सार्वजनिक यातायातमा लागुऔषध तस्करी : ५२ हजारभन्दा बढी ट्याब्लेटसहित दुई पक्राउ
वीरगञ्झ । पर्सामा सार्वजनिक यातायात प्रयोग गरेर प्रतिबन्धित लागुऔषध काठमाडौं तस्करी भइरहेको खुलासा भएको छ ।
पर्सा प्रहरीले ठुलो परिमाणमा लागुऔषध बरामद गरेपछि आइतबार पत्रकार सम्मेलनमार्फत उक्त घटनाबारे जानकारी दिएको हो ।
प्रहरीका अनुसार पछिल्लो समय लागुऔषध कारोबारीहरूले सार्वजनिक यातायातलाई ओसारपसारको माध्यम बनाउन थालेका छन् । सोही सूचनाका आधारमा प्रहरीले शनिबार बिहान वीरगञ्ज बसपार्कबाट काठमाडौंतर्फ छुटेको सुमो गाडी जाँच गरेको थियो ।
जाँचका क्रममा सुमोको छतमा त्रिपालले ढाकेर राखिएको अवस्थामा ५२ हजार ३ सय पीस ट्रमाडोल ट्याब्लेट बरामद गरिएको पर्सा प्रहरी प्रमुख एसपी सुदीपराज पाठकले जानकारी दिए । उनका अनुसार प्रतिबन्धित ट्याब्लेट सार्वजनिक यातायातमार्फत काठमाडौंतर्फ पठाइँदै गरेको सूचनाका आधारमा गाडी जाँच गर्दा उक्त लागुऔषध फेला परेको हो।
प्रहरीले घटनासँग सम्बन्धित सुमो चालक बारा परवानीपुर गाउँपालिका–१ का रामअशिष अहिर र पर्साको बहुदरमाई नगरपालिका–२ का सुवास सर्राफलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ। साथै घटनामा प्रयोग भएको ना १ ज २७६५ नम्बरको सुमो गाडी पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण