बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
झापा ५ः स्थलगत

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै झापा–५ का केही शिक्षक

ओलीको चुनावी प्रचारमा शिक्षक संगठन नै संलग्न, प्रशंसा गरेर थाकेनन्
आइतबार, ०३ फागुन २०८२, १९ : ५८
आइतबार, ०३ फागुन २०८२

सारांश

  • झापा क्षेत्र नम्बर ५ मा शिक्षकहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लागेको छ, जसमा केपी शर्मा ओलीको उपस्थितिमा कार्यक्रम गरिएको थियो।
  • शिक्षक संगठनले ओलीको प्रशंसा गर्दै कार्यक्रम आयोजना गरेको थियो, जसले निष्पक्ष निर्वाचनको मान्यतामाथि प्रश्न उठाएको छ।
  • नेकपा एमालेका उम्मेदवार ओलीले आचारसंहिता उल्लंघन गरेको आरोप लागेको छ, र उनले जनअसन्तोषको नाममा हुने गतिविधिहरूको आलोचना गरे।

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर ५ मा निर्वाचन आचारसंहिता उल्लङ्घनमा शिक्षकहरू नै संलग्न भएको पाइएको छ ।

नेकपा एमालेका अध्यक्ष एवं सोही क्षेत्रका उम्मेदवार केपी शर्मा ओलीको उपस्थितिमा र उनकै प्रशंसामा नेपाल राष्ट्रिय शिक्षक संगठनले आइतबार कार्यक्रम गरेको छ । यो कार्यक्रमले निर्वाचनको निष्पक्षता र कानुनी मर्यादामाथि प्रश्न उठाएको छ । 

निर्वाचन आचारसंहिता अनुसार सरकारी सेवामा रहेका शिक्षक, प्राध्यापक तथा कर्मचारीहरू कुनै पनि राजनीतिक दलको प्रचारप्रसारमा सहभागी हुन, दलको सदस्यता लिन वा उम्मेदवारलाई राखेर राजनीतिक उद्देश्यका कार्यक्रम गर्न पूर्णतः बन्देज छ । तर, यी कानुनी प्रावधानहरूलाई चुनौती दिँदै झापा ५ का एमाले निकट शिक्षकहरूले खुलेआम राजनीतिक भेला गरी आफ्ना उम्मेदवार ओलीको पक्षमा माहोल बनाउने प्रयास गरेका छन् । 

आइतबार झापा आइपुगेका ओली निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा व्यस्त छन् । सोही क्रममा शिक्षक संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशको स्थिरता र विधिको शासनको कुरा गरे पनि आफैँले आचारसंहिता उल्लंघन गरेकोमा भने भेउ पाएनन् । 

कार्यक्रममा ओलीले जनअसन्तोषको नाममा हुने गतिविधिलाई अपराधिक भएको संज्ञा दिए । ‘जनअसन्तोषको नाममा गरिएका आपराधिक क्रियाकलापले देश अप्ठ्यारो परिस्थितिमा पुगेको छ । बङ्गलादेशपछि नेपालमा पनि उस्तै प्रकारको आन्दोलन सुरु गरियो,’ उनले भने । 

एकातिर देशमा अस्थिरता फैल्याउन खोजिएको भन्दै चिन्ता व्यक्त गर्ने र अर्कोतिर निर्वाचनको स्वच्छता कायम गर्न बनेको आचारसंहिता आफैँले उल्लंघन गर्नुलाई झापा ५ कै स्थानीय मतदाताले प्रश्न उठाएका छन् । 

आफ्नो सम्बोधनका क्रममा ओलीले अघिल्लो शिक्षक आन्दोलनमा घुसपैठ हुन सक्ने आशंकाका कारण समयमै सचेत भएर आन्दोलन स्थगन गरिएको जिकिर गरे । ‘शिक्षक आन्दोलनमा पनि घुसपैठ हुन सक्ने आशङ्का थियो, समयमै सचेत भएर आन्दोलन स्थगन गरिएकाले सम्भावित अप्रिय घटना टरेको हो,’ उनले भने । 

उनले शिक्षकका समस्या समाधानका लागि आफू र आफ्नो पार्टी सधैँ प्रतिबद्ध रहेको दाबी गर्दै वार्ता र समझदारीमार्फत समस्या हल गर्नुपर्नेमा जोड दिए । तर शिक्षकहरूलाई राजनीतिक दलको कार्यकर्ताको रूपमा प्रयोग गर्ने र निर्वाचनको मुखमा यस्ता भेलाहरू आयोजना गर्दा शिक्षा क्षेत्रको तटस्थतामाथि कस्तो असर पर्छ भन्ने विषयमा उनले केही बोलेनन् । 

राज्यको ढुकुटीबाट तलब खाने शिक्षकहरूले आफ्नो पेसागत मर्यादा भुलेर उम्मेदवारको गुणगान गाउनु र उम्मेदवारले पनि शिक्षकहरूलाई चुनावी हतियार बनाउनु लोकतन्त्रको उपहास भएको सोही क्षेत्रका नेकपाका उम्मेदवार रञ्जित तामाङले बताए । ‘यो दृश्य देखेर निर्वाचन आयोग के गर्छ ?,’ उनले प्रश्न गरे, ‘यसरी खुलेआम आचारसंहिता विपरीत शिक्षकहरू चुनावी प्रचारमा किन गए ?’  

उम्मेदवार ओली केही दिन झापाका विभिन्न स्थानमा मतदातासँग घरदैलो कार्यक्रममा व्यस्त रहने उनको सचिवालयले जनाएको छ । कानुनको पालक हुनुपर्ने प्रधानमन्त्रीजस्तो गरिमामय पद सम्हालिसकेका नेता र समाजका पथप्रदर्शक मानिने शिक्षकहरूबाटै आचारसंहिताको उल्लंघन हुनुले चुनावी प्रणालीलाई नै दूषित पार्ने खतरा बढाएको छ । 

कार्यक्रमका अवसरमा शिक्षक संगठनका अध्यक्षसमेत रहेका कार्यक्रम सञ्चालक लम्बोदर पौडेलले ‘हामी नेकपा एमालेको सरकार र झापालीको एक मात्र अभिभावक तपाईं केपी शर्मा ओलीको नेतृत्व हेर्न चाहन्छौं’ भन्दै प्रसंसा गरे । त्यस्तै उनले ‘सर्वहारा वर्गको कोखमा जन्मिएको, जनताको न्यानो काखमा हुर्किएको नेकपा एमाले...’ भन्दै पार्टीको पक्षमा बयान गरेका थिए । त्यसक्रममा उनले एमालेको सरकार हेर्नका लागि झापाली शिक्षकहरू आतुर रहेको पनि बताएका थिए ।  

कार्यक्रममा झापा क्षेत्र नम्बर ५ का एमालेको चुनावी कमान्डरसमेत रहेका पूर्वमन्त्री देवेन्द्र दाहाल, शिक्षक संगठनका झापा जिल्ला भरका नेता तथा सदस्यहरूको उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप