मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

केपी ओली भन्छन्– ‘जहाँ उभियो, त्यहीँ एमालेको विकास देखिन्छ’

‘एमालेले बनाउँछ, बिगार्दैन’
सोमबार, ११ फागुन २०८२, १६ : १०
सोमबार, ११ फागुन २०८२

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिको नेतृत्व एमाले बाहेक अरु कसैले गर्न नसक्ने दाबी गरेका छन् । साेमबार झापामा आयोजित कोशी प्रदेश स्तरीय ‘नेशनल भोलेन्टियर फोर्स’ को कमिटी गठन तथा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताका हुन् । 

अध्यक्ष ओलीले एमालेको विकास प्रेमी छवि रहेको कुरा आम नागरिकलाई जानकारी रहेको बताए । विपक्षीहरूको ‘भिजनविहीन’ राजनीतिले देश विकास हुन नसक्ने बताए। ओलीले नेशनल भोलेन्टियर फोर्स केवल निर्वाचनका लागि मात्र नभई देशमा शान्ति, सुव्यवस्था र लोकतन्त्रको रक्षाका लागि सधैं सक्रिय रहने एउटा अनुशासित दस्ता भएको स्पष्ट पारे।

अध्यक्ष ओलीले विकासका सन्दर्भमा एमालेको रिपोर्ट कार्ड प्रस्तुत गर्दै विपक्षीहरूलाई चुनौती दिए । उनले भने, ‘एमालेले के गर्‍याे भनेर सोध्नेहरूले महाकाली वा दार्चुलाको उदाहरण हेर्नु पर्दैन । देशको जुनसुकै कुनामा उभिएर वरिपरि हेर्नुस्, एमालेले गरेको विकास देखिन्छ। जहाँ उभिनुभएको छ, त्यहीँबाट एमालेको विकास हाक्ने क्षमता प्रष्ट हुन्छ ।’

उनले दमक र झापाको उदाहरण दिँदै भने, ‘हिजो दमकमा पेट्रोम्याक्स बालेर कार्यक्रम गर्नुपर्थ्याे, आज घरघरमा बिजुली छ । हिजो चापाकलको रातो पानी खानुपथ्र्यो, आज पानीका ट्याङ्कीहरू ठडिएका छन् । घर अगाडि कालोपत्रे सडक पुगेको छ । तैपनि कतिपयले ‘अहिले सम्म के भयो?’ भन्दै प्रश्न गर्छन् ।यो भनेको कि त बुझ्दै नबुझ्नेको कुरा हो, कि त पूर्वाग्रह हो ।’

आसन्न निर्वाचनको सन्दर्भमा बोल्दै ओलीले नेशनल भोलेन्टियर फोर्सलाई शान्तिपूर्ण मतदानको वातावरण बनाउन निर्देशन दिए।

ओलीले आफ्नो कार्यकालमा सुरु भएका तर अहिले रोकिएका आयोजनाहरूको चर्चा गर्दै ती कामहरू पूरा गर्न एमाले नै सरकारमा आउनुपर्ने बताए । लखनपुरको रंगशाला विवादबारे बोल्दै उनले भने, ‘केही दलहरूले अनावश्यक विवाद निकालेर काम रोक्न खोजे । आदिवासी जनजातिको नाममा झमेला खडा गरियो । म सोध्न चाहन्छु, अरुले पाँच वर्ष नेतृत्व गर्दा किन एउटा रंगशाला बनाउन सकेनन् ? त्यो काम केपी ओली र एमालेले मात्र गर्न सक्छ र हामी त्यो रंगशाला बनाएरै छोड्छौँ ।’

सुकुम्बासी समस्याबारे उनले भने, ‘हामीले धनीपूर्जा वितरणको तयारी गर्दा सरकार ढालियो । आयोग भङ्ग गरियो । तर हामीले सर्वोच्चबाट आयोग फिर्ता ल्याएका छौँ । भूमिहीन र सुकुम्बासी समस्याको स्थायी समाधान एमालेले नै गर्नेछ ।’

अध्यक्ष ओलीले झापा, कोशी प्रदेश र सिङ्गो देशको विकासको ग्यारेन्टी लिए । ‘यस जिल्ला, प्रदेश र देशको विकासको जिम्मा मेरो भयो, तपाईंहरू ढुक्क हुनुस् । आज हुम्लाको सिमिकोटदेखि ओलाङचुङगोलासम्म सडक सञ्जाल पुगेको छ । यो सबै एमालेको योजना र दृढताको परिणाम हो ।’ उनले दाबी गरे। अध्यक्ष ओलीले नेपालको प्राकृतिक स्रोत र खानीहरूको उत्खनन गरी देशको अर्थतन्त्रमा ठूलो फड्को मार्ने उद्घोष गरे ।

ओलीले आफू सरकारमा रहँदा धौबादी फलाम खानीको आधुनिकीकरण र दैलेखको मिथेन ग्यास उत्खननलाई प्राथमिकतामा राखिएको बताए ।

‘एमालेले बनाउँछ, बिगार्दैन’

उनले देशभर एमालेलाई विजयी बनाउन आग्रह गर्दै सूर्य चिह्नमा मतदान गर्न आह्वान समेत गरे । एमालेको संकल्प समृद्ध नेपाल र सुखी नेपाली रहेको बताउँदै एमालेले बनाउने तर कहिल्यै नबिगार्ने जिकिर गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप