भोलि भोट हाल्न उत्साहित छन् सुदूरपश्चिमका मतदाता
धनगढी । सुदूरपश्चिमका मतदाताहरू भोलि हुने प्रतिनिधि सभाको निर्वाचनमा मतदान गर्न उत्साहित देखिएका छन् ।
परिवर्तनका लागि विशेष परिस्थितिका कारण हुन लागेको यो निर्वाचनमा आफूहरू मतदान गर्न आतुर रहेको धनगढीमा भेटिएका मतदाताहरूले बताएका छन् । सुदूरपश्चिममा १७ लाख १६ हजार ६ सय ६० मतदाता रहेका छन् । यीमध्ये अधिकांश आफ्नो मताधिकार प्रयोग गर्न आआफ्नो गृहजिल्ला फर्किसकेका छन् । प्रदेशबाहिर तथा भारत र तेस्रो मुलुकमा रहेका नेपालीहरू पनि मतदानका लागि घर फर्किएर तयारी गरिरहेका छन् । कतिपय मतदाताहरूले विगतका निर्वाचनभन्दा यो निर्वाचनलाई विशेष र महत्त्वपूर्ण मानेका छन् ।
धनगढीका सुरत खड्कालाई यो निर्वाचन निकै महत्त्वपूर्ण लागेको छ । बुधवार आफ्नो पसलमा बसेका उनी भोलि कतिबेला मतदान गर्ने समय आउला भनेर आतुर रहेको बताउँछन् ।
उनी कैलाली क्षेत्र नम्बर ५ का मतदाता हुन् । आफ्नो निर्वाचन क्षेत्र नजिकै भएकाले उनी बुधवार पनि पसलमै बसेका थिए । टाढाका निर्वाचन क्षेत्रमा मतदान गर्न जाने उनका अन्य पसले साथीहरू भने घर फर्किसकेका छन् । उनी यो पटकको निर्वाचनमा प्रतिनिधिहरू छनोट गर्न पाउँदा निकै उत्साहित रहेको बताउँछन् ।
‘भोलि हामी साह्रै उत्साहित भएर मतदान स्थलमा जानेछौँ । सबै मतदान गर्न आतुर र खुसी छन् । विशेष परिस्थितिका कारण छिटै निर्वाचन हुन पुग्यो, यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ,’ उनले भने ।
उनले विगतभन्दा यस पटक आफ्नो मत नयाँ उम्मेदवारलाई दिने बताए ।
कैलालीका चक्रदेव भट्ट पनि मतदान गर्न आतुर रहेको बताउँछन् । उनले देशमा स्थिरता र विकास ल्याउन सक्ने उम्मेदवारलाई मतदान गर्ने बताए । मतदान गर्दा सबैले समझदारीका साथ काम गर्ने व्यक्तिलाई रोज्नुपर्ने उनको बुझाइ छ ।
उनका अनुसार हाल देशको अवस्था नाजुक छ र अब देशको जिम्मेवारी नयाँ युवा पुस्ताको काँधमा आउनुपर्ने उनको बुझाइ छ । त्यसैले उनी नयाँ उम्मेदवारको पक्षमा मतदान गर्ने बताउँछन् । उनले ६ पटक मतदान गरिसकेका छन् ।
‘उम्मेदवारप्रति खासै विश्वास त लाग्दैन, तर पनि यो पटक केही परिवर्तन हुने आशामा मतदान गर्दैछु,’ उनले भने । यो पटक युवाहरूको ठूलो जमात उम्मेदवार बनेका हुनाले उनी मतदान गर्न उत्साहित भएका छन् ।
देशको विकास, सार्वभौम सत्ताको अस्तित्व बचाउने र भ्रष्टाचार नगर्ने उम्मेदवारका पक्षमा मतदान गर्न उनी केही घण्टाको प्रतीक्षामा छन् ।
कैलालीको गोदावरी नगरपालिका–१ का तिलक चौधरीले पनि मतदान गर्न खुसी रहेको बताए ।
‘जिन्दगीमा धेरै पटक मतदान गरें, तर यो निर्वाचन खास छ,’ उनले भने । उनी कैलाली क्षेत्र नम्बर ४ को घण्टेश्वरी माध्यमिक विद्यालयको मतदान स्थलमा मतदान गर्दैछन् । मतदाता शिक्षाबारे भने उनलाई कसैले पनि जानकारी नदिएको उनले बताए । आफूलाई मतदान गर्न आउने गरेको भए पनि, मतदानको सही तरिका थाहा नपाउँदा मत बदर हुने सम्भावना भने रहेको उनको भनाइ छ ।
यो पटक नयाँ उम्मेदवारले चुनाव जित्ने र नयाँ पुस्ता संसद्मा आउने उनको भनाइ छ ।
कैलालीको क्षेत्र नम्बर २ की मतदाता रेखा चौधरी पनि उत्साहित भएर धनगढीबाट फर्कँदै छिन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा यस पटक युवा उम्मेदवार उठेकाले मतदान गर्न आफू उत्साहित भएको बताइन् ।
‘म मात्र होइन, सबै मतदाताहरू भोलि मतदान गर्न खुसी छन् । यो विशेष निर्वाचन हो, कस्तो नतिजा आउँछ, त्यो हेर्न झन् उत्साहित छौँ,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण