मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

ओखलढुंगाको मानेभञ्ज्याङ– ७ मा खसेन मत

बिहीबार, २१ फागुन २०८२, १८ : २२
बिहीबार, २१ फागुन २०८२

सारांश

  • बिहीबार देशभरका प्रतिनिधि सभा सदस्य छान्न मतदान सम्पन्न भयो।
  • निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
  • मतपेटिका संकलनपछि तोकिएको स्थानमा मतगणना सुरु हुनेछ।

विराटनगर । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीय बासिन्दाले अस्पताल निर्माणको माग पूरा नभएको विरोधमा आम निर्वाचन बहिष्कार गरेका छन् । बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनमा सो वडाको सातसल्ले मतदान केन्द्रमा एक जना पनि स्थानीय मतदाताले मतदान गरेनन्।

७०१ जना मतदाता रहेको उक्त केन्द्रमा स्थानीयले सामूहिक रूपमा चुनाव बहिष्कार गरेपछि निर्वाचनमा खटिएका ४ जना कर्मचारी (अस्थायी मतदाता) ले मात्रै मतदान गरेका छन्। कर्मचारीको मतदानपश्चात मतपेटिका सिलबन्दी गरिएको छ ।

स्थानीयका अनुसार प्रदेशस्तरीय अस्पताल निर्माणका लागि उनीहरूले १६५ रोपनीभन्दा बढी जग्गा निःशुल्क रूपमा प्रदेश सरकारको नाममा पास गरिदिएका थिए । तर, वर्षौँ बितिसक्दा पनि अस्पताल भवनको काम सुरु नभएपछि आक्रोशित स्थानीयले दबाब स्वरूप मतदान नगर्ने निर्णय गरेका हुन् ।

उनीहरूले गत फागुन १८ गते भेला भएर औपचारिक रूपमा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका थिए। यसबारे जिल्ला प्रशासन कार्यालय र निर्वाचन आयोगलाई समेत पहिल्यै जानकारी गराइएको थियो। सोही वडाकै अर्को मतदान केन्द्र हर्कपुर मावि मा भने ५७६ जना मतदाताले मतदान गरेका थिए।

स्थितिको जानकारी पाएपछि मेखबहादुर मंग्रातीको नेतृत्वमा प्रशासनिक र सुरक्षा टोली मतदान केन्द्र पुगेर स्थानीयलाई फकाउने प्रयास गरेको थियो। तर, स्थानीयहरू मतदान केन्द्रबाहिर समूह बनाएर बसे पनि भित्र पस्न मानेनन्। कुनै पनि मतदाता भोट हाल्न नजाऊन् भनेर उनीहरूले आफैँ निगरानीसमेत गरेका थिए।

विगतमा विभिन्न राजनीतिक दलको झण्डा बोकेर हिँड्ने कार्यकर्तासमेत यसपटक विकासको माग गर्दै बहिष्कार अभियानमा ऐक्यबद्ध देखिएका छन्। ‘अस्पताल बन्ने आशामा जग्गा दियौँ, तर सरकारले एउटा इँटा पनि थपेन। सरकारको यो उदासीनता विरुद्ध हामीले मत नखसाल्ने निर्णय गरेका हौँ,’ एक स्थानीयले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप