शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

ट्रम्पको ५ अर्ब डलर मुद्दाको जेपी मोर्गनले गर्‍यो प्रतिवाद, सीईओलाई धोकाले समेटिएको दाबी

शुक्रबार, ०८ फागुन २०८२, ०८ : ४९
शुक्रबार, ०८ फागुन २०८२

सारांश

  • जेपी मोर्गन चेजले ट्रम्पको ५ अर्ब डलरको मुद्दा सङ्घीय अदालतमा सार्न माग गरेको छ।
  • कम्पनीले प्रमुख कार्यकारी अधिकृत जेमी डिमनलाई मुद्दामा गलत रूपमा समावेश गरेको आरोप लगाएको छ।
  • ट्रम्पले २०२१ मा राजनीतिक कारणले बैंकले ग्राहक सूचीबाट हटाएको भन्दै मुद्दा दायर गरेका थिए।

वासिङ्टन डीसी । अमेरिकी बहुराष्ट्रिय बैंकिङ समूह जेपी मोर्गन चेजले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा दायर गरिएको ५ अर्ब डलरको मुद्दामा कडा प्रतिवाद गर्दै मुद्दा सङ्घीय अदालतमा सार्न माग गरेको छ । कम्पनीले आफ्नो प्रमुख कार्यकारी अधिकृत जेमी डिमनलाई मुद्दामा धोखापूर्वक समावेश गरिएको आरोप लगाएको छ ।

बैंकका वकिलहरूले अदालतमा दायर सूचनामा ट्रम्पको मुद्दा त्यस्तो कानुनमा आधारित रहेको बताएका छन्, जसले सङ्घीय रूपमा नियमन भएका बैंकका अधिकारीहरूलाई उनीहरूको आधिकारिक भूमिकामा काम गर्दा छुट दिन्छ । उनीहरूका अनुसार फ्लोरिडाको ‘डिसेप्टिभ एन्ड अनफेयर ट्रेड प्र्याक्टिसेस एक्ट’ सङ्घीय नियमनमा रहेका बैंक अधिकारीहरूमा लागू हुँदैन, त्यसैले डिमनलाई मुद्दामा समेट्नु अनुचित हो ।

गत महिना ट्रम्पले जेपी मोर्गन चेज र डिमनविरुद्ध मुद्दा दायर गर्दै सन २०२१ मा राजनीतिक कारणले आफूलाई बैंकको ग्राहक सूचीबाट हटाइएको आरोप लगाएका थिए । उक्त मुद्दामा ट्रम्पले ५ अर्ब डलर क्षतिपूर्ति माग गरेका छन् ।

जेपी मोर्गनका अनुसार कानुनी दृष्टिले कम्पनी ओहायोको हो । मुद्दाका कुनै पनि वादी ओहायोका नागरिक नभएकाले यो मुद्दा सङ्घीय अदालतमा सुन्न योग्य हुन्छ । बैंकले ट्रम्पका कानुन व्यवसायीहरूले मुद्दा राज्य अदालतमै राख्न डिमनलाई जानाजानी समावेश गरेको दाबी गरेको छ ।

बैंकिङ समूहले यस विषयमा थप टिप्पणी गर्न अस्वीकार गरेको छ भने ह्वाइट हाउससँग प्रतिक्रिया मागिएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप