शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

पाेखरामा गगनकाे १० मिनेट, के भने ?

शुक्रबार, १५ फागुन २०८२, १८ : ५३
शुक्रबार, १५ फागुन २०८२

पोखरा । आमसभा सुरु भैसकेको थियो । जिल्लाका तीन वटै क्षेत्रका उम्मेदवारले बोले । त्यसपछि सीधै केन्द्रीय उपसभापति विश्वप्रकाश शर्मालाई बोल्न बोलाइयो । शर्मा बोलेर सक्ने बेला हुन लागेको थियो, मञ्च माथिको आकाशमा हेलिकप्टर घुम्न थाल्यो ।

दाङबाट बागलुङ हुँदै पोखरा आएका गगन थापा त्यही हेलिकोप्टरमा थिए । मञ्च नजिकै चउरमा हेलि अडियो, थापा मञ्चमा आए । उनी आउनुअघि मञ्चमा नृत्यका लागि कलाकार बोलाइएको थियो । कलाकारले नाच्नै सुरु गरिसके ।

उद्घोषकले त्यत्तिकैमा रोकेर गगनलाई स्वागत गरे । आसन ग्रहण नगरी गगन पोडिएममा पुगे र बोल्न थाले । सुरुमै उनले भने, ‘सुरुमै म क्षमा माग्दै तपाईंहरुसँग आग्रह गर्दछु कि मसँग धेरै समय छैन । कृपया ७ मिनेट बोलेपछि म यहाँबाट निस्किन्छु । निस्किने बेलामा मलाई डिस्टर्व नगर्नुहोला । सहज रूपमा निस्किने वातावरण बनाइदिनुहोला ।’ निकै हतारमा रहेका गगनले करिब १० मिनेट बोले ।

सीधै निर्वाचन केन्द्रित विषयमा प्रवेश गरेका उनले आफ्नो नेतृत्वमा सरकार बन्दा ५ वर्षमा गर्ने कामबारे जानकारी गराए । मतदातालाई रुखमा मत माग्न नेता कार्यकर्ताको मनोबल उकासे । अलिअलि प्रतिस्पर्धीलाई घोचपेच गरे अनि नबसी मञ्च पछिल्तिरबाट निस्किए । उनलाई लिन अघि छोडेको हेलिकोप्टर मञ्च नजिकै आइपुग्यो । उनी हेलिकोप्टरमा चढेर गए ।

के भने १० मिनेटमा ?

थापाले १० मिनेटमा मूलतः निर्वाचन लक्षित विचार प्रस्तुत गरे । कांग्रेसको सरकारले शक्तिशाली आयोग गठन गरेर २०४६ सालपछिका प्रधानमन्त्री, मन्त्री लगायत सबै उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने । छानबिनको सुरुवात आफू र आफ्नै पार्टीका पूर्व सभापति शेरबहादुर देउवाबाट थाल्ने उनले प्रतिबद्धता जनाए ।

त्यसपछि थापाले सरकार गठन भएकै महिनादेखि योजना र कामको हिसाब बुझाउने बताए । वैशाख १ गते योजना सुनाउने र त्यसपछि हरेक महिना जनतालाई कामको हिसाब–किताब दिने उनको भनाई छ । 

उनले अतिवाद विरुद्ध आफूहरू संयमित भएर अघि बढ्ने बताए । यसअघि भएका राम्रा कुरालाई निरन्तरता र नयाँ कार्यक्रम लागू गराउने उनको सङ्कल्प छ ।

उनले विकास चमत्कारबाट नहुने सुनाए । पोखरा विमानस्थललाई चलायमान बनाउने उनको दाबी छ । नेता कार्यकर्तालाई अबको ५ दिन जोडतोडका साथ काम गर्न उनको निर्देशन छ । अन्तिममा उनले सहकारी पीडितको ज्ञापनपत्र बुझे, मञ्च अगाडि राखिएको गमलाको बिरुवामा पानी हालेर फर्किए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप