मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
जनप्रतिनिधि

१२ वर्षपछि दैलेख-१ मा कांग्रेसको पुनरागमन

तीन पूर्वसहकर्मी आमनेसामने हुँदा बासनालाई फाइदा
शनिबार, २३ फागुन २०८२, ०८ : २७
शनिबार, २३ फागुन २०८२

सुर्खेत । दैलेखको राजनीतिक इतिहासमा नछुट्ने नाम हो, गणेशबहादुर खड्का । वि.सं. २०५२ मा भौतिक योजना, निर्माण तथा यातायात सहायकमन्त्री र २०६४ सालमा स्थानीय विकास राज्यमन्त्री भएका उनकै पालामा दैलेखमा मोटरबाटो र बिजुली पुगेको हो ।

पञ्चायतकालदेखि कांग्रेस दैलेखको नेतृत्वमा रहेका उनीसँग उक्त क्षेत्रमा प्रतिस्पर्धा गर्न वामपन्थीहरू डराउँथे । दैलेख नेमकिपाको प्रभाव क्षेत्र रहँदा पनि खड्काले नै चुनाव जित्थे ।

२०४८, २०५१ र २०६४ सालमा दैलेख-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी २०७० सालमा भने नेपाली कांग्रेसभित्रकै अन्तर्घातका कारण पराजित भए ।

पार्टीभित्रको गुटबन्दीले खड्का पराजित भएपछि दैलेख-१ मा नेपाली कांग्रेस कमजोर बन्दै गयो । २०७४ सालमा वाम गठबन्धनको दबदबा हुँदा हार्ने डरले कांग्रेसले आफ्नै उम्मेदवार नउठाई राप्रपालाई सघायो ।

२०७९ सालमा वाम-लोकतान्त्रिक गठबन्धन बन्दा यो क्षेत्रबाट एकीकृत समाजवादीका अम्मरबहादुर थापाले टिकट पाए र उनले कांग्रेसकै बलमा चुनाव जिते ।

यस निर्वाचन क्षेत्रको प्रमुख राजनीतिक दल भए पनि गणेशबहादुर खड्काको पराजयसँगै दैलेख-१ मा कांग्रेस कमजोर बनेको थियो । तर, १२ वर्षपछि उनै खड्काको विरासत फर्काउन ४५ वर्षीया महिला नेतृ बासना थापा सफल भएकी छन् ।

शुक्रबार राति सम्पन्न मतगणनाअनुसार निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रवीन्द्रराज शर्मालाई उनले ५ सय ७६ मतान्तरले पराजित गरिन् । शर्मा तिनै व्यक्ति हुन्, जो २०४८ र २०५१ सालमा कांग्रेसका गणेश खड्कासँग पराजित भएका थिए भने २०७४ सालमा चुनाव जितेका थिए ।

बासनाले १२ हजार ३ सय ७२ मत प्राप्त गर्दा शर्माले ११ हजार ७ सय ९६ मत पाए । यस्तै, तेस्रो स्थानमा रहेका रास्वपाका नन्दकिशोर बस्नेतले ७ हजार ८ सय ९४ मत ल्याए भने नेपाली कम्युनिस्ट पार्टीका अम्मरबहादुर थापाले जम्मा ४ हजार १ सय ९ मत मात्रै पाए ।

तीन पूर्वसहकर्मी आमनेसामने हुँदा बासनालाई फाइदा

पुराना र अनुभवी नेताहरू रवीन्द्रराज शर्मा र अम्मरबहादुर थापासँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले बासनाका लागि यो चुनाव निकै चुनौतीपूर्ण थियो ।

त्यस्तै, रास्वपाबाट उम्मेदवार बनेका बस्नेतसहित यी तीनै जना नेता कुनै बेला एमालेभित्रका सहकर्मी थिए । अहिले फरक-फरक पार्टीबाट चुनावी मैदानमा उत्रिँदा एमालेको मत विभाजित भयो, जसको प्रत्यक्ष फाइदा कांग्रेसकी बासनालाई पुग्यो ।

दैलेख सदरमुकाममा रहेको होटेल पार्किङकी सञ्चालक बासना २०७४ सालमा नारायण नगरपालिकाको उपप्रमुखमा चुनाव लडेकी थिइन्, तर झिनो मतले पराजित भइन् ।

नेविसंघको राजनीतिबाट उदाएकी उनी काठमाडौँमै जन्मेर हुर्केकी हुन् । नेपाली सिने जगत्‌की लोकप्रिय नायिका विपना थापाकी बहिनी उनी विवाहपश्चात् दैलेख आएकी हुन् ।

उनी दैलेख कांग्रेसभित्र चिनिएकी महिला नेतृ हुन् । विगतमा कांग्रेसले दैलेखमा गरेको विकासलाई नै आफ्नो चुनावी एजेन्डा बनाएकी उनले गणेशबहादुर खड्काको विरासत फर्काउने बताउँदै आएकी थिइन् ।

‘यो क्षेत्रको हालसम्मको विकासमा कांग्रेसको अग्रणी भूमिका छ । अर्कोतर्फ, चुनावी मैदानमा म एक मात्र महिला उम्मेदवार भएकाले पनि मप्रति सबैको सहानुभूति रह्यो,’ बासनाले भनिन्, ‘पार्टीको बलियो संगठन नै मेरो जितको मुख्य आधार हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप