बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

एसपीए कैलाली प्राइड लिग : घोडाघोडी र बुढीगंगाको दोस्रो जित

शनिबार, ३० फागुन २०८२, २२ : ३०
शनिबार, ३० फागुन २०८२

सारांश

  • फाप्ला क्रिकेट मैदानमा भएको खेलमा घोडाघोडी नगरपालिकाले पुनर्वासलाई १०१ रनले हरायो।
  • बुढीगंगा नगरपालिकाले गोदावरीलाई ६ विकेटले पराजित गर्दै अर्को जित दर्ता गर्यो।
  • प्रतियोगितामा सुदूरपश्चिमका स्थानीय तहहरू सहभागी छन्, जसको आयोजना कैलाली जिल्ला क्रिकेट संघले गरेको हो।

धनगढी । धनगढीको फाप्ला क्रिकेट मैदानमा भइरहेको ‘एसपीए कैलाली प्राइड लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता’ को तेस्रो दिन आज घोडाघोडी नगरपालिका र बुढीगंगा नगरपालिका विजयी भएका छन् ।

आजको पहिलो खेलमा घोडाघोडी नगरपालिकाले पुनर्वास नगरपालिका (ए) लाई १०१ रनको फराकिलो अन्तरले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको घोडाघोडीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०६ रनको विशाल योगफल खडा गरेको थियो। घोडाघोडीका लागि

टेक रावतले ३५ बलमा ६९ रन, नवयुग बस्नेतले ३१ बलमा ३४ रन, अनुभव ठकुल्लाले १४ बलमा २३ रन र सुनिल दैल्यालले १३ बलमा २० रनको योगदान दिए । बलिङतर्फ पुनर्वासका भरत चन्द, नीरज सार्की र अविनाश सिंहले समान २–२ विकेट लिए।

२०७ रनको लक्ष्य पछ्याएको पुनर्वास नगरपालिका (ए) १९.३ ओभरमा मात्र १०५ रनमा समेटियो। पुनर्वासलाई सस्तैमा रोक्न घोडाघोडीका नवयुग बस्नेत र निशान रेग्मीले घातक बलिङ गर्दै समान ३–३ विकेट लिए भने आयुष द्वारियाले २ विकेट झारे।

1000089898

त्यस्तै,आजै भएको दोस्रो खेलमा बुढीगंगा नगरपालिकाले गोदावरी नगरपालिकामाथि ६ विकेटको जित दर्ता गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको गोदावरी नगरपालिकाले १९.३ ओभरमा सबै विकेट गुमाएर १०३ रन मात्र बनाउन सक्यो ।

गोदावरीका लागि खगेन्द्र जोशीले २० र किसन धामीले १८ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । गोदावरीलाई सस्तोमा समेट्न बुढीगंगाका दीपक रोकाया र सन्तोष जैसीले ३–३ विकेट लिए भने सौर्य श्रेष्ठले २ विकेट लिए।

१०४ रनको सामान्य लक्ष्य पछ्याएको बुढीगंगा नगरपालिकाले १३.३ ओभरमै ४ विकेट गुमाउँदै १०५ रन बनाएर लक्ष्य पूरा गर्‍यो। बुढीगंगाको जितमा सुनिल चन्दले २९, दीपक रोकायाले २० र सन्दीप बिस्टले अविजित १८ रनको योगदान दिए । बलिङतर्फ गोदावरीका कृष्ण भट्टले २ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

सुदूरपश्चिमका विभिन्न स्थानीय तहहरू सहभागी यो प्रतियोगिता कैलाली जिल्ला क्रिकेट सङ्घको आयोजनामा धनगढीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप