आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

हर्क साम्पाङको क्षेत्रमा मतगणना सुरु

शुक्रबार, २२ फागुन २०८२, १४ : २२
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • सुनसरी निर्वाचन क्षेत्र नं १ को मतगणना सुरु भएको छ, जसमा हर्क साम्पाङलगायत उम्मेदवार छन्।
  • धरान ८ सभागृहतस्थित निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो।
  • पहिलो चरणमा धरानको वडा नं १ को २ वटा मतपेटिका खोलिएको छ र प्रत्येक २ घण्टामा नतिजा सार्वजनिक गरिनेछ।

सुनसरी  । सुनसरी निर्वाचन क्षेत्र नं १ को मतगणना सुरु भएको छ । यहाँबाट श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका धरानका पूर्वप्रमुख हर्क साम्पाङलगायत उम्मेदवार रहेका छन् । 

धरान ८ सभागृहतस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान ९ बजे सर्वदलीय बैठक बसेर बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भएको थियो । तर, मतगणना भने भर्खरै सुरु भएको हो । 

मतगणनामा सहभागी हुने राजनीतिक दल तथा उम्मेदवारहरूको परिचयपत्र तयारीको कारण गणना ढिला भएको कार्यालयले जनाएको छ । 

पहिलो चरणमा धरानको वडा नं १ को २ वटा मतपेटिका खोलिएको निर्वाचन अधिकृत दिव्यराज घिमिरेले जानकारी दिए । प्रत्येक दुई घण्टामा मतगणनाको नतिजा सुनाउने सहमति भएको सर्वदलीय बैठकमा भएको छ । 

सुनसरी १ मा कुल १ लाख ५० हजार ३९३ मतदाता भएकोमा कुल ८८ हजार ३७२ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

खसेको मतमध्ये ४७ हजार ९०८ महिला मतदाताहरूले मतदान गरेका छन् भने ४० हजार ४६४ पुरुष मतदाताहरूले मतदान गरेको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप