मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रास्वपा सांसदलाई सभापति लामिछानेको सन्देश : राइट टु रिकलको व्यवस्था छ

बुधबार, ०४ चैत २०८२, १४ : १९
बुधबार, ०४ चैत २०८२

सारांश

  • रास्वपाका सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई सरकारी अस्पतालमा उपचार गराउन आग्रह गरेका छन्।
  • उनले पार्टी स्थापनाको छोटो समयमा विभिन्न पृष्ठभूमिका साथीहरू रहेको र सामाजिक न्यायलाई जोड दिँदै विकासको कुरा गरेका छन्।
  • लामिछानेले कर्णालीमा बाटो र भित्री मधेसमा शिक्षाको विकासलाई जोड दिँदै चुनाव जित्नका लागि राइट टु रिकलको व्यवस्थाबारे चेतावनी दिए।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नवनिर्वाचित सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउन आग्रह गरेका छन् ।

सांसदहरूको दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् । आकस्मिक अवस्थामा भन्दा बाहेक सरकारी अस्पतालमा उपचार गराउनुपर्ने लामिछानेको भनाइ छ । 

‘सक्नुहुन्छ भने सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस् । सेवालाई चुस्त बनाउनुस् । म बाध्यकारी भन्दिनँ,’ सभापति लामिछानेको भनाई छ । 

‘रास्वपा स्थापना भएको ४ वर्ष पनि भएको छैन । यसबिचमा विभिन्न पृष्ठभूमि भएका साथीहरू हुनुहुन्छ । हामीभित्र कसैको विवाद पनि होला, कसैको उच्च छवि पनि होला, कसैको सामान्य, कसैको उच्च किसिमको सार्वजनिक जीवन होला,’ उनले भने, ‘आफ्नो सरकार बहुमतमा रहन्छ, सङ्ख्या घट्ला भन्ने कुराको प्रवाह नगरी काममा लाग्नुस् ।’

उनले सबैभन्दा ठुलो समस्या सामाजिक न्याय रहेको पनि बताए । ‘सबैभन्दा ठुलो विकास पनि सामाजिक न्याय हो । मान्छे बस्ने समाज बनाउनुपर्ने हुन्छ’, उनले भने, ‘एउटा चुनावबाट अर्को चुनाव होइन, एउटा पुस्ताबाट अर्को पुस्ताका लागि लडेका हौँ हामी ।’

सभापति लामिछानेले कर्णालीमा बाटो पुग्यो पुगेन, भित्री मधेसमा शिक्षा पुग्यो पुगेन भन्ने विकासको सूचक हुने भन्दै जसरी पनि चुनाव जित्नेतर्फ लागे राइट टु रिकलको व्यवस्था गरिने चेतावनी दिए ।

‘मैले सडक बाटो लगिनँ भने अर्को पटक चुनाव जित्दिनँ भनेर तपाई आजदेखि लाग्नुभयो भने म राइट टु रिकलको व्यवस्थाको सम्झना गराउँछु’, लामिछानेले चेतावनी दिँदै भने, ‘अर्को चुनाव जितौँ नजितौँ त्यो सरोकारको विषय भएन तर अर्को पुस्ताले हार्नु हुँदैन ।’ लामिछानेले अरू पार्टीका नेताहरूलाई कटाक्ष नगर्न र अराजक नहुन निर्देशन पनि दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप