले तालिम दिइरहेका छन् । तालिम अवधिभर सहभागीहरूलाई घोडासँगको तालमेल, व्यावहारिक अभ्यास, सुरक्षा मापदण्ड सहित आवश्यक आधारभूत सीपसम्बन्धी प्रशिक्षण प्रदान गरिँदै आएको छ ।

घोडचढी तालिमले चलचित्र उद्योगको उत्पादन गुणस्तर अभिवृद्धि हुनुका साथै कलाकार तथा प्राविधिकहरूको सुरक्षा, व्यावसायिकता र आत्मनिर्भरता वृद्धि हुने विश्वास आफुले लिएको बोर्ड अध्यक्ष दिनेश डिसीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप