पूर्णबहादुरले चुनावी मैदान खाली गर्दा एमाले उम्मेदवार उत्साहित !
सारांश
- सुर्खेत-१ मा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले चुनाव नलड्ने घोषणा गरेपछि उनको भाइ कांग्रेसबाट उम्मेदवार बनेका छन्।
- २०७४ मा खड्कालाई हराएका ध्रुवकुमार शाही एमालेबाट उम्मेदवार छन्, र उनले जित्नेमा विश्वास व्यक्त गरेका छन्।
- शाहीले आफ्नो चुनावी एजेन्डा र विगतका कामहरूलाई आधार बनाउँदै मतदाताको विश्वास जित्ने दाबी गरेका छन्।
सुर्खेत । प्रतिनिधिसभा निर्वाचनमा ‘हेभीवेट’ भिडन्त हुने सुर्खेत–१ मा यो पटक पूर्व उपप्रधान तथा गृहमन्त्री पूर्णबहादुर खड्काले चुनावी मैदान छाडे । विशेष महाधिवेशनपछि नेपाली कांग्रेस आधिकारिकता सम्बन्धी विषय अदालतमा प्रवेश गरेपछि उनले नैतिकताको कारण समेत देखाउँदै चुनाव नलड्ने बताएका थिए ।
तर, ०४८ सालदेखि निरन्तर चुनाव लड्दै आएका खड्काको उक्त क्षेत्रमा बलियो प्रभाव छ । यो पटक खड्का चुनावी मैदानमा नआएपनि दाइको विरासत यथावत् राख्ने उद्देश्यसहित उनकै भाइ विष्णुकुमार खड्का कांग्रेसबाट उम्मेदवार छन् ।
यस्तै नेकपा एमालेले ध्रुवकुमार शाहीलाई उम्मेदवार बनाएको छ । शाही तिनै व्यक्ति हुन्, जसले ०७४ मा प्रभावशाली मानिने पूर्णबहादुरलाई हराइदिएका थिए । उक्त चुनावमा उनलाई माओवादीले साथ दिएको थियो । यस्तै ०७९ मा कांग्रेस—माओवादीबिच गठबन्धन हुँदा पूर्णबहादुरले शाहीसँग हारको बदला लिएका थिए । यो पटक खड्काले मैदान छाडेपछि शाहीले आफूलाई चुनाव जित्न सहज हुने दाबी गर्दै आएका छन् । सो क्षेत्रमा कांग्रेसकै पूर्व जिल्ला उपसभापति समेत रहेका टेकबहादुर सिंह रास्वपाबाट उम्मेदवार छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले जितबहादुर रानालाई उम्मेदवार बनाएको छ ।
चुनावी अभियानकै क्रममा रहेका शाही वीरेन्द्रनगर आएका बेला रातोपाटीले चुनावी वार्ता गरेको छ । प्रस्तुत छ, उनीसँगको कुराकानीको सम्पादित अंशः
- तपाईं यसअघि पराजित भएको व्यक्ति फेरि उम्मेदवार हुनुभयो, कस्तो छ जनताको प्रतिक्रिया ?
—अहिले राष्ट्रको स्थिति संकटमा छ । संकटबाट मुक्ति दिलाउनका लागि नेकपा एमाले नै एउटा जिम्मेवार पार्टीको रूपमा स्थापित भएको छ । त्यसैले पार्टीको निर्णय अनुसार म पुनः उम्मेदवार भएर चुनावी मैदानमा छु ।
- तपाईंले ०७४ मा चुनाव जित्नुभयो तर ०७९ मा हार्नुभयो । यो पटक मतदाताले तपाईंलाई नै किन विश्वास गर्ने ?
—जरुर, यो पटक हामीले जित्ने आधार छ । एक त देशलाई संकट परेको बेलामा एमाले नै जिम्मेवार शक्तिको रूपमा उपस्थित भयो । दोस्रो विकास निर्माणको सन्दर्भमा पनि अरू पार्टीहरूभन्दा नेकपा एमाले जनताप्रति जिम्मेवार देखियो । धेरै पूर्वाधारको क्षेत्रमा कामहरू एमालेले नै अघि बढाएको छ । त्यसो हुँदा पनि जनताले यो पटक मलाई जिताउँछन् ।
- क्षेत्र नम्बर १ मा त विकास जति कांग्रेसका पूर्णबहादुर खड्काले गरे भनेर कांग्रसेले प्रचार गरिरहेको छ नि ?
— त्यो गलत हो, ०७४ मा सांसद जितेपछि थुप्रै विकासका आयोजना अघि बढाएको थिएँ । अहिले मेरो चुनाव जित्ने आधार यो पनि हो । ती आयोजनाहरू सम्पन्न हुने क्रममा छन् । तर कतिपयले ती आयोजना हामीले हाल्यौँ भनेर शिलान्यास पनि गरे, त्यस्ता भ्रमका पछि जनता लाग्दैनन् ।
त्यतिबेला हामीले धेरै कामहरूको सुरुवात गरेका थियौँ । तर, ०७९ मा हामीले चुनाव हा-यौँ । त्यो पहिलो अवधिमा हामीले सुरुवात गरेका कामहरूको प्रभावले गर्दा अहिले जनतामा थप विश्वास पैदा भएको छ ।
- तपाईं बाहेक उम्मेदवारहरू सबै नयाँ छन्, तपाईं यसअघि दुई पटक चुनाव लडेर परीक्षण भइसकेको नेता हो, अहिले नयाँप्रति लहर छ भन्छन् नि ?
—म टेस्टेड भन्दा पनि जनस्तरबाटै स्थापित भएको नेता कार्यकर्ता हुँ । म सधैँ जनताकै सरोकारकै विषयमा हामीले सधैँ लडेँ र सङ्घर्ष गरेँ । अहिले पनि लागिरहेका छु । मैले हिजो राजनीतिक जीवनको सुरुवातदेखि नै जनताकै पक्षमा काम गर्दै आएको हो । त्यसले गर्दा टेस्टेड भन्ने चाहिँ हुँदैन । जनताले फेरि हामीलाई विश्वास गर्छन् ।
- तपाईंका यसअघिका चुनावी प्रतिस्पर्धी पूर्णबहादुर खड्का अहिले मैदानमा नहुँदा आफ्नो प्रमुख प्रतिस्पर्धीका रूपमा कसलाई हेर्नुभएको छ ?
—चुनावी मैदानमा होमिनुभएको सबै व्यक्ति नै प्रतिस्पर्धी नै हुनुहुन्छ । तर साङ्गठनिक रूपमा हेर्दा मुख्य प्रतिस्पर्धी कांग्रेस नै हो । अरू पनि प्रतिस्पर्धी त हुन् तर धेरै निकटतम प्रतिद्वन्द्वी होइनन् जस्तो लाग्छ ।
- ‘दाइको विरासत’ कायम राख्ने भनेर पूर्णबहादुरका भाइ विष्णु खड्का चुनावी मैदानमा हुनुहुन्छ, यो अवस्थामा त तपाईंलाई गाह्रै होला नि ?
—छैन त्यस्तो, म चुनाव जित्छु । जनताको उत्साह छ, विश्वास, भरोसा छ ।
- यस्तो त कांग्रेस नेकपादेखि रास्वपासम्मले भनेकै छन् नि...?
—त्यो उहाँहरूको कुरा होला तर हामी हाम्रो जनाधारका हिसाबले कुरा गरिरहेका छौँ । वास्तवमा हामी समाजको उत्थान र विकासका लागि लागेका हौँ । यसले गर्दा अरूले के भन्छ भन्ने कुरा उहाँहरूको कुरा होला, चुनाव जित्नलाई पर्याप्त आधारहरू छन् ।
- तपाईं यस्तो भन्नुहुन्छ, सुर्खेत—१, मा एमालेभित्र नै समस्या छ भनिन्छ नि ?
—अघिल्लो (०७९) को चुनावमा पार्टीभित्रको समस्याले पनि केही घाटा गरेको हो । अहिले ती समस्याहरू सबै हल भइसके । अहिले उम्मेदवारी छनोटमा पनि मलाई सबैले सर्वसम्मत: गर्नु भएकाले त्यस्तो समस्या छैन ।
- अर्को कुरा, ०७४ मा चुनाव जितेपछि संसदमा दुई पटक भन्दाधेरै बोल्नुभएन भन्ने कुरा पनि रहेछ, संसदमा नबोल्ने मान्छेलाई किन जिताउने भन्ने पनि मतदातामा रहेछ नि ?
—हेर्नुस्, बोलेर केही हुँदैन । म काम गर्ने मान्छे हो । नबोलेर भए पनि आफ्नो क्षेत्रमा थुप्रै काम गरेको छु । पुनः जितियो भने हामी राष्ट्रिय हितको पक्षमा देशलाई अगाडि बढाउँछौँ । अहिले वैदेशिक हस्तक्षेप बढ्दो छ, बढिरहेको छ । यसले गर्दा हाम्रो राष्ट्रलाई अहित गरिरहेको छ ।
राष्ट्रिय हितको प्रवर्द्धनमा हामी लाग्छौँ । अर्को जनताका जनजीविका सवालहरू र देशलाई समृद्धितर्फ लाने काममा हामी अगाडि नै छौँ ।
(नोटः अन्य प्रतिस्पर्धी उम्मेदवारसँगको वार्ता क्रमशः प्रकाशित गरिनेछ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण