सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

अर्थतन्त्रका सूचक सकारात्मक तर चुनौती पहाडजस्तै : अर्थमन्त्री खनाल

बुधबार, ०४ चैत २०८२, १२ : ०७
बुधबार, ०४ चैत २०८२

सारांश

  • अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्रमा चुनौती कायमै रहेको बताए, बाह्य दबाब र आन्तरिक लगानी सुस्त छ।
  • उनले निष्क्रिय पुँजी उत्पादनशील क्षेत्रमा लगानी नहुनुलाई समस्याको रूपमा औंल्याए, आपूर्ति शृंखला अवरुद्ध हुने खतरा छ।
  • मन्त्रीका अनुसार, शोधनान्तर बचत, विदेशी मुद्रा सञ्चिति राम्रो र राजस्व वृद्धि ४ प्रतिशत पुगेको छ, तर लगानीकर्ताको आत्मविश्वास बढाउनु आवश्यक छ।

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले मुलुकको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिए पनि अर्थतन्त्रका सामु अझै ठुला चुनौतीहरू कायम रहेको बताएका छन् । नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै उनले बाह्य क्षेत्रको दबाब र आन्तरिक लगानीको सुस्तताले अर्थतन्त्रलाई अझै जोखिममुक्त बनाउन नसकेको स्पष्ट पारेका हुन् । 

बैंकहरूमा थुप्रिएको ठुलो परिमाणको निष्क्रिय पुँजी उत्पादनशील क्षेत्रमा लगानी हुन नसक्नुलाई उनले वर्तमान अर्थतन्त्रको प्रमुख समस्याका रूपमा औँल्याएका छन् । पछिल्लो समय मध्यपूर्व र खाडी मुलुकमा देखिएको सङ्कटका कारण नेपालको आपूर्ति शृङ्खला अवरुद्ध हुन सक्ने र आयातित वस्तुको मूल्य बढ्न सक्ने खतरा रहेको अर्थमन्त्री खनालको भनाइ छ। यसले औद्योगिक उत्पादनको लागत बढाएर समग्र अर्थतन्त्रमा नकारात्मक असर पार्ने भन्दै उनले सबै पक्षलाई सचेत रहन आग्रह गरे। 

यस्तो परिस्थितिमा कतिपय आर्थिक निर्णयहरू द्रुत गतिमा लिनुपर्ने आवश्यकता रहेकोमा पनि उनले जोड दिए। मुलुक अहिले सरकार परिवर्तनको सङ्घारमा रहेको उल्लेख गर्दै उनले अब बन्ने शक्तिशाली बहुमतको सरकारले बाह्य क्षेत्रका चुनौती सामना गर्दै अर्थतन्त्रलाई गति दिने विश्वास व्यक्त गरे।

सूचकहरूको चर्चा गर्दै अर्थमन्त्रीले नेपालको शोधनान्तर र चालू खाता बचतमा रहेको, विदेशी मुद्राको सञ्चिति राम्रो रहेको र मुद्रास्फीति दर न्यून रहेको जानकारी दिए । उनका अनुसार सरकारको राजस्व वृद्धिदर कम्तीमा चार प्रतिशत पुगेको छ भने लक्ष्यको तुलनामा करिब ८३ प्रतिशत राजस्व सङ्कलन भएको छ ।

यी सुधारका सङ्केतहरू भए पनि अर्थतन्त्र पूर्ण चलायमान हुनका लागि यो मात्र पर्याप्त नभएको उनले बताए । राजस्व सङ्कलनमा देखिएको सुधारले केही राहत दिए पनि लगानीकर्ताको आत्मविश्वास नबढ्दासम्म ढुक्क हुन सकिने अवस्था छैन।

मुलुकमा पर्याप्त रोजगारी सिर्जना नहुँदासम्म र निष्क्रिय पुँजीलाई वास्तविक उत्पादनको क्षेत्रमा परिचालन नगर्दासम्म केवल तथ्याङ्कीय सुधारले मात्र सन्तुष्टि नमिल्ने अर्थमन्त्री खनालले प्रस्ट पारे। लगानीकर्ताको हातमा सहजै पुँजी पुग्ने वातावरण निर्माण गर्नु र उनीहरूको मनोबल उच्च राख्नु नै अबको मुख्य कार्यभार हुनुपर्ने उनको तर्क छ। बाह्य सङ्कट र आन्तरिक लगानीको सङ्कुचनलाई चिर्दै अघि बढ्न नयाँ सरकारका लागि यो एउटा कडा परीक्षा हुने देखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप