आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए

आइतबार, ३१ जेठ २०८३, १७ : ०९
आइतबार, ३१ जेठ २०८३

बर्दिया । बर्दियाको बाँसगढी नगरपालिकामा पर्यावरण संरक्षण र हरित विकासलाई बढवा दिने उद्देश्यका साथ ५०० थान बाँसका बिरुवा रोपिएका छन्। बाँसगढी नगरपालिका वडा नम्बर ८ मा रहेको श्री नवदुर्गा सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा आइतबार एक विशेष वन प्रवर्द्धन तथा वातावरणीय कार्यक्रमको आयोजना गरी ती बिरुवाहरू रोपिएका हुन् । 

यो कार्यक्रम लुम्बिनी वर्ल्ड पिस फोरम र बाँसगढी नगरपालिकाको संयुक्त आयोजना तथा कुमारी बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर  अन्तर्गतको आर्थिक सहयोगमा सम्पन्न भएको हो।

वृक्षारोपण कार्यक्रममा बोल्दै बाँसगढी नगरपालिकाका प्रमुख (मेयर) खड्गबहादुर खड्काले पर्यावरण संरक्षण र नगरको हरित विकासमा यो अभियान कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे । जलवायु परिवर्तनको चपेटामा परिरहेको वर्तमान अवस्थामा यस्ता वृक्षारोपण कार्यक्रमहरू निकै सान्दर्भिक रहेको उल्लेख गर्दै उनले बाँसगढी नगरपालिकालाई वातावरणमैत्री र समृद्ध बनाउन स्थानीय सरकार हरदम प्रयासरत रहेको बताए।

नगर प्रमुख खड्काले यस पुनित कार्यका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग पुर्‍याएकोमा कुमारी बैंक लिमिटेडलाई विशेष धन्यवाद समेत ज्ञापन गरे।

कार्यक्रममा लुम्बिनी वर्ल्ड पिस फोरमका संस्थापक एवं ‘१ मिलियन (१० लाख) रुख रोपण तथा संरक्षण अभियान’ का प्रणेता बासु गौतमले बाँसको बहुआयामिक र आर्थिक महत्त्वमाथि प्रकाश पारेका थिए । बाँस केवल एउटा बिरुवा मात्र नभएर स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने गतिलो माध्यम भएको उनको भनाइ थियो ।

गौतमले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र द्रुत गतिमा कार्बन सोस्न बाँस निकै उपयोगी मानिने हुनाले यसको व्यावसायिक खेती र संरक्षणले पर्यावरण र नागरिकको आयआर्जन दुवैमा ठुलो टेवा पुग्ने प्रस्ट पारे।

त्यसैगरी, कुमारी बैंक लिमिटेड बाँसगढी शाखाका प्रतिनिधि नीरज चटौतले कुमारी बैंक बैंकिङ सेवाका साथसाथै समाजको दिगो विकास र वातावरण संरक्षणमा सधैँ प्रतिबद्ध रहेको बताए । आगामी दिनहरूमा पनि स्थानीय समुदायको हित र वातावरणीय सुधारका कार्यहरूमा बैंकले निरन्तर सहकार्य गरिरहने प्रतिबद्धता उनले व्यक्त गरे। स्थानीय जनप्रतिनिधिहरू, वन उपभोक्ता समूहका पदाधिकारीहरू, बुद्धिजीवी तथा प्रकृति प्रेमी नागरिकहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा रोपिएका बिरुवाहरूको उचित संरक्षणका लागि स्थानीय समुदायले नै पूर्ण स्वामित्व लिने प्रतिबद्धता समेत जनाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप