मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

पुछारमा रहेको वुल्भ्ससँग साबिक विजेता लिभरपुल स्तब्ध

बुधबार, २० फागुन २०८२, ०७ : १५
बुधबार, २० फागुन २०८२

सारांश

  • वुल्भ्सले लिभरपुललाई २-१ गोलले पराजित गर्‍यो, आन्द्रेले निर्णायक गोल गरे।
  • मोहम्मद सलाहको गोलले खेल बराबरीमा ल्याए पनि लिभरपुलले अन्तिम समयमा गोल खायो।
  • वुल्भ्सका लागि यो सिजनको तेस्रो जित हो, जसले रेलगेसनको दबाब कम गरेको छ।

लण्डन । ९४औँ मिनेटमा आन्द्रेले गरेको निर्णायक गोलको मद्दतले प्रिमियर लिगको पुछारमा रहेको वुल्भ्सले साबिक विजेता लिभरपुलमाथि २-१ गोलको रोमाञ्चक जित दर्ता गरेको छ। जो गोमेजसँग ठोक्किएर गोलमा परिणत भएको आन्द्रेको प्रहारले मोलिन्यु रंगशालामा घरेलु समर्थकलाई उत्सव मनाउने अवसर दियो।

लिभरपुलका लागि मोहमद सलाहले गोल गर्दै खेललाई बराबरीमा ल्याए पनि इन्जुरी समयमा सम्हालिन नसक्दा लिभरपुलले यो सिजन पाँचौंपटक अन्तिम समयमा गोल खाँदै अंक गुमाउन पुग्यो।

रेलगेसनको दबाबमा रहेको रब एड्वर्ड्सको टोलीका लागि यो सिजनको मात्र तेस्रो जित हो। यद्यपि, वुल्भ्सले पछिल्ला तीन घरेलु खेलमा लिभरपुल र एस्टन भिल्लालाई हराउनुको साथै आर्सनललाई बराबरीमा रोकेर आफू अझै पनि बलियो चुनौती दिन सक्षम रहेको प्रमाणित गरेको छ। गोलपछि खुसीयाली मनाउने क्रममा टचलाइनमा दौडिएका प्रशिक्षक एड्वर्ड्स आफैँ पनि घाइते हुन पुगे, जसलाई उनले खेलपछिको अन्तर्वार्तामा ठट्टाको विषय बनाएका थिए।

खेलको सुरुवात हुनुअघि दुवै टोलीका समर्थकहरूले गत जुलाईमा सडक दुर्घटनामा ज्यान गुमाएका पूर्व फरवार्ड डिएगो जोटाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। मैदानमा दुवै टोलीका तर्फबाट जोटाको सम्झनामा ब्यानरहरू प्रदर्शन गरिएका थिए, जसले रंगशालाको वातावरणलाई निकै भावुक बनाएको थियो।

खेलको पहिलो हाफ तुलनात्मक रूपमा सुस्त रहे पनि दोस्रो हाफ निकै प्रतिस्पर्धात्मक बन्यो। वुल्भ्सका लागि टोली आरोकोदारेको पासमा रोड्रिगो गोम्सले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। लगत्तै लिभरपुलका १७ वर्षीय युवा खेलाडी रियो न्गुमोहाको प्रहार पोलमा लागेर फर्कियो ।

तर केही समयपछि नै बेलगार्डेको गल्तीको फाइदा उठाउँदै सलाहले गोल गरेर खेल १-१ को स्थितिमा ल्याए। नोभेम्बरपछि प्रिमियर लिगमा सलाहको यो पहिलो गोल थियो।

यो हारसँगै लिभरपुलले म्यानचेस्टर युनाइटेड र एस्टन भिल्लासँग अंक बराबरी गर्ने मौका गुमाएको छ र टोली ५१ अंकका साथ पाँचौ स्थानमा यथावत छ। अर्कोतर्फ, महत्त्वपूर्ण तीन अंक जोडे पनि वुल्भ्स तालिकाको पुछारमै छ र रेलगेसन क्षेत्रबाट उम्किन अझै ११ अंकको दुरी बाँकी छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप