शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: मतदातासँग रास्वपाको पाँच बुँदे नागरिक करार, उज्यालो नेपाल पार्टीको घोषणापत्र सार्वजनिक

सोमबार, ०४ फागुन २०८२, ०० : ०२
सोमबार, ०४ फागुन २०८२

सारांश

  • रास्वपाले मतदातासँग पाँच बुँदे नागरिक करार गर्ने भएको छ, जसमा सदाचार र असल शासनलाई प्राथमिकता दिइएको छ।
  • राप्रपाले घोषणापत्र सार्वजनिक गर्दै ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ भने ओलीले झापा-५ मा चुनावी रणनीति फेरेका छन्।
  • नेपाल वेस्ट इन्डिजसँग टी-२० क्रिकेटमा पराजित भयो, जसले गर्दा सुपर ८ मा पुग्ने सपना चकनाचुर भयो।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. मतदातासँग रास्वपाको पाँच बुँदे नागरिक करार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मतदातासँग पाँच बुँदे नागरिक करार गर्ने भएको छ । प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा रास्वपाले यस्तो करार गर्ने भएको हो ।

२. चुनावमा रुचि नराखेका कम्युनिस्ट आन्दोलनका तीन मोहन

२०१५ सालमा भएको पहिलो आम निर्वाचनमा उम्मेदवार बनेका नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंह पराजित हुन पुगे । गृहजिल्ला प्यूठानमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीबाट उम्मेदवार रहेका उनले त्यस यता कुनै पनि संसदीय निर्वाचनमा भाग लिएका छैनन् ।

३. राप्रपाको घोषणापत्रमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

प्रतिनिधि सभाको आसन्न निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यदेखि लिएर दिगो पूर्वाधारका सपना सजाइएका छन् ।

४. ओलीले फेरे झापा–५ मा रणनीति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आफ्नो परम्परागत चुनावी रणनीति फेरेका छन् । रास्वपाका बालेन शाहसँगको प्रतिस्पर्धामा ओली परम्परागत रणनीति फेर्न विवश भएका हुन् ।

५. उज्यालो नेपाल पार्टीको घोषणापत्रमा के छ ?

कुृलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीदेखि ९ लाख रोजगारीको बाचासमेत गरिएको छ ।

६. वेस्ट इन्डिजसँग नेपाल पराजित

विश्वकप टी–२० क्रिकेटमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ । आइतबार भएको खेलमा नेपाल ९ विकेटले पराजित भएको हो । योसँगै विश्वकपको सुपर–८ पुग्ने नेपालको सपना चकनाचुर भएको छ ।

७. सेना दिवस र महाशिवरात्रि पर्व मनाइयो 

आइतबार सेना दिवस तथा महाशिवरात्रि पर्व मनाइएको छ । सेना दिवसका अवसरमा नेपाली सेनाले विविध कार्यक्रम आयोजना गरेको छ भने शिवरात्रिका अवसरमा शिवालयमा भक्तजनले पूजा अर्चना गरेका छन् ।

८. चुनाव प्रचारप्रसारका लागि यस्तो छ कांग्रेसको नीति 

नेपाली कांग्रेसले चुनाव प्रचारप्रसारका लागि विशेष नीति अख्तियार गर्ने भएको छ । आर्थिक सहयोग स्वेच्छिक रूपमा लिने, प्रचार सामग्री मर्यादित बनाउने लगायतका नीति कांग्रेसले अघि सारेको हो ।

९. बैंकमा पैसाको थुप्रो, लगानी गर्न किन हिचकिचाए निजी क्षेत्र ?

देशको अर्थतन्त्रमा अहिले एक अनौठो र विरोधाभासपूर्ण स्थिति देखापरेको छ । एकातिर बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) को बाढी छ । ब्याजदर निरन्तर घटिरहेको छ र विदेशी मुद्राको सञ्चिति इतिहासकै उच्च विन्दुमा पुगेको छ । तर अर्कोतिर बजारमा माग छैन, निजी क्षेत्र लगानी गर्न डराइरहेको छ ।

१०. पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मटीतेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढेको हो ।

११. भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने प्रतिबद्धतासहित नेमकिपाले ल्यायो घोषणापत्र

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने प्रतिबद्धतासहित आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । प्रतिनिधि सभाको आसन्न निर्वाचनका लागि नेमकिपाले घोषणापत्र सार्वजनिक गरेको हो ।

१२. प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीसहित प्रलोपाको घोषणापत्र सार्वजनिक

प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्व समानुपातिक निर्वाचन प्रणालीसहितका लक्ष्य समेटेर घोषणापत्र सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप