बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

पढ्नकै लागि वार्षिक ६० हजार नेपाली विद्यार्थी विदेशमा, १ खर्ब २० अर्ब विदेशी बैङ्कमा

बिहीबार, १० साउन २०७५, १२ : ३५
बिहीबार, १० साउन २०७५

काठमाडौँ । सुलभ र गुणस्तरीय स्वास्थ्य शिक्षाको विषयलाई लिएर प्राध्यापक डाक्टर गोविन्द केसी लामो समयदेखि आन्दोलनमा छन् । पछिल्लो पटक १५औँ पटक केसी अनशनमा बसिरहेका छन् र बिहीबार १५औँ अनशनको २६औँ दिन हो । मेडिकल कलेज स्थापना तथा सञ्चालन र गुणस्तरीयताको विषयलाई लिएर उनी आन्दोलनमै छन् । 

सरकार तथा केही निजी कलेज सञ्चालकहरूले नेपाललाई दक्षिण एसियाकै एजुकेसनल हब बनाउने चर्चा पनि बेला बेलामा गरिरहन्छन् । तर नेपाललाई दक्षिण एसियाकै एजुकेसन हब बनाउने चर्चा चलिरहँदा नेपालबाट अध्ययनकै लागि बाहिरिने नेपाली विद्यार्थीको सङ्ख्या डरलाग्दो अवस्थामा छ । वार्षिकरूपमा नेपालबाट अध्ययनकै लागि विदेशिने नेपाली विद्यार्थीको सङ्ख्यामा वृद्धि भइरहेको छ । 

कुन आर्थिक वर्षमा कति विद्यार्थी विदेश पुगे ?

विगत ८ वर्षको तथ्याङ्क हेर्ने हो भने नेपालबाट विदेशमा अध्ययन गर्न जाने नेपालीहरूको सङ्ख्या व्यापक वृद्धि भइरहेको छ । 

आर्थिक वर्ष २०६७/६८ मा नेपालबाट अध्ययनका लागि विदेश जाने विद्यार्थीको सङ्ख्या जम्मा ११ हजार ९ सय ८२ जना थिए । 

त्यसपछिको आर्थिक वर्षमा यो सङ्ख्यामा केही कमी आयो । आर्थिक वर्ष २०६८/६९ मा अध्ययनका लागि विदेश जाने विद्यार्थी जम्मा १० हजार ३ सय २४ भए । 

तर आर्थिक वर्ष २०६९/७० मा भने यो सङ्ख्यामा व्यापक वृद्धि भयो । यो आर्थिक वर्षमा १६ हजार ५ सय ४ जना विद्यार्थी अध्ययनका लागि विदेश पुगे । 

यता अर्को आर्थिक वर्ष २०७०/७१ मा त्यो सङ्ख्यामा झण्डै दुई गुणाले वृद्धि हुन पुग्यो । आर्थिक वर्ष २०७०/७१ मा २८ हजार १ सय १६ जना अध्ययनका लागि भन्दै विदेश पुगे । 

त्यसैगरी आर्थिक वर्ष २०७१/७२ मा ३० हजार ६ सय ९६ जना अध्ययनकै नाममा विदेश पुगे भने २०७२/७३ मा ३२ हजार ४ सय ८९ विद्यार्थी चर्को शुल्क बुझाएर विदेश पुगे । 

त्यसैगरी आर्थिक वर्ष २०७३/७४ मा ५० हजार ६ सय ५९ जना विद्यार्थी अध्ययनकै लागि विदेश पुगेका छन् । गत आर्थिक वर्षमा यो सङ्ख्या ५८ हजारभन्दा बढी भयो । 

यो तथ्याङ्कले के देखाइरहेको छ भने प्रत्येक वर्ष नेपालबाट अध्ययनकै नाममा विदेश जाने विद्यार्थीको सङ्ख्यामा वृद्धि भइरहेको छ । यसले नेपालको शैक्षिक अवस्थाको चित्रण गर्न सकिन्छ भने वार्षिक रूपमा १ खर्बभन्दा बढी रकम उच्च शिक्षाकै नाममा विदेश पुगिरहेको छ । 

वार्षिक ६० हजार विद्यार्थी विदेशी कलेजमा

शिक्षा मन्त्रालय मातहतको नो अब्जेक्सन लेटर शाखाका प्रमुख देवीप्रसाद पौडेलका अनुसार वार्षिकरूपमा नेपालबाट अध्ययनका लागि बाहिरिने विद्यार्थीको सङ्ख्या बढिरहेको छ । आर्थिक वर्ष २०७४/७५ मा मात्रै नेपालबाट अध्ययनकै सिलसिलामा बाहिरिने नेपालीको सङ्ख्या ५८ हजार ७ सय ५८ जना पुगेको छ । यो गत आर्थिक वर्षको भन्दा ८ हजारले बढी हो ।

अझ भारतका अधिकांश कलेजहरूमा अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ आवश्यक नपर्ने भएकाले यो सङ्ख्यामा करिब ८ हजारको हाराहारीमा वृद्धि हुने उपसचिव पौडेल बताउँछन् ।

६० हजार विद्यार्थीले बुझाउँछन् १ खर्ब २० अर्ब रुपैयाँ

अहिले विदेशी कलेजहरुमा अध्ययनका लागि प्रति विद्यार्थी १० लाखदेखि ५० लाखसम्म तिर्ने गरिएको छ । सबैभन्दा महङ्गो विषय एमबीबीएसका विद्यार्थी अन्य विषयमा भन्दा कम नै छन् । सबै देश र विषयलाई अध्ययन गर्दा सरदरमा एक विद्यार्थीले २० लाख खर्च गरेर अध्ययन गर्ने गरेको कन्सल्टेन्सी सञ्चालकहरु बताउँछन् । यो तथ्याङ्कलाई हेर्दा करिब ६० हजार विद्यार्थीले प्रतिवर्ष १ खर्ब २० अर्ब रुपैयाँ विदेशी कलेजमा अध्ययनका लागि बुझाइरहेका छन् । 

५५ प्रतिशत विद्यार्थी अस्ट्रेलियामा

अध्ययनकै लागि भनेर विदेश जाने विद्यार्थीमध्ये करिब ५५ प्रतिशत विद्यार्थी अस्ट्रेलियामा मात्रै जाने गरेका छन् । आर्थिक वर्ष २०७४/७५ को तथ्याङ्क हेर्ने हो भने नेपालबाट अस्ट्रेलिया जाने विद्यार्थीको सङ्ख्या ३२ हजार २ सय १२ जना रहेको छ । जुन नो अब्जेक्सन लेटर लिएर विदेश अध्ययनका लागि जाने विद्यार्थीमध्ये ५४ दशमलब ८२ प्रतिशत हुन आउँछ । 

अस्ट्रेलियाको शिक्षा सस्तो भएर त्यहाँ जाने विद्यार्थीको सङ्ख्या बढी भएको होइन । बरु पछिल्लो दिनमा अस्ट्रेलियामा भोकेसनल एजुकेसन दिने इन्स्टिच्युटहरूको सङ्ख्यामा वृद्धि हुनु तथा अन्य देशमा भन्दा रोजगारीको सम्भावना पनि बढी हुने भएकाले मात्रै हो । 

कतिपय विद्यार्थीहरू डिपेन्डेन्ट भिसामा अर्को व्यक्तिलाई लैजान पाउने भएकाले पनि उनीहरूको पहिलो गन्तव्य अस्ट्रेलिया बन्ने गरेको छ । 

वार्षिक ६४ अर्ब रुपियाँ अस्ट्रेलियाली कलेजलाई

अहिले अस्ट्रेलियामा अध्ययन गर्ने कोर्सहरूमध्ये कुनै कोर्स १५ लाखमा पूरा हुन्छ भने केही कोर्सको मूल्य ३५ लाख नेपाली रुपियाँसम्म तिर्नुपर्छ । अस्ट्रेलियामा अध्ययन हुने विषय र त्यसबापत लाग्ने शुल्कलाई सरदरमा निकाल्ने हो भने करिब २० लाख प्रतिविषय हुन आउँछ । गत आर्थिक वर्षको मात्रै तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०७४/७५ मा अस्ट्रेलिया पढ्न जाने ३२ हजार २ सय १२ जना नेपाली विद्यार्थीहरूले त्यहाँको कलेजलाई ६४ अर्ब ४२ करोड रुपियाँ बुझाएका छन् । 

जापानमा वार्षिक १० हजार विद्यार्थी

शिक्षा मन्त्रालयको तथ्याङ्कअनुसार अस्ट्रेलियापछि धेरै विद्यार्थी जाने देश भनेको जापान हो । आर्थिक वर्ष २०७४/७५ मा नेपालबाट जापानमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूको सङ्ख्या १० हजार ३ सय ६६ जना छ । यो सङ्ख्यालाई प्रतिशतमा हेर्ने हो भने कुल विद्यार्थीको करिब १८ प्रतिशत हुन आउँछ । 

जापानमा पनि अस्ट्रेलियामा जस्तै अधिकांश विद्यार्थी युनिभर्सिटीभन्दा पनि भोकेसनल एजुकेसनका लागि जाने गरेका छन् । तर जापानमा भने पहिलो १ वा डेढ वर्ष जापानी भाषा पढ्नुपर्छ । त्यसपछि मात्रै उनीहरू सोझै भोकेसनल कलेज वा युनिभर्सिटीमा पढ्न पाउँछन् । 

वार्षिक १५ अर्ब ५५ करोड जापानी कलेजको खातामा

जापानमा अध्ययनका लागि जाने नेपालीहरूले अहिले वार्षिक ११ लाखदेखि २० लाखसम्म तिर्ने गरेका छन् । यो शुल्कलाई सरदरमा हेर्दा प्रतिविद्यार्थी करिब १५ लाखका दरले विद्यार्थीले जापानी कलेजहरूलाई शुल्क तिरिरहेका छन् । गत आर्थिक वर्ष जापान गएका विद्यार्थीको सङ्ख्यालाई हेर्दा गत आवमा नेपालबाट करिब १५ अर्ब ५५ करोड रुपियाँ जापानी कलेजको बैङ्क खातामा जम्मा भएको छ । 

तेस्रो नम्बरमा भारत !

भिसा नचाहिने र छिमेकी देश भए पनि भारतमा भने गत आर्थिक वर्षमा जम्मा १ हजार ९ सय ४४ जना मात्रै गएको देखिन्छ । मुख्यतः भारतमा बीएस्सी नर्सिङ र इन्जिनियररिङ अध्ययनका लागि विद्यार्थी जाने गरेका थिए । नेपाली विद्यार्थीको अध्ययनस्थल कर्नाटकको बैङ्गलोर नै हो । तर गतवर्ष इन्डियन नर्सिङ काउन्सिलले अधिकांश कलेजको सम्बनधन खारेज गर्दै विदेशी विद्यार्थीलाई समकक्षता नदिने बताएपछि त्यहाँ जाने विद्यार्थीको सङ्ख्यामा केही कमी आएको छ । तर भारतमा अध्ययनका लागि नो अब्जेक्सन लेटर (एनओसी) अनिवार्य नभएकाले अधिकांश विद्यार्थी एनओसी नै नलिई अध्ययनका लागि जाने गरेका छन् । जसका कारण भारत जाने विद्यार्थीको सङ्ख्या सरकारी तथ्याङ्कमा कम देखिएको छ । यद्यपि वार्षिक कम्तीमा पनि १० हजार विद्यार्थी अध्ययनकै लागि भारत जाने गरेको कन्सल्टेन्सी सञ्चालकहरू बताउँछन् ।

भारतमा मात्रै वार्षिक १० अरब
अध्ययनका लागि भारत अन्य देशभन्दा केही सस्तो छ । भारतमा अध्ययनका लागि पूरा कोर्सको सरदर १० लाख नेपाली रुपियाँ भए पुग्छ । जसका लागि नेपालबाट प्रत्येक वर्ष करिब १० अर्ब नेपाली रुपियाँ भारतमा पुग्ने गरेको छ । 

अमेरिकामा वार्षिक करिब १ हजार ८ सय विद्यार्थी
भारतपछि नेपाली विद्यार्थी धेरै जाने अर्को देश संयुक्त राज्य अमेरिका हो । नेपाली विद्यार्थी जाने मुलुकमध्ये चौथो नम्बरमा रहेको अमेरिकामा गत आर्थिक वर्षमा १ हजार ७ सय ९० विद्यार्थी अमेरिका गएका छन् ।
अमेरिकाको अध्ययनको शुल्क भने अन्य देशको तुलनाम धेरै महँगो छ । अमेरिकामा अध्ययनका लागि सरदरमा करिब ३५ लाख नेपाली रुपियाँ तिर्नुपर्छ । कुनै विद्यार्थी अध्ययनका लागि अमेरिका जान चाहेमा उसले सुरुमै करिब २० लाख नेपाली रकम बुझाउनुपर्छ । वार्षिक रूपमा प्रतिविद्यार्थी २० लाखका दरले हिसाब गर्ने हो भने पनि अमेरिकामा अध्ययनका लागि जाने नेपाली विद्यार्थीबाट प्रतिवर्ष ३ अर्ब ५८ करोड रुपियाँ अमेरिकी कलेजको बैङ्क खातामा पुग्ने गरेको छ ।

चीनमा १६ सय ३७, बङ्गलादेशमा ६ सय ५७ जना 
त्यसैगरी छिमेकी देश चीनमा अध्ययनका लागि गत आर्थिक वर्षमा जम्मा १ हजार ६ सय ३७ जना विद्यार्थी पुगेका छन् । उनीहरूमध्ये एमबीबीएस अध्ययन गर्न जानेको सङ्ख्या ४० जना मात्रै छ । 
यता चर्चामा रहेको बङ्गलादेशमा भने गत वर्ष ६ सय ५७ जना विद्यार्थी अध्ययनका लागि पुगेका छन् । उनीहरूमध्ये २ सय ९८ जना विद्यार्थी एमबीबीएस अध्ययनका लागि बङ्गलादेश पुगेका छन् । चीन र बङ्गलादेशमा एमबीबीएस अध्ययनका लागि ४० देखि ४५ लाख नेपाली रुपियाँ खर्च हुन्छ । 

मरिससदेखि भियतनामसम्म नेपाली विद्यार्थी
अध्ययनका लागि नेपालबाट बाहिरिने विद्यार्थी सम्पन्न र चलेका देशमा मात्रै छैनन्, नामै नसुनिएका देशमा पनि पुग्ने गरेका छन् । शिक्षा मन्त्रालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ३ सय ६४ विद्यार्थी अध्ययनका लागि भन्दै मरिसस पुगेका छन् । मरिससमा अध्ययनसँगै काम गरी राम्रो आम्दानी हुने सपना देखाइए पनि मरिससमा काम गर्ने पैसाले अध्ययन गर्नसमेत पुग्दैन । जसका कारण यसअघि नै कयौँ विद्यार्थीलाई नेपालमा उद्धार गरी ल्याइएको थियो ।

त्यसबाहेक बोस्निया हर्जगोभिना, स्वाजिल्यान्ड, युक्रेन, रोमानिया र भियतनाममा समेत विद्यार्थीहरू अध्ययनका लागि जाने गरेका छन् ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप