शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ठेकेदारलाई रुखमा बाँधेर विकास हुँदैन : गगन थापा

शुक्रबार, १५ फागुन २०८२, १७ : १५
शुक्रबार, १५ फागुन २०८२

सारांश

  • कांग्रेस सभापति गगन थापाले ठेकेदारलाई रुखमा बाँधेर विकास नहुने बताए।
  • उनले सडक निर्माणलाई तीव्रता दिन कानुन परिमार्जन गर्नुपर्नेमा जोड दिए।
  • थापाले आफ्नो नेतृत्वको सरकार बनेमा २०४६ सालपछिका सबै प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिन गर्ने दाबी गरे।

बागलुङ । नेपाली कांग्रेसका सभापति गगन थापाले ठेकेदारलाई रुखमा बाँधेर विकास नहुने बताएका छन् । कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले शुक्रबार बागलुङ बजारमा आयोजना गरेको बृहत् आम सभालाई सम्बोधन गर्दै सभापति थापाले सडक छिटो बनाउनका लागि कानुन बनाउन र बदल्न जरुरी रहेको बताए । 

मौजुदा कानुनका कारण विकास निर्माणले गति लिन नसकेको भन्दै ४१ वटा कानुन निर्माणपछि सडक, पुल र अन्य पूर्वाधार तीव्र गतिमा बन्ने उनको भनाइ छ । कानुन बदल्नका लागि लामो समयदेखि गृहकार्य गरिरहेको समेत थापाले बताए ।

सभापति थापाले भने ‘सडक समयमै बन्न कानुन बदल्नुपर्छ, वर्षौँ अगाडि ठिकै सोचेर बनाइएको होला । अहिले काम लागेन । ती कानुनहरू बदल्नु पर्छ भन्दा कोहीले कसैलाई ठोक्नुपर्छ, झुन्डाउनुपर्छ, हान्नुपर्छ, डाँडी भाँच्नुपर्छ, नाडी भाँच्नुपर्छ भन्छन् । त्यसोभन्दा ताली बज्छ । तर त्यसले देशलाई कहीँ पनि पुर्‍याउँदैन ।” 

आफू नेतृत्वको सरकार बने ०४६ सालपछि प्रधानमन्त्री, मन्त्री बनेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने थापाले दाबी गरे । ‘नयाँ बन्ने सरकारको पहिलो काम २०४६ सालपछि बनेको प्रत्येक सरकारको प्रधानमन्त्री, मन्त्रीको सम्पत्ति छानबिन गर्ने हुन्छ । पहिला कांग्रेसबाटै सुरु हुन्छ ।’

अब बन्ने कानुनले सुशासन स्थापित गरी राजनीतिलाई सफा र प्रदूषणमुक्त बनाउने बताए । उनले भने, ‘एउटा–एउटा काण्डको छानबिन हुन्छ, त्यति मात्र होइन, भविष्यमा नेपालमा कुनै पनि काण्ड नदोहोरिने गरी हाम्रा संस्थाहरूलाई बलियो बनाउँछौँ ।’

सभापति थापाले आफूलाई बदनाम गर्न नयाँ पुराना पार्टी निरन्तर लागेको बताए । चुनावका बेला मत बढ्छ भनेर जिम्मेवार नेताहरूले आफ्नो सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर घृणा र उत्तेजना फैलाउन काम गरेको पनि सभापति थापाले बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप