सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
निर्वाचन १० दिन बाँकी

निर्वाचनमा खटिने मतदान र सहायक मतदान अधिकृतलाई तालिम

सोमबार, ११ फागुन २०८२, २३ : २३
सोमबार, ११ फागुन २०८२

तनहुँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान र सहायक मतदान अधिकृतलाई सोमबारदेखि तालिम सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले तनहुँ क्षेत्र नं १ र २ का मतदानस्थलमा खटिने मतदान र सहायक मतदान अधिकृतलाई तालिम दिन सुरु गरेको हो ।

तालिमको पहिलो दिन आज निर्वाचन क्षेत्र नं १ अन्तर्गत ६९ मतदानस्थलका १५३ मतदान केन्द्रका मतदान र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए । तालिमको दोस्रो दिन मङ्गलबार क्षेत्र नं २ अन्तर्गत ७५ मतदानस्थलका १५६ मतदान केन्द्रका कर्मचारीलाई तालिम प्रदान गरिनेछ ।

मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले निर्वाचनलाई भयरहित, स्वच्छ, निष्पक्षमा वातावरणमा सम्पन्न गराउने बताउँदै इमानदार भएर निर्वाचनमा खटिन कर्मचारीलाई निर्देशन दिए । उनले निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाइने भन्दै ढुक्क भएर निर्वाचनमा परिचालन हुन र मतदातालाई निर्धक्कसँग मतदान गर्न आग्रह गरे ।

मुस्ताङमा कर्मचारीलाई निर्वाचन लक्षित अभिमुखीकरण तालिम

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै चुनावी तयारीलाई तीव्रता दिइएको छ । जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन कार्यालय र जिल्ला सुरक्षा समिति मुस्ताङले निर्वाचनलाई प्राथमिकता राखेर तयारी थालेको हो ।

जिल्ला निर्वाचन कार्यालयको आयोजनामा यहाँस्थित ४० वटै मतदान केन्द्र तथा अस्थायी मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई सोमबार एक दिने अभिमुखीकरण तालिम दिएको छ । निर्वाचनलाई व्यवस्थित, निश्पक्ष, स्वतन्त्र र पारदर्शी बनाउने उद्देश्यले निर्वाचनमा खटिने कर्मचारीलाई तालिम दिइएको जिल्ला निर्वाचन कार्यालय प्रमुख लोकेन्द्र ज्ञवालीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी अजिता शर्माले निर्वाचनका लागि राज्यले सुम्पिएको कार्यभार राष्ट्र सेवक कर्मचारीहरूले गहन ढंगले पुरा गर्नुपर्नेमा जोड दिइन् । प्रजिअ शर्माले लोकतन्त्रको संस्थागत विकासका लागि निर्वाचन अपरिहार्य रहेकाले निर्वाचनलाई शान्तिपूर्ण रुपमा व्यवस्थित गरी सम्पन्न गर्न सबैले सहयोग र समन्वय गर्नुपर्नेमा जोड दिइन् ।

मुस्ताङका पाँच वटै पालिकाका ३९ मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेल र जिल्लास्थित राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख विष्णु पण्डितले सहजीकरण गरेका थिए ।

रौतहटका एक हजार ८२ जना कर्मचारीलाई तालिम

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा निर्वाचनको तयारीलाई तीव्रता दिइएको छ । चार वटा निर्वाचन क्षेत्र रहेको रौतहटमा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी कर्मचारी खटाउने काम सकेर अहिले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको हो ।

सोमबार निर्वाचन क्षेत्र नं ३ का १३७ र क्षेत्र नं १ का १३२ वटा मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सञ्चालनसम्बन्धी तालिम दिइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले जानकारी दिए । उनका अनुसार दुई वटा अस्थायी मतदान केन्द्रका दुई जना मतदान अधिकृत र दुई जना सहायक मतदान अधिकृतलाई समेत तालिम दिइएको हो ।

मङ्गलबार क्षेत्र नं ४ का १३४ र बुधबार क्षेत्र नं २ का १३८ मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइने कार्यालय प्रमुख दासले जानकारी दिए । तालिममा मतदान प्रक्रिया, कानुनी, व्यावहारिक, सैद्धान्तिक पक्षलगायत विषयमा जानकारी दिइने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप