आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

चुनाव जिते देशैभरि श्रमदान, हारे दार्चुलामा पुल बनाउँछु : हर्क साम्पाङ

‘धाँधली भयो भनेर सडकमा रुवाबासी गर्दिनँ’
शुक्रबार, २२ फागुन २०८२, २२ : ०२
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचनको नतिजालाई लिएर हतार नगर्न आग्रह गरे।
  • उनले चुनाव जिते श्रम अभियान देशव्यापी बनाउने र हारे पनि वाचा पूरा गर्ने बताए।
  • साम्पाङले चुनावको नतिजालाई स्वीकार्दै श्रमको मुद्दा नछाड्ने प्रतिबद्धता व्यक्त गरे।

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरानका पूर्व मेयर हर्क साम्पाङले निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर आत्तिने वा मात्तिने काम गर्न नहुने बताएका छन् । मत परिणाम सार्वजनिक भइरहँदा सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले अन्तिम नतिजा नआएसम्म हतारमा खुसीयाली मनाउने वा निराश हुने गल्ती गर्न नहुने बताएका हुन्। 

उनले चुनाव जिते आफ्नो श्रम अभियानलाई देशव्यापी बनाउने र हारे पनि दार्चुलामा पुल बनाउने आफ्नो बाचा पूरा गरेरै छाड्ने उद्घोष गरे। लोकतन्त्रमा जनताको मत नै सर्वोपरि हुने भन्दै साम्पाङले निर्वाचनको जे जस्तो परिणाम आए पनि त्यसलाई सहर्ष स्वीकार गर्ने स्पष्ट पारे। 

आफूले चुनाव हारे पनि धाँधली भयो भनेर सडकमा रुवाबासी नगर्ने बरु जनताको निर्णयलाई शिरोधार्य गर्ने उनको भनाइ छ। चुनावमा जो पनि जित्छु भनेरै उठ्ने भए पनि हारजितको छिनोफानो मतपेटिकाले नै गर्ने भएकाले जनताले जसलाई जिताउँछन्, उसैलाई स्वीकार गरेर अघि बढ्ने साम्पाङले बताए।

आफ्नो पार्टी सत्तामा पुगे पनि वा नपुगे पनि श्रमको मुद्दा कहिल्यै नछाड्ने उनले दाबी गरे। देशमा जहाँ(जहाँ विकास निर्माणका काममा ढिलासुस्ती र अनियमितता भएको छ, त्यहाँ आफ्नो पार्टीले खबरदारी र हस्तक्षेप गर्ने साम्पाङले चेतावनी दिए। 

आफू संसद्मा पुगे पनि वा सडकमा रहे पनि सत्ता र सरकारलाई सधैँ दबाबमा राखेर काम गर्न बाध्य पार्ने उनको योजना छ। देशैभरि पार्टीको सङ्गठन विस्तार गर्ने र ढिलासुस्ती भएका ठाउँमा आक्रामक शैलीमा श्रम संस्कृति पार्टी अघि बढ्ने उनले प्रस्ट पारे।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिइरहेको र आफ्नो पार्टी पछि परेको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा साम्पाङले जनताले जसलाई भोट दिन्छन्, त्यही नै सत्य हुने बताए। लोकतन्त्रमा जनताले जसलाई चाहन्छन् उसैलाई छान्ने अधिकार हुने भन्दै उनले आफ्नो पार्टीका केही भोट घटेको विषयलाई पनि सामान्य रूपमै लिएको प्रतिक्रिया दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप