मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेकपाले ठुला चुनावी सभा नगर्ने, जित्ने रणनीति के छ ?

शुक्रबार, १५ फागुन २०८२, १८ : २५
शुक्रबार, १५ फागुन २०८२

सारांश

  • नेकपाले निर्वाचनमा ठूला चुनावी सभा नगर्ने र घरदैलो कार्यक्रमलाई जोड दिने भएको छ।
  • नेकपाका नेताहरूले पार्टीले ४० भन्दा बढी सिट जित्ने दाबी गरेका छन्, भने रास्वपाको प्रभावबारे टिप्पणी गरेका छन्।
  • प्रचण्डले पार्टीको लाइन क्लियर भएको र निष्पक्ष निर्वाचन भएमा राम्रो नतिजा आउने बताएका छन्।

काठमाडौँ । अघिल्ला निर्वाचनमा देशका ठुल्ठुला सहरमा चुनावी सभा गर्दै आएको नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ मा हुने निर्वाचनमा मौन देखिएको छ ।

मौन अवधि सुरु हुन तीन दिन मात्र बाँकी रहँदा यो पटक ठुला चुनावी सभा नहुने नेता डा. बेदुराम भुसालले जानकारी दिए । सातै प्रदेशमा ठुला एकता सन्देश सभा गरिसकेकाले फेरि चुनावी सभा गर्नु आवश्यक नभएको उनले जिकिर गरे ।

‘एकता सन्देश सभा पहिल्यै गरिसकेका छौँ । चुनावी सभा भनेर हुँदैन । घरदैलो कार्यक्रमलाई नै बढी जोड दिएका छौँ । तीन दिन बाँकी छ, ठुला सभा गर्न सम्भव छैन । साना साना कार्यक्रम, कोणसभा हुन सक्छ । यो बेला शक्ति प्रदर्शन गर्ने भन्दा पनि मतदाताहरूको मन जित्ने कुरा हो’, उनले भने ।

नेकपाका अर्का नेता राजेन्द्र प्रसाद श्रेष्ठले बदलिँदो परिस्थितिमा ठुल्ठुला सभा गर्न आवश्यक नभएको जिकिर गरे । विचार, सिद्धान्त र एजेन्डाको हिसाबले नेपाली कम्युनिस्ट पार्टी नै नयाँ पार्टी भएको तर्क गरे ।

‘विचार, सिद्धान्त बदलिएको छ । नयाँ भन्दैमा नयाँ हुँदैन । विचार, सिद्धान्त र एजेन्डाको हिसाबले नयाँ पार्टी भनेकै नेपाली कम्युनिस्ट पार्टी हो । हिजो सामाजिक सञ्जाल, मिडिया नभएकाले ठुल्ठुला सभा गर्नुपरेको हो’, उनले भने, ‘अहिले समय बदलिएको छ । सबै ठाउँमा केन्द्रीय नेताहरू गएर भाषण गरिराख्नु आवश्यक छैन । एक ठाउँमा बोलेको कुरा एक छिनमै सबै ठाउँमा पुग्छ । अहिले बाहिर जसरी नयाँको लहर चलेको छ, धरातलमा त्यसको प्रभाव धेरै देखिँदैन ।’

श्रेष्ठले भविष्यमा पनि कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक, समावेशीको कार्यान्वयन गर्न सक्ने पार्टी नेकपा नै भएकाले त्यसको नेतृत्व प्रचण्डले मात्र गर्न सक्ने बताए ।

रास्वपाले जतिसुकै बाहिर घण्टी बजाएर सुशासनको कुरा गरे पनि नेतृत्वमा देखिएको सहकारी ठगी, भ्रष्टाचार र अपारदर्शी गतिविधिका कारण जनताले विश्वास गर्न नसक्ने उनले स्पष्ट पारे ।  

यो निर्वाचनमा नेकपाले ४० भन्दा बढी सिट जित्ने दुवै नेताले दाबी गरे । निर्वाचनको समग्र पक्षको समीक्षा गर्न बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा निर्वाचन परिचालन समितिको बैठक बसेको थियो । बैठकमा १६४ निर्वाचन क्षेत्रबाट आएको रिपाेर्टिङको आधारमा ६० स्थानमा जित्ने सम्भावना रहेको, ती मध्ये ४० देखि ५० को हाराहारी जित निश्चित भएको भुसालले दाबी गरे ।  

‘वास्तविक तथ्य भन्नुपर्दा हामीले प्रत्यक्षतर्फ ४० बढी नै सिट जित्छौँ । रास्वपाको यसपालि समानुपातिक मत बढ्छ । तर प्रत्यक्षमा उनीहरूले भनेको जस्तो सिट आउँदैन । मिडियाबाजी बढी देखिएको छ । तर वास्तविक धरातल त्यस्तो देखिँदैन । बाहिर हल्ला भएको जस्तो कांग्रेस र एमाले पनि बढारिने स्थिति देखिएको छैन । हामीलाई प्राप्त जानकारी अनुसार रास्वपा पहिलो दल बन्न गाह्रो छ’, उनले भने ।

नेता श्रेष्ठले पनि देशैभरीबाट आएको रिपोर्टको आधारमा नेकपाले ४० भन्दा बढी सिट जित्ने जिकिर गरे । समानुपातिकतर्फ कम्तीमा १५ र बढीमा २० लाख आउने उनको अनुमान छ ।

‘प्रत्यक्षतर्फ हामी ४० देखि ५० सिट निश्चित जित्छौँ । समानुपातिकमा २० देखि २५ लाख ल्याउनेछौँ’, श्रेष्ठले दाबी गरे ।

ठुला सभा छोडेर संयोजक पुष्पकमल दाहाल प्रचण्ड अहिले काठमाडौँमा सम्पर्क मञ्चको कार्यक्रममा व्यस्त छन् । देशको विषम परिस्थितिमा दुई अतिवादीलाई सन्तुलन गरी अगाडि बढ्ने पार्टी नेकपा भएको दाबी गर्दै आएका छन् । बिहीबार वाम बुद्धिजीवीसँगको छलफलमा आफ्नो पार्टीको लाइन क्लियर भएको जिकिर भएका थिए । विपक्षी दलहरूले पनि नेकपाको राम्रो मत आउने बताउन थालेको प्रचण्डले जिकिर गरेका थिए।

‘हाम्रो पोलिटिकल लाइन क्लियर भएको छ । हामीले ‘इफ’, ‘बट’ केही राखेका छैनौँ । सिधा राष्ट्र, लोकतन्त्र र संविधानको पक्षमा भन्ने भएकाले ‘कन्फिडेन्स’ आएको छ साथीहरूलाई । निष्पक्ष निर्वाचन हुने हो भने हाम्रो पक्षमा राम्रो रिजल्ट निस्कन्छ’, उनले भनेका थिए, ‘पहिलाको भन्दा राम्रो हुन्छ भनेर हाम्रा कट्टर विरोधीले पनि भन्न थालेका छन् । कतिपयले रिपोर्ट निकाल्दा अप्रत्याशित रूपमा धेरै आउनभयो पनि भन्ने गरेका छन् । तर ६० प्लस नेपाली कम्युनिस्ट पार्टीले जित्ने आकलन गरिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप