मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

नासाद्वारा नयाँ मङ्गल मिसन घोषणा

बिहीबार, १२ चैत २०८२, १२ : ०१
बिहीबार, १२ चैत २०८२

सारांश

  • नासाले मङ्गल ग्रहमा नयाँ मिसन र चन्द्रमामा स्थायी आधार निर्माण गर्ने योजना सार्वजनिक गरेको छ।
  • आगामी सात वर्षमा २० अर्ब डलर खर्च गरी दर्जनौँ मिसनमार्फत चन्द्र आधार निर्माण गर्ने योजना छ।
  • नासाले आणविक ऊर्जामा आधारित मङ्गल यान २०२८ सम्म प्रक्षेपण गर्ने लक्ष्य राखेको छ।

वासिङ्टन डीसी । अमेरिकी अन्तरिक्ष अन्वेषण संस्था नासाले मङ्गल ग्रहमा नयाँ मिसन सुरु गर्ने घोषणा गर्दै अन्तरिक्ष अन्वेषणमा महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरेको छ । यससँगै चन्द्रमामा स्थायी आधार (मून बेस) निर्माण गर्ने विस्तृत कार्ययोजना र समय सीमा पनि पहिलो पटक सार्वजनिक गरिएको छ ।

नासा प्रमुख जारेड आइज्याकम्यानले इग्निशन नामक कार्यक्रममा बोल्दै आगामी सात वर्षमा करिब २० अर्ब डलर खर्च गरेर दर्जनौँ मिसनमार्फत चन्द्र आधार निर्माण गरिने बताए ।

“चन्द्र आधार एकैचोटि तयार हुँदैन, यसलाई चरणबद्ध रूपमा विकास गरिनेछ,” उनले भने । नासाले लामो समयदेखि चन्द्रमामा स्थायी बसोबासको योजना बनाउँदै आएको भए पनि पहिलोपटक स्पष्ट रोडम्याप र समय सीमा सार्वजनिक गरेको छ ।

यसैबिच,नयाँ योजनाअन्तर्गत नासाले आणविक ऊर्जामा आधारित मङ्गल यान विकास गर्ने घोषणा गरेको छ, जसलाई सन् २०२८ सम्म प्रक्षेपण गर्ने लक्ष्य राखिएको छ । अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा यस्तो समय सीमा निकै तीव्र मानिन्छ ।

आइज्याकम्यानले नासाको वैज्ञानिक तथा मानव अन्तरिक्ष उडान कार्यक्रमलाई थप तीव्रता दिने उद्देश्यसहित यी योजनाहरू अघि सारेका हुन् । तर यी परियोजनाका लागि आवश्यक बजेट कहाँबाट आउने भन्ने विषय अझै स्पष्ट छैन ।

२० अर्ब डलरमध्ये कति रकम अन्य परियोजनाबाट सारिने र कति नयाँ स्रोतबाट जुटाइने भन्नेबारे पनि ठोस जानकारी सार्वजनिक गरिएको छैन । विश्लेषकहरूका अनुसार यी योजनाले नासाको दीर्घकालीन अन्तरिक्ष रणनीतिमा ठुलो परिवर्तन ल्याउने सङ्केत दिएको छ, तर कार्यान्वयनमा चुनौतीहरू पनि उत्तिकै रहनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप