मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

संविधानको रक्षा र रुकुमलाई गरिबीमुक्त बनाउन मेरो उम्मेदवारी : जनार्दन शर्मा

सोमबार, १८ फागुन २०८२, १६ : २५
सोमबार, १८ फागुन २०८२

सारांश

  • प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्माले संविधान रक्षा र गरिबीमुक्त रुकुम बनाउने प्रतिबद्धता जनाए।
  • शर्माले युवा पुस्ताको दबाब र राष्ट्रिय संकट समाधानका लागि उम्मेदवारी दिएको बताए, जलविद्युत र पर्यटनमा जोड दिने योजना छ।
  • उनले विगतका कामको स्मरण गर्दै आगामी ५ वर्षमा पार्टीलाई प्रमुख प्रतिस्पर्धी बनाउने लक्ष्य लिएका छन्।

रुकुम पश्चिम । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक तथा रुकुम पश्चिमका उम्मेदवार जनार्दन शर्माले मूर्छित अवस्थामा रहेको संविधानको रक्षा गर्न र रुकुमलाई गरिबी तथा बेरोजगारमुक्त जिल्ला बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन् । 

देशको राष्ट्रियता र अर्थतन्त्र संकटमा रहेको भन्दै उनले ठूलो त्याग र बलिदानबाट प्राप्त संविधानलाई ब्युँझाएर क्रियाशील गराउनु आफ्नो मुख्य एजेन्डा रहेको स्पष्ट पारेका छन्।

युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने आफ्नो चाहना भए पनि जिल्लाका सबै राजनीतिक दलका समर्थक र आम जनताको निरन्तर दबाबका कारण आफू चुनावी मैदानमा आउनुपरेको शर्माले सोमबार एक भिडियो सम्बोधनमार्फत दाबी गरे। ’राष्ट्रिय संकट समाधान गर्न र केन्द्रमा पहुँच पुर्‍याउन तपाईंकै भूमिका महत्त्वपूर्ण हुन्छ भनेर सबैतिरबाट आग्रह आएपछि मैले उम्मेदवारी दिएको हुँ,’ शर्माले भने। उनले आफ्नो पार्टी प्रलोपाले देशभरि जेनजीसहितका युवा पुस्तालाई उल्लेख्य मात्रामा उम्मेदवार बनाएको र पार्टीको नेतृत्व पनि युवाकै हातमा रहेको जानकारी दिए।

रुकुम पश्चिमको आर्थिक विकास र समृद्धिका लागि शर्माले स्पष्ट खाका प्रस्तुत गरेका छन्। जिल्लामा रहेका ठूली भेरी र सानी भेरी नदीमा दर्जनौं जलविद्युत आयोजना निर्माण गरी हजारौंलाई रोजगारी दिने उनको योजना छ। यसका साथै जंगल, उर्वर जमिन र पर्यटकीय क्षेत्रको भरपुर उपयोग गरिने उनले बताए। नयाँ पुस्ताको चाहनालाई सम्बोधन गर्दै शर्माले सूचना प्रविधि (आईटी), आर्टिफिसियल इन्टेलिजेन्स (एआई), खेलकुद (क्रिकेट, फुटबल) र कला–संगीतको क्षेत्रबाट समेत स्वरोजगारका अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे।

विगतमा आफूले गरेका कामको मूल्यांकन जनताले नै गर्ने भन्दै शर्माले आफ्नो पालामा भएका सडक सञ्जाल विस्तार, ’उज्यालो रुकुम’ अभियान अन्तर्गत बनेका ३८ वटा मिनी हाइड्रो र अस्पताललगायतका स्वास्थ्य पूर्वाधारहरुको स्मरण गराए। १३ वर्षको उमेरदेखि राजनीतिमा होमिएका शर्माले भूकम्प, कोभिड महामारी वा अन्य कुनै पनि विपद्को समयमा आफू सधैँ जनताको साथमै रहेको बताए।

नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीले देशैभरउम्मेदवार उठाएको र यसपटक समानुपातिकतर्फ ४ देखि ५ लाख मत ल्याएर राष्ट्रिय पार्टी बन्ने लक्ष्य राखेको उनले जानकारी दिए। आगामी ५ वर्षभित्र यो वामपन्थी तथा प्रगतिशील पार्टीलाई देशकै प्रमुख प्रतिस्पर्धी शक्तिका रूपमा उभ्याउने उनको दाबी छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप