बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपतिको पुस्तक जलाइएकोबारे छानबिन गर्दै स्थानीय प्रशासन

बुधबार, ०४ चैत २०८२, १४ : ३०
बुधबार, ०४ चैत २०८२

सारांश

  • मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपतिको पुस्तक जलाइएपछि छानबिन सुरु भएको छ।
  • गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय मोरङले घटनाको छानबिन गर्दैछ।
  • पुस्तक जलाइएको घटनालाई चीनले गम्भीर रूपमा लिएको छ।

काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी चिनफिङको पुस्तक ‘द गभर्मेन्स अफ चाइना’ जलाइएको घटनाबारे स्थानीय प्रशासनले छानबिन अघि बढाएको छ ।

गृह मन्त्रालयले दिएको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय मोरङले सो घटनाको बारेमा छानबिन सुरु गरेको हो । पुस्तक जलाइएको विषयलाई चीनले गम्भीर रूपमा लिएको छ ।

नेपालस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएर आपत्ति जनाएपछि परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई छानबिनका लागि लिखित आग्रह गरेको थियो ।

सो आग्रहपछि गृह मन्त्रालयले मोरङ जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर त्यसको छानबिनका लागि निर्देशन दिएको थियो । सो निर्देशनपछि जिल्ला प्रशासन कार्यालयले मनमोहन टेक्निकल इन्स्टिच्युटलाई पत्र लेखेर यथार्थ जानकारी गराउन भनेको छ ।

मनमोहन टेक्निकल इन्स्टिच्युटले जिल्ला प्रशासन कार्यालयलाई जबाफी पत्र पठाइसकेको छ । मनमोहन टेक्निकल इन्स्टिच्युटले पठाएको जबाफबारे जिल्ला प्रशासन कार्यालयले खुलाउन चाहेन ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले मनमोहन टेक्निकल इन्स्टिच्युटबाट पत्रको जबाफ आइसकेको बताए । प्राप्त जबाफका बारेमा आफूहरूले छलफल गरिरहेको उनको भनाइ छ ।

‘जबाफी पत्रमा लेखिएको विषय अहिले खुलाउन मिल्दैन । हामी छलफल गर्दैछौँ । छलफलबाट आएको निष्कर्षका आधारमा हामी अगाडि बढ्छौँ । त्यसपछि जानकारी गराउनेछौँ,’ उनले भने ।

जिल्ला प्रशासन कार्यालयका एक अधिकारीका अनुसार पत्रमा आएको जबाफ सन्तोषजनक छैन । मनमोहन टेक्निकल इन्स्टिच्युट नै शंकाको घेरामा रहेको ती अधिकारीको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयले छानबिन समिति बनाएर सो घटनाको बारेमा अध्ययन गर्ने ती अधिकारीले जानकारी दिए । ‘घटना हेर्दा धेरै कुरा शङ्कास्पद छन् । त्यसैले छानबिन समिति बनाएर गहिरो अध्ययन गरेरमात्र सबै कुरा बाहिर आउन सक्छ,’ उनले भने ।

मनमोहन टेक्निकल इन्स्टिच्युटले कलेजमा रहेका अन्य काम नलाग्ने कागजात जलाउने क्रममा सो पुस्तक पनि जलाइएको जनाएको छ । त्यहाँ काम गर्नेलाई पुस्तकको बारेमा त्यति जानकारी नभएको कारण कलेजमा त्यतिकै राखिएका पुस्तक जलाएको दाबी मनमोहन टेक्निकल इन्स्टिच्युटको छ ।

यद्यपि अरु कागजात जलाउने नाममा त्यो पुस्तक जानीजानी जलाएको दाबी अर्को पक्षको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप